ताजा अपडेट »

रविलाई मुकुलको प्रश्न : बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ ?

बुधबार, १९ असार २०८१, १४ : ४३
192 Shares
बुधबार, १९ असार २०८१
192 Shares

मुकुल ढकाल

आज केन्द्रीय समिति सदस्य ज्यूहरु र आम जनतालाई साक्षि राखेर केहि भन्न चाहन्छु । बढी बोले भने, भाइ सम्झेर माफ गरिदिन हुन अनुरोध गर्दछु तर आज बोल्नै पर्ने स्थिति आयो । यहाँ दाजु र भाइका कुराभन्दा पनि, पार्टीको कुरा आयो, देशको कुरा आयो, सत्यको कुरा आयो ।

हाम्रो सनातन सभ्यता पौराणिक कथाहरुले धनी छन्। गणेश र कार्तिकेय देवताहरू शिव र पार्वतीका छोराहरु थिए। एक पटक गणेश र कार्तिकेयमा दौड प्रतियोगिता भएछ, र नियम रहेछ , सारा संसार दौडेर आउने विजेता। सारा संसार डुल्नका लागी कार्तिकेयले तीनै लोक दोडनु भएको थियो र गणेशले चै आफ्ना माता पिता शिव पार्वतीलाई बीचमा राखेर घुम्नुभएको थियो । शिव र पार्वतीले गणेश पहिलो भएको, पूजनीय भएको भनेर विजेता घोषणा गरिदिनु भयो। म देश घुम्न चाहन्छु, सभापति ज्यू, म जनतासँग बस्न चाहन्छु। म कार्तिकेय बन्छु तर गणेश बन्दिन । तपाईको इच्छा, गणेशलाई पहिलो मान्नु हुन्छ वा कार्तिकेयलाई ?

सभापति ज्यू, तपाईले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछी बोलेका सबै कुराहरु । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागी। अरुले बोलेका कुराहरु मलाई मतलव छैन, मलाई तपाईले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो। र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला ।

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ। यो अङ्कको कुरो होइन । लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन् । सत्य र असत्यको कुरा हो। देउवा, ओलि र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला । उनीहरुका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोहि छैनन् होला तर के ती सहि छन् त सभापति ज्यू रु प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग कम्पेयर गर्ने रु कम्पेयर गरेर रामा हामै सभापति भनौँला तर सभापतिको ती नेतासँग फोटाहरु निरन्तर आइरखेका छन्, त्यो पनि सँगै। सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो। मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको, धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन। राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस् ।

सभापति ज्यू, झिंगासँग उडियो भने 'गू'मा पुगिन्छ। मौरीसँग उड्‌यो भने 'मह'मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिंगासँग होइन। हजुर पनि झिंगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौँ, जनतालाई मह खुवाऔं ।

मेरा कुराहरु सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरु कोहि पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईहरु मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिनु अघि केहि गल्तीहरु गरे होला । म पनि सच्चिने, तपाई पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि...? भो अर्को शब्द नबोलौँ होला। फेरी साथीहरुलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैं मुल्याङ्कन गर्नुहोस् ।

(राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले केन्द्रीय समिति बैठकमा लिखित रुपमा प्रस्तुत गरेको धारणाको केही अंश)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।