ताजा अपडेट »
३४ जिल्लामा भारी वर्षाको चेतावनी

रुपन्देहीसहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

सोमबार, १७ असार २०८१, ११ : ५६
18.40K Shares
सोमबार, १७ असार २०८१
18.40K Shares

बुटवल । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक सूचना सार्वजनिक गर्दै उच्च जोखिममा रहेका ३४ जिल्लालाई हाई अलर्टमा रहन आग्रह गरेको छ ।

न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् ।

यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ  ।

मधेश प्रदेश र सुदुरपश्चिममा भने सो अवधिमा उच्च जोखिम छैन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।