ताजा अपडेट »

रोहिणीमा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुका लागि कष्टमाईज्ड तालिम

बुधबार, १९ असार २०८१, १६ : २४
60 Shares
बुधबार, १९ असार २०८१
60 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार १८ गतेसम्म रोहिणी-३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो । तालिममा ४५ जनाको सहभागीता रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन । अभिभावकलाई पनि जागरुक बनाउनुपर्छ । शिक्षा क्षेत्रमा अझ राम्रो काम गर्नुपर्छ ।’ गाउँ शिक्षा समितिका संयोजक समेत रहेका यादवले रोहिणीमा शिक्षा क्षेत्रलाई अझ अगाडि बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले वडा कार्यालयहरुले पनि विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षामा लगानी गर्न गाउँपालिका पछाडी नहट्ने बताइन् । उनले गाउँपालिकाले शिक्षाको विकासमा जोड दिदै आएको बताइन् ।

त्यस्तै रोहिणी–१ का वडाअध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक आविद अली पठानले तालिम आयोजना गर्नु सराहनीय कार्य रहेको बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले रुपन्देहीका विभिन्न नमूना विद्यालयका प्रधानाध्यापकहरुले तालिमको सहजीकरण गर्नुभएको बताए । उनले भने, ‘विकास शिक्षाबाट हुन्छ भने शिक्षामा लगानी गर्नुपर्छ । गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ । अभिभावक सचेत नभएसम्म हुँदैन ।’ उनले हरेक वडाले कम्तीमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्ने बताए ।

समाजसेवी हरिद्वार हरिजनले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गाउँ शिक्षा समिति सदस्य धनेश्वर कंवरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको अवस्था हेरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । छिपागढ माविका प्रधानाध्यापक इन्द्र कुमार यादवले तालिम आयोजना गरेको भन्दै गाउँपालिका टीम र प्रशिक्षकहरुलाई धन्यवाद दिए । उनले भने, ‘आगामी शैक्षिक सत्रमा राम्रो नतिजा आउने पूर्ण विश्वास दिलाउन चाहन्छु ।’

मदरसा बैरिहवाका प्रधानाध्यापक मैनुद्दीन फकिरले मदरसाका विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्नुपर्ने र यसले राम्रो सन्देश जाने बताए । उनले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताए । श्री जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी जि.सी.ले १० दिने तालिम महत्वपूर्ण रहेको बताइन् । प्रधानाध्यापकहरुसँगै अब शिक्षकहरुका लागि पनि यस्तो तालिम सञ्चालन गनुपर्ने उनले बताइन् । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।