ताजा अपडेट »
राष्ट्रिय परिचयपत्र

साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमाका लागि २८ जिल्लामा लागू हुदै

शनिबार, १५ असार २०८१, १३ : १०
250 Shares
शनिबार, १५ असार २०८१
250 Shares

काठमाडौँ — सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा यो लागू गर्न लागेको हो । दोस्रो चरणमा आगामी माघ १ बाट ३८ जिल्लामा तथा तेस्रो चरणमा ०८२ साउन महिना देखि ११ जिल्लामा लागू गर्ने जानाएको छ । गत जेठ २४ गत बसेको मन्त्रिपरिषद् बैठकले देशका ७७ जिल्लामै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो ।

साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्रिय परिचयपत्र पहिलो चरणमा लागुहुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् ।

पहिलो चरणमा सकेसम्म सुगम र सहज रूपमा परिचयपत्र लिन सक्ने जिल्लामा लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन । ‘सकेसम्म नागरिकलाई सहज रूपमा फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने, ‘राजपत्रमा उल्लेख भएअनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा भने परिचयपत्र नभए पनि सेवा लिन बाधा पर्नेछैन ।’

राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र सम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि आगामी साउनदेखि देशभर नै परिचयपत्र अनिवार्य गरिएको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा भने आगामी माघ १ देखि परिचयपत्र अनिवार्य गरिएको राजपत्रमा उल्लेख छ ।

केही राजनीतिक दल र सरोकारवालाहरुले तत्कालै परिचपत्र अनिवार्य नगर्न भन्दै समय थप गर्न अनुरोध गरेका थिए । तयारी नै नभई परिचयपत्र अनिवार्य गरेर नागरिकलाई अनावश्यक दुःख दिएको भन्दै गत साता प्रतिनिधिसभामा सांसदहरूले समेत कुरा उठाएका थिए । 

विभागले भने परिचयपत्र कार्यान्वयनको प्रक्रिया आर्थिक वर्ष ०७५ मै सुरु भएको भन्दै लागू गर्न ढिलो गर्न नहुने तर्क राख्दै आएको छ । विभागले ०७७ मा वडा–वडामा गएर परिचयपत्रका लागि तीन महिनासम्म अभियानकै रूपमा फोटो खिचाएको थियो । त्यसका लागि एक हजार मान्छे परिचालन गरी डाटा लिएको कट्टेलले जानकारी दिए ।

अहिले पनि ४ सय ३७ स्थानमा टोली खटाएर फोटो खिच्ने, हराएको नम्बर खोज्ने र कार्ड वितरण गर्ने काम जारी छ । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुरको जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृह र राजदरबार परिसरमा परिचयपत्रका लागि फोटो खिच्ने काम भइरहेको छ । काठमाडौं उपत्यकाबाहिरका जिल्लावासीहरुलाई पनि सुविधा पुग्ने गरी थप केन्द्रहरू राख्ने तयारी गरिएको महानिर्देशक कट्टेलले बताएका छन ।

उनका अनुसार मुलुकभर करिब डेढ करोड नागरिकले परिचयपत्रको फोटो खिचाइसकेको कार्यालयको तथ्यांक छ । तर लामो समय बितेकाले परिचयपत्र नम्बर हराएको, मोबाइलमा आएको म्यासेज डिलिट भएकाले कार्ड लिन समस्या परेको विभागले बताएको छ । उनीहरूको सहयोगका लागि पनि नम्बर खोजी गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकले भदौ मसान्तसम्म आफ्नो भत्ता कार्ड नवीकरण गर्न सक्ने भएकाले त्यतिबेलासम्म २८ जिल्लामा केही समस्या भएमा हल गरिने कटेलको भनाइ छ ।

कहिले पाइन्छ परिचयपत्र:

अहिले फोटो खिचेर बायोमेट्रिक लिएकाहरूले परिचयपत्र नम्बर तत्काल पाउँछन् । परिचयपत्र भने पहिलो चरणमा ज्येष्ठ नागरिक, सवारी लाइसेन्स भएका र फोटो खिचेर कार्ड नलिएका पुराना नागरिकलाई दिइनेछ । सरकरसँग अहिले दैनिक १५ हजार परिचयपत्र छाप्ने क्षमता रहेको परिचयपत्र विभागका महानिर्देशक कटेलले बताए । अहिले करिब ३८ लाख ज्येष्ठ नागरिक र २१ लाख लाइसेन्स होल्डर छन् । अहिलेसम्म करिब ४० लाख नागरिकको कार्ड तयार भइसकेको छ ।

तयार भएको कार्ड सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । छापिएका मध्ये करिब ११ लाख कार्ड बाँड्न बाँकी रहेको छ । फोटो खिचिसकेका १ करोड २० लाख मध्ये ८० हजार कार्ड पनि छाप्न बाँकी छ ।  

मोबाइलमा सूचना आए पनि कार्ड किन चाहियो भन्दै बेवास्ता गर्ने प्रवृत्ति रहेको विभागको बुझाइ छ । फोटो खिच्ने र बायोमेट्रिक लिने काम सकिएपछि तत्कालै परिचयत्र नम्बर पाउने व्यवस्था छ । क्यूआर कोडमार्फत परिचयपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाउन छलफल भइरहेको महानिर्देशक कट्टेलले जानकारी दिए ।

कहाँ–कहाँ छन् फोटो खिच्ने ठाउँ:

काठमाडौंको नारायणहिटी दरबार संग्रहालयमा देशैभरका नागरिकले परिचयपत्रको फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि टोकन सिस्टम लागू गरेर पालैपालो फोटो खिच्ने व्यवस्था गरिएको बिभागले जनाएको छ। काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा काठमाडौंवासीले फोटो खिच्न सक्नेछन् । ललितपुर, काठमाडौं र भक्तपुर प्रशासन कार्यालयमा पनि फोटो खिच्ने व्यवस्था मिलाइएको बिभागले जनाएको छ ।

सिंहदरबारभित्र परिचयपत्र विभाग परिस (पुरानो गृह मन्त्रालय) मा विशेष व्यक्ति, कर्मचारी र सुरक्षा निकायका व्यक्तिको फोटो खिच्ने व्यवस्था छ । पहिलो चरणमा परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लामा फोटो खिच्ने कामलाई प्राथमिकता दिइएको विभागले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासनले पालिका र सम्भव भएसम्म वडामा समेत टोली पुगेर फोटो खिच्ने व्यवस्था मिलाइरहेको विभागको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।