ताजा अपडेट »
जीवन कथा

'पुरानो बुटवल'का पुराना कलाकार राजकुमार

आइतबार, १६ असार २०८१, १२ : ३५
2.53K Shares
आइतबार, १६ असार २०८१
2.53K Shares

व्यापारिक केन्द्र बटौली । पुरानो बटौली । नून, तेल, घ्यू, सूठो, तमाखु, लत्ताकपडाको किनबेच हुने बजार नै बटौली । पहाडीया र मधेसीको संगमस्थल । कला, साहित्य, संगीत र समाजको मिलनकेन्द्र समेत । त्यसैमा कदमचोक, निमचोक, गणेस्थान, सिद्रेबजार नचिन्ने को होलान् र पहिलेका ? यतिबेला बिराना भए । तैपनि फूलबारी, आँखा अस्पताल, उजिरसिं पार्क, महावीर पुस्तकालयले पुरानो बटौलीको थोरै भएपनि शान जोगाएकै छन् ।

बटौलीको त्यहि कदमचोकमा जन्मिएका थिए राजकुमार लिगल । पाँच भाइमध्येका काहिंला हुन् उनी । लोपोन्मुख भाइमध्ये पर्छन् यतिबेला । एउटी बहिनी । परिवार ठूलै थियो । राजकुमारले १६ वर्षको उमेरमै २०४० सालमा बुटवल माध्यमिक विद्यालय, बुटवलबाट प्रवेशिका परीक्षामा सहभागी भए । सानो फुच्चे देखेर परीक्षामा बस्ने गार्डले भाइ किन आएको तिमी ? जाऊजाऊ बाहिरभन्दा उनले परीक्षा प्रवेश-पत्र देखाउनु परेको कुरा रमाइलो पाराले सुनाए ।

उनी भन्दैथिए-लाग्नुपर्ने गणित थियो तर अंग्रेजीमा फेल भएँ । त्यही झोंकमा पढाईको बिर्को नै लगाई दिएँ जीवनभरका लागि । यतिबेला उनकी छोरी आकृतिले क्षितिज इन्टरनेशनल कलेजमा व्यवस्थापनतर्फ स्नातकोत्तर अन्तिम सेमेष्टर पढ्दैछिन् । छोरो अनुज्ञले कक्षा चारमा पढ्दैछन् । राजकुमारले कृष्णलक्ष्मीलाई आफू २८ वर्षको हुँदा दुलही बनाए । ढिला विहे गरेकोमा परिवारमा चिन्ता थियो । सन्तानको रहर पूरा गरेका राजकुमारको परिवारमा यतिबेला कुनै खालको चिन्ता छैन ।

ligal family

राजकुमार पेसाले कलाकार हुन् । उनले पेन्टिङ्ग गर्छन् । हुबहु आकृति कोर्छन् । दुरुस्त तस्वीर बनाउँछन् । उनको राइटिङ्ग छापा भएकै कारण बुटवलमा उनले २०४६ सालदेखि आरके आर्टस् खोलेर बसेका छन् । विद्यालय पढ्दातस उनले बुटवल माविमा वालपेन्टिङ्ग र बोर्डमा लेखेवापत दुई रुपैयाँ ५० पैसा लिएर मासिक शिक्षण शुल्क तिरेको सुनाउँदै थिए । साँचिक्कैभन्दा उनको हातमा जादूको कला छ । त्यतिमात्र होइन, मिठो खाना पकाउने र नृत्य गर्ने खुवीको जति तारिफ गरेपनि पुग्दैन ।

प्लम्बिङ्ग, विद्युत तथा मेसीनरी कामका लागि उनी तगडा छन् । वेल्डर पनि हुन् । पछिल्लोसमय हातले लेख्ने काममा गिरावट आउन थालेपछि फ्ल्याक्स ब्यानरका लागि कम्प्युटर डिजाइन गर्न माहिर छन् उनी । राजकुमार भन्छन्–फ्ल्याक्स ब्यानरको जमाना आएपछि हामी लेखेर खानेलाई संकटमा पार्यो नै तर नयाँ प्रविधिसँग जोडिएपछि आफ्नो व्यवसायलाई धरापबाट जोगाएका छौं । कतिपय साथीहरु नयाँ प्रविधिसँग जोडिन नसक्दा उठिबास लाग्यो ।

राजकुमारले पेन्टिङ्ग सिक्न काठमाडौ र पोखरा समेत पुगे । त्यहाँ पुगेर उनले बढो ध्यानूर्वक सिके । त्यही सिकाईले आज उनलाई आरके आर्टसको मालिक र पौरखी एवम् कर्मशील आर्टिष्टका रुपमा चिनाएको छ । जमानामा बैंकबाट लिएको पाँच हजार कर्जामध्ये केही पैसा बाबाले ब्यापार गर्न र आफूले आवश्यक रङ् किन्न भारतीय सहर बनारससम्म पुगे । उनको बीऊ पुँजीले आज उनलाई सम्पन्न ब्यक्तिको रुपमा ठड्याएको छ ।

sweet garden

राजकुमारले आफ्नो आर्टस् केन्द्रमा धेरैलाई आफूजस्तै आर्टिष्ट बनाउन सिकाएका छन् । बेनु, सन्तु, संगम, शिव, हरि, कमल, निरु, भैरवलगायत करिव ३० जनाले आज आफ्नै आर्टस् सेन्टर खोलेर व्यवसायिक कलाकार बनी जीवन चलाइरहेका छन् । रुपन्देही व्यवसायिक कलाकार संघका निवर्तमान अध्यक्ष बेनु थापाले भनेका थिए–राजकुमार दाइसँग कला सिक्दा रमाइलो र सहज लाग्थ्यो । उनमा उद्भूत क्षमता र सिकाउने राम्रो खुबी छ ।

