ताजा अपडेट »
राष्ट्रसेवक कर्मचारीको जीवन कथा

मृत्युलाई जितेकी जितकुमारी

शुक्रबार, १४ असार २०८१, १२ : २१
3.57K Shares
शुक्रबार, १४ असार २०८१
3.57K Shares

विहे हुने वर्ष अर्थात् २०६३ मा उनले प्रवेशिका परीक्षा दिइन् र प्रथम श्रेणीमा उत्तीर्ण भइन् । उनको घरपरिवार र माइतीमा खुसी छायो । प्रथम श्रेणीमा उत्तीर्ण हुने महिलामध्ये गाउँभरि कै पहिलो भइन् । यो कुराले जीतकुमारी घलेलाई जीवनमा नयाँ उर्जा दियो । सात वर्षको हुँदा शिशुकक्षामा भर्ना भएकी उनले जेठो भाइसँगै औपचारिक पढाई गाउँकै हिमालय माध्यमिक विद्यालयबाट सुरु गरिन् । चार बहिनीमध्येकी कान्छी उनले भाइको धरालो गर्नुपर्ने बाध्यताले ढिला पढाई थालेकी हुन् ।

गोरखा, बारपाक सुलीकोट गाउँपालिकाको बारपाक नै उनको माइतीगाउँ हो । कर्म घर पनि उतै हो । विहेपछि  श्रीमान् गंगाबहादुर घलेले कामको सिलसिलामा उनलाई दार्चुला पुराए । वारि दार्चुला नेपाल । पारि पुल कटेपछि धार्चुला भारत । चