ताजा अपडेट »
अटोमोबाईल/बिद्युतिय सवारी

सिप्रदीले यात्रीसंगको सहकार्यमा विद्युतीय स्कुटर उत्पादन गर्ने

सोमबार, १७ असार २०८१, ०९ : १४
52 Shares
सोमबार, १७ असार २०८१
52 Shares

काठमाडौं । नेपालकै अग्रणी अटोमोबाईल बिक्रेता तथा टाटा मोटरर्स लि.को नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ ले अब नेपालमै बिद्युतिय स्कुटरको  उत्पादन थाल्ने भएको छ । सिप्रदी ट्रेडिङले यात्री मोटरसाइकल संगको सहकार्यमा उक्त स्कुटर उत्पादन गर्न लागेको हो ।

नेपालमै विद्युतीय स्कुटरको अध्ययन, अनुसन्धान तथा विकासका लागि जोइन्ट भेञ्चर स्थापना गर्न शुक्रबार दुई कम्पनीबिच सम्झौता भएको हो । 

यस अन्तर्गत सिप्रदी ट्रेडिङले लगानी गर्ने र यात्री मोटरसाइकलले बजार अध्ययन, अनुसन्धान र विकास तथा अन्य प्राविधिक काम गर्ने सम्झौता भएको छ । “संयुक्त रूपमा विद्युतीय स्कुटर बनाउनका लागि नै सहकार्य गरेका छौं,” यात्री मोटरसाइकलका एक प्रतिनिधिले भने, “हामीले डिजाइनको चरणदेखि नै काम गर्छौं । उत्पादन मात्र नभई त्यसको अनुसन्धान र विकासको काम गरिरहेका छौं । एउटा सोच अर्थात् अवधारणादेखि उत्पादन तयार पार्ने सम्मको काम हामी गर्छौं । सिप्रदीले यसका लागि आवश्यक लगानी गर्ने गरी सम्झौता भएको हो ।”

विशेषगरी विद्युतीय सवारी साधन उत्पादकको रूपमा बजारमा आउनुअघि त्यसको पृष्ठभूमिमा थुप्रै काम भएका हुन्छन् । खासगरी सबैभन्दा पहिला बजार अध्ययन गरिन्छ । बजारमा कस्ता किसिमका सवारी साधन आवश्यक छन् भन्ने पहिचान गरिन्छ । “हाम्रो सडकलाई सुहाउने विद्युतीय स्कुटर नभएकाले नै त्यतातर्फ मानिसहरूको रुचि नभएको देखिन्छ,” उनले भने, “सर्वसुलभ, बढी रेन्ज दिने, अफ रोडमा प्रयोग गर्न सकिने स्कुटरको खाँचो छ ।”

सिप्रदी र यात्रीबीच विद्युतीय बाइक र स्कूटी बनाउने सम्झौता

हालसम्म विद्युतीय स्कुटर उत्पादन गर्ने परियोजनामा सिप्रदीले कति लगानी गर्छ भन्ने खुलाइएको छैन । यद्यपि डेढ वर्षभित्र प्रोटोटाइप तयार पार्ने गरी काम अगाडि बढ्ने बताइएको छ ।  प्रोटोटाइप तयार भएपछि प्रोडक्ट निर्माणका लागि अर्को सम्झौता हुनेछ । सिप्रदी ट्रेडिङ नेपालमा चार पाङ्ग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधन बिक्री गर्दै आएको कम्पनी हो । 

यात्री मोटरसाइकलले भने नेपालम‍ा नै कारखाना स्थापना गरी विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएको छ । सन् २०१९ मा यात्रीले आफ्नो पहिलो विद्युतीय बाइक प्रोजेक्ट जेरो सार्वजनिक गरेको थियो ।  कम्पनीको अर्को बाइक प्रोजेक्ट वन जेनेरसन टु बजारमा आउने तयारीमा छ ।

आउँदो दशैंमा यो मोडेल बजारमा ल्याउने लक्ष्य राखिएको भए पनि थप समय लाग्ने भएपछि नयाँ वर्ष २०८२ तिर सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।