राजकुमारले पाल्पाको श्रीनगर होटलमा आफ्नो पहिलो पेन्टिङ्ग दुई सय ५० रुपैयाँमा बेचेको सम्झिंदै भनेका थिए–नेपालमा कलाको मर्म बुझ्ने मानिस कम छन् । यहाँका कलाकारको प्रतिभा बेजोड छ तर कला बिक्न मुस्किल छ । कला प्रदर्शनी गर्ने स्थायी ठाउँ (ग्यालेरी)सम्म बुटवलमा नहुनु ज्यादै दुःखको कुरा हो ।

राजकुमारले बुटवल–१७, रानीगञ्ज, झिलीमीली चोकमा आफ्नै इन्जिनियरिङ्गमा एउटा सुन्दर घर बनाएका छन् । सस्तो तर भरपर्दो उक्त घरलाई धेरैले भाइरल घर भन्छन् । उनको घर १० धूर जग्गामा निर्माण गरिएको छ । थोरै जग्गा र सीमित पैसामा कसरी सुन्दर घर निर्माण हुँदोरहेछ भनी हेर्न र सल्लाह लिन आउनेहरुको घुइँचो नै लाग्दो रहेछ । जिल्लादेखि जिल्ला बाहिरका विद्यार्थी, इञ्जिनियर, व्यापारी, शिक्षकहरुले उनको घरलाई अवलोकन गर्न आइपुगेका रहेछन् । हाँस्दै भनेका थिए राजकुमारले–टिकट नै काटेर घर देखाएको भए २० देखि ३० हजार रुपैयाँ सजिलै कमाउँथें हुँला ।

ligal hous

उनको घरमा कलात्मक ढोका, झ्याल छन् । घरपरिसरमा ढुंगेधारो छ । सुन्दर बगैँचा छ । शौचालय र स्नान घर व्यवस्थितमात्र होइन चट्ट सफा छ । काम नलाग्ने टायरहरु रङ्गिन बनाएर सजाइएका छन् । स्ट्याण्डमा गमला र त्यहाँ फुरिरहेका फूलहरुले घरै सुगन्धित बनाइरहेका छन् । सुखी लिगल परिवार, कोपिलाजस्तै मुस्कुराई रहेका भेटिन्छन् ।

उनको घरमा दुईवटा बेडरुम छन् । एउटा बैठक कक्ष । एउटा भान्छा कोठा । घरको माथि आँटी पनि । सजाइएका सोफा । भित्तामा झुण्डाइएका चित्रहरु, फोटाहरुले घरको सुन्दरतामा सुगन्ध थपेजस्तै । उनको भाइरल घरमा टिकटक नबनाउने को पो होलान् र ? राजकुमारकी श्रीमती कृष्णलक्ष्मी सिलाईकटाइमा पोख्त छिन् । मेसिन घरमै छ । खरररर सिलाउँछिन् । त्यो पनि ब्यवसायिक रुपमा । छोरीले बाबाको आर्टसमा सघाउँछिन् । शालीन र शिष्ट छिन् । राजकुमारले धेरै जिम्मेवारी यतिबेला छोरीकै थाप्लोमा राखेर जीवनलाई शान्तिमार्गमा लैजान ओमशान्तिमा समेत समाहित भएका छन् ।

राजकुमारले हिजो अस्तिनै खाने माछा, मासु, ऐला, छोयला एकादेशका कथा भए । सात्विक भएका राजकुमारका कुरा भने रसिला छन् । रहर लाग्दा छन् । यतिबेला पनि उनी जाँगरिला छन् । शरीरमा थकाई कुन चराको नाम हो पत्तै छैन । हँसिला, रसिला राजकुमार दाइको पातलो तर निरोगी शरीर, परिवारप्रतिको स्नेहपूर्ण मेलमिलाप र साथीभाइप्रतिको मैत्रीपूर्ण व्यवहार सबैका लागि काम लाग्दो छ ।

कलाकार भएका कारणमात्र होइन, राम्रो कला निर्माण, प्रदर्शनका कारण राजकुमारले थुप्रै ठाउँबाट पुरस्कार, सम्मान, प्रशंसा बटुलेका छन् । उनले पनि आफ्नो कलाकारिता र पौरख कलामा नै पोखेका छन् । ललितकलाको आकासमा एउटा तारा बनेर चम्किरहेका छन् ।

story pic

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार