ताजा अपडेट »
कला–साहित्य

हिमाल सागरको सुपरहिट गित “न मैले लेखे न उनले लेखिन” नया भर्सनमा (भिडीयो)

आइतबार, १६ असार २०८१, २३ : ३९
90 Shares
आइतबार, १६ असार २०८१
90 Shares

काठमाण्डौं । चर्चित गायक हिमाल सागरको सुपरहिट गीत ‘न मैले लेखेँ, न उनले लेखिन्’ को नयाँ भर्सन म्युजिक फिल्म सार्वजनिक गरिएको छ।  शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उक्त गीतको आधुनिक स्वरूपमा तयार अडियो तथा नया म्युजिक फिल्म सार्वजनिक गरिएको हो।  गाएक हिमाल सागरको स्वर तथा सङ्गीत रहेको यो गीत विसं २०६० सालमा तयार भएको उनकै एल्बम “रिलेसन”मा समावेश छ।

सार्वजनिक गरीएको म्युजिक फिल्ममा मानस केसीको शब्द तथा योगेश काजी शाहको एरेञ्ज रहेको छ। यसै गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए।

“कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ”, गायक हिमाल सागरले भने।

rasifal3

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले “मेरो माया मारेपछि” “तिमीले माया नगरे” “मेरो मनमा आगो लाउने को”,“तीन ढिके फूली लाएर आइछौ”,“कल्लाई थाहा छौँ” लगायतका हिट गीतहरु सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले साङ्गीतिक कार्यक्रमका लागि ६५ वटा भन्दा बढी देश भ्रमण गरेका छन्।

आफुलाई तात्कालिन समयमा स्थापित गर्ने यो गीतले नयाँ पुस्ताको मन जित्नेमा आफु विश्वस्त रहेको उनि बताउछन । यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुदैन । यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गास्नेछ । उनले भने ।

गीतमा गायक हिमाल सागरसँगै अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ। अभिनेत्री केकी अधिकारीले यो गीत आफ्नो स्कुल तथा कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहने गरेको बताइन । उनले भनिन् “यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थे । धेरै साथीलाई डेडीकेट पनि गरेकी छु । यो गीत मेरो सधै फेवरेट थियो ।

अहिले नयाँ भर्सनमा तयार भएको गितमा काम गर्ने मौका पाउँदा निकै हर्षित छु।” आफू अष्ट्रेलियामा भएको समयमानै यस गीतको भिडियोमा काम गर्ने अफर आएका कारण भ्रमण छोट्यायी नेपाल फर्किएर काम गरेको केकीले बताईन। 

सार्वजनिक नया गीतमा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ । यसको भिडीयो पहिलो भिडियो भन्दा फरक र सरल प्रस्तुती सहित तयार गरिएको निर्देशक खड्काले बताए। उनले भने “पुरानो गित लोकप्रिय हुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ । त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु ।

यसमा पनि प्रेम प्रसङ्ग नै देखाएको छु तर शैली फरक छ । यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने मेरो विश्वास छ।” निर्देशक खड्काले यसअघि गायक यश कुमारको “हिजो अर्कैसँग देखे” र “तिम्रो मन बदलिए छ”, गायक प्रमोद निर्वाणको“‘किन यसरी”, गायक दीपक लिम्बूको “सागर बरू सुकेर गईजाला” बोलका गीतहरूको रीमेक भर्सन भिडियो तयार गरिसकेका छन्। 

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित यस “न मैले लेखें, न उनले लेखिन” बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर)  बाट सार्वजनिक गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।