ताजा अपडेट »
प्रवास

क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

शुक्रबार, २१ असार २०८१, ०८ : ३०
336 Shares
शुक्रबार, २१ असार २०८१
336 Shares

काठमाडौँ । लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा यहि जुलाई ७ मा  ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने नेपाल महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेसभुसा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी गराएका छन ।

‘ब्रम्पटन क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधि गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुस गर्नु हुनेछ’, भण्डारीले भने ।

भण्डारीले यसअगाडि पनि क्यानाडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । गायक प्रकाश सपूत, गायक तथा सङगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका सफल कार्यक्रम हुन् ।

महोत्सवमा निःशुल्क इन्ट्रीः
यस महोत्सवमा निःशुल्क इन्ट्री रहेको छ । महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

गायक हिमाल सागर महोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरिसकेका छन् । ‘नेपालीहरूको माझमा आफ्नो प्रस्तुति दिन पाउँदा सधैँ उत्साहित हुन्छु । क्यानाडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीत मार्फत नेपाल महसुस गराउने प्रयास गर्नेछु । प्रवासका नेपालीलाई लक्षित गर्दै गरिने यस्ता नेपाली महोत्सवमा आफ्नो प्रस्तुति दिन म सधैँ तत्पर रहने गर्छु’, गायक हिमालले भने ।

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस महोत्सवलाई नर्थ अमेरिकाकै ठुलो महोत्सव मध्ये एक हुने बताए । उनले भने, ‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली सङ्घसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उदेश्यनै नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपालीहरु बिच सामीप्यता तथा भाईचारा बढाउनु हो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।