ताजा अपडेट »

अविरल वर्षाले कहाँ-कहाँ के-के क्षति भयो ?

शनिबार, २२ असार २०८१, १५ : ३०
804 Shares
शनिबार, २२ असार २०८१
804 Shares

बुटवल । शुक्रबारदेखि परेको अविरल वर्षासँगै बाढी र पहिरोले देशका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुने क्रम रोकिएको छैन भने तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।  

यसै बीच लुम्बिनी प्रदेशका दाङमा बाढीमा परी एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौँ घर डुबानमा परेका छन् । आज बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् । खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो । लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिरोसहित खसेको ढुंगाले घर पुरिएको छ । गएराति खसेको ढुंगाले पुरिँदा स्थानीय मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले बताए । रामपुर नगरपालिका–९ मधुकोटमा पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन् । स्थानीय कमलबहादुर साठीघरेको शनिवार बिहान ५ बजे माथिबाट खसेको पहिरोले एक तले कच्ची गोठ पुरिदा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र एक वटा खसी परिएर मरेको हो । गोठ पूर्णरुपमा क्षतिग्रस्त भएका र करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सुकेको ठुंटेपिपलको रुख ढल्दा रम्भा २ फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति पुगेको छ । निर्माण कामदार रम्भा ३ घोङसिङका १९ वर्षीय शिव गाहा र डोजर अप्रेटर इन्द्र रानाको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरुको स्थानीय स्वास्थ्यकर्मीसँग उपचार भइरहेको छ ।

गुल्मीमा रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र–३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन्। शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

सुदुरपश्चिमको बैतडीमा तीन घरमा क्षति भएको छ। दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा एक÷एक घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जोखिम परेका तीन घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

यस्तै, दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १६ घरपरिवारले जनाले आफ्नो घर छाडेका छन्। मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घर परिवारका ९२ जना बाढीका कारण बस्ती जोखिममा रहेको भन्दै घर छोडेका हुन्। गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार गन्याड नामक खहरे खोलामा आएको बाढीले स्थानीयहरूको बस्ती जोखिममा पारेको छ।

कहाँ कहाँ भए सडक अवरुद्ध ?

देशव्यापी रूपमा परेको अविरल वर्षातले एक दर्जन बढी राजमार्ग अवरूद्ध हुन पुगेका छन्। बाढी पहिरोका कारण विपी, पासाङ ल्हामु, सिद्धार्थ, मध्यपहाडी लगायत राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीले दिउँसो १ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कान्ती लोकपथ ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ मा अवरुद्ध छ। चित्लाङ—मकवानपुर सडक पनि चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा अवरूद्ध छ। दक्षिण कोसी राजमार्ग संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ मा अवरूद्ध छ। त्यस्तै बाढीका कारण कोसी राजमार्ग संखुवासभाकै भोटेखोला गाउँपालिका वडा नम्बर ४ मा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

सिद्धिचरण राजमार्ग उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ मा अवरूद्ध छ।रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५ मा पहिरो जाँदा  स्याफ्रुबेसी—थाम्बुचेत सडक खण्ड अवरूद्ध हुन पुगेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरो जाँदा चखेल—देउराली सडक पनि अवरूद्ध छ।

मकवानपुरकै भीमफेदीमा पहिरो जाँदा कान्ती लोकपथ अवरूद्ध छ। सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर २ मा पहिरो जाँदा विपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा पहिरो जाँदा मध्यपहाडी राजमार्गसमेत अवरूद्ध बन्न पुगेको छ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर ८ मा पहिरो गएकाले विपी राजमार्ग त्यहाँ पनि अवरूद्ध छ।

पाँचखाल नगरपालिका वडा नम्बर ८ मा पहिरो जाँदा अरनिको राजमार्ग एकतर्फी बनेको छ। मनाङको चामे गाउँपालिकामा बाढीका कारण चामे—बेसीसहर सडक खण्ड अवरूद्ध छ। बेनी—दरबाङ सडक पनि म्याग्दीको बेनीमा पहिरो गएकाले अवरूद्ध छ। म्याग्दीकै रघुगंगामा गएको पहिराले बेनी—जोमसोम सडक खण्ड अवरूद्ध छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरोका कारण बेसीसहर—मनाङ सडक अवरूद्ध छ। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० मा पहिरो खसेकाले सिद्धार्थ राजमार्ग अवरूद्ध छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।