ताजा अपडेट »

लुम्बिनीमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई एमालेको आग्रह

विहीबार, २० असार २०८१, १२ : २५
142 Shares
विहीबार, २० असार २०८१
142 Shares

बुटवल । केन्द्रीय राजनीतिमा भएको सत्ता समीकरण प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन गर्ने सहमति गरेसँगै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुल्सी चौधरीले जानकारी दिए ।

पार्टीको तर्फबाट विहिबार विहान मुख्यमन्त्री महरालाई भेटेर परिस्थिती परिवर्तन भएकाले राजीनामा दिएर राजनीतिक उचाईलाई काम राख्न आफूले आग्रह गरेको चौधरीले बताए । एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकार अल्पमतमा पर्नूअघि नै मुख्यमन्त्रीले राजीनामा दिँदा राजनीतिक उचाई पनि कायम रहने बताउँदै चौधरीले बरु आफ्ना मन्त्रीहरु र मुख्यमन्त्रीले सँगै राजीनामा दिएर अघि बढ्दा राम्रो सन्देश जाने उल्लेख गरे । आफ्नो प्रस्तावमा मुख्यमन्त्री महरा सकारात्मक देखिए पनि आर्थिक वर्ष सकिन लागेका अयोजनाहरुको भुक्तानीका कामलाई अघि देखाएर अलमलको प्रतिक्रिया दिएको उल्लेख गरे । एमालेका मन्त्रीहरुले राजीनामा दिने विषयमा विहिबार नै पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बुटवल आएको हुँदा सल्लाह गरेर अघि बढ्ने सचेतक चौधरीले बताए ।

२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन्। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्। यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ। नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले संघबाट आउने निर्णय अनुसार नै अघि बढ्ने बताए। संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३र३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक / एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।