ताजा अपडेट »
कला/मनोरञ्जन

“कमेडी च्याम्पियन” सिजन–३को सनिबार ग्राण्ड फिनाले हुदै, को बन्ला बिजेता

शुक्रबार, १४ असार २०८१, २१ : ४५
248 Shares
शुक्रबार, १४ असार २०८१
248 Shares

काठमाण्डौं । चर्चित नेपाली रियालिटी सो “कमेडी च्याम्पियन” सिजन–३को अन्तिम प्रतिस्पर्धा अषाढ १५ गते शनिबार सम्पन्न हुँदै छ। काठमाडौँमा सम्पन्न हुने ग्रान्ड फिनालेमा तीन प्रतिस्पर्धीहरु भिड्दै छन्।  सुनसरीका ऋषभ काफ्ले, काठमाडौँका सुनील खड्का र नवलपरासीकी सुयाशा खनालका बिच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । यी तीनमध्ये सर्वाधिक मत पाउनेलाई विजेता घोषित गरिनेछ।

सुनसरीका ऋषभ काफ्ले यस सिजनको बलिया प्रतिस्पर्धीको रूपमा हेरीएका छन्। उनी केही वर्षदेखि स्ट्यान्ड अप कमेडीमा सक्रिय छन्। कमेडी च्याम्पियनको फिजिकल अडिसनमा ऋषभले मलामीको विषयमा केन्द्रित प्रस्तुति दिएका थिए, जसलाई निर्णायकहरूले मन पराएका थिए। निर्णाएक मध्यका एक प्रदीप भट्टराईले त उनलाई यो सिजनकै पछिसम्म पुग्ने प्रतिस्पर्धी भनेर घोषणा गरेका थिए।

सुरुका केही एपीसोडमा केही सुस्त भए पनि ऋषभले क्रमशः दमदार प्रस्तुति दिदै निर्णायकहरु सहित दर्शकहरूको पनि मन जित्दै गए। खासगरी ऋषभले मौलिक कथावस्तुलाई आफ्नै तरीकाले हास्यव्यंग्यमा समेट्छन्। उठान गरेको विषयको गहिराइमा पुग्नु र फरक तरिकाले प्रस्तुत गर्न सक्नु उनको विशेषता हो। कमेडी च्याम्पियनको मञ्चमा ऋषभलाई सबैभन्दा क्वालिटी कन्टेन्ट दिने प्रतिस्पर्धीको रूपमा लिइन्छ।

त्यसैगरी, काठमाडौँ दक्षिणकालीका सुनील खड्का पनि विजेताको दाबेदार प्रतिस्पर्धी रहेका छन। फिजिकल अडिसनमा उनले अविवाहित युवालाई दिइने बिहेको प्रेसरबारे केन्द्रित भएर प्रस्तुती दिएका थिए। प्रस्तुतीपछि निर्णायकहरूले उनको आत्मविश्वास र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए। सुरुबाटै उनलाई सम्भावना बोकेको कमेडियनको रूपमा हेरिएको थियो।

निर्णायकहरूको अनुमानजस्तै सुनीलले पनि आफ्नो कमेडीमा विविधता थप्दै गए। कहिले ट्राफिक प्रहरी त कहिले झाँक्री बनेर हँसाउन थाले। आफ्नो स्वाभाविक प्रस्तुतिले आमदर्शकको ध्यान तान्ने प्रतिस्पर्धीका रूपमा उनी चिनिन्छन्। लेखनमा पनि सुनीललेदख्खल राख्दछन।

नवलपरासीकी सुयाशा खनाल कमेडी च्याम्पियनको फिनालेसम्म पुग्ने अहिलेसम्मकै कान्छी प्रतिस्पर्धी हुन्। अडिसन राउन्डमा ‘फिल्म र परिवार’ नामक प्रस्तुतिमार्फत फिल्म क्षेत्रका विभिन्न विकृतिलाई व्यंग्य गर्दैँ उनी टप ३० मा छानिएकी थिइन्।

टप ३० मा स्कुले विद्यार्थीको प्रस्तुति दिएसँगै सुयाशा चर्चामा आइन्। उक्त प्रस्तुतिमा सुयाशाले स्कुले विद्यार्थीको समस्या, महँगो भर्ना शुल्क लगायतका विषयमा व्यंग्य गरेकी थिइन्।  त्यसपछि सुयाशा प्रत्येक प्रस्तुतिमा दमदार देखिएकी छन्। १२ वर्षिया सुयाशाको दमदार प्रस्तुतीकरण र संवादका लागि तारिफ हुने गर्छ।

सानैदेखि हास्यव्यंग्यात्मक प्रस्तुतिमा रुचि राख्ने सुयाशाका बुवा सन्तोष खनाल पनि व्यंग्य कलाकार हुन्। बुवाको लय समात्दै आएकी सुयाशाको सामाजिक सञ्जालमा पनि राम्रो क्रेज छ। सुयाशाले आफूभन्दा पाका कमेडियनहरुभन्दा दमदार प्रस्तुति दिँदै आएकी छन । उनलाई सुयाशा ‘जिरे खुर्सानी’ को रूपमा लिइन्छ। स्क्रिप्टअनुसार जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने सुयाशाको क्षमता अब्बल छ।  

कमेडी च्याम्पियन सिजन ३ मा २ हजारले डिजिटल अडिसन दिएका थिए जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो। जसबाट टप ३०,१६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका हुन्। यस कार्यक्रमको निर्णायकका रूपमा बरीष्ट हास्य कलाकारसन्तोष पन्त तथा मनोज गजुरेल, सफल चलचित्र निर्देशक प्रदीप भट्टराई तथा नायीका ऋचा शर्मा रहेका छन्।

विशाल भण्डारीले निर्देशन गरेको यस कमेडी शोको होस्ट रिमा विश्वकर्मा र मेक्सम गौडेलले गर्ने गर्दछन। शनिबार हुने फिनाले साझ ४ बजे सुरु हुनेछ। विजेताले २५ लाख नगदसहित विद्युतीय कार नेटा भी पनि पाउने भनिएको छ। फस्ट र सेकेन्ड रनरअपलाई भने एक–एक वटा स्कुटर दिने आयोजकले बताएको छ।

यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनिसकेका छन्। तेस्रो सिजनको उपाधि कसको हातमा पर्छ त्यो भने सनिबार साँझ सम्मनै कुर्नु पर्ने हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।