ताजा अपडेट »

फरक राजनीतिक तरङ्ग बीच ओली-दाहाल भेट

सोमबार, १७ असार २०८१, ११ : १७
130 Shares
सोमबार, १७ असार २०८१
130 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार दुई नेताबीच  समसामयिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार ओलीसँग भेटेका थिए । त्यसयता नेताहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।

आइतबार ओलीसँग छलफललगत्तै सरकारमै रहेको रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग पनि उनीहरूले छलफल गरेका थिए । पछिल्लो समय बजेट निर्माण प्रक्रिया, विभिन्न नियुक्ति र समीकरणमा रहेका नेताहरूको अभिव्यक्तिका कारण पनि सरकारमा रहेका दलबीच विवाद देखिन थालेका छन् । ओलीले खुलेरै बजेटमा माओवादी झल्को देखिएको भन्दै पटकपटक आपत्ति जनाएका थिए ।

यतिमात्रै होइन ओलीले चाहेको राजनीतिक नियुक्तिमा पनि प्रधानमन्त्रीले आलटाल गरेकोमा ओली असन्तुष्ट रहँदै आएका छन् । आफ्नो भ्रमणअघि ओलीकै दबाबमा भारतीय राजदूत फिर्ता बोलाउन बाध्य भएको प्रधानमन्त्रीको बुझाइ रहेको छ ।

कांग्रेसले पनि विकसित घटनाक्रमको विषयमा छलफल गर्न आजै पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेताको बैठक बोलाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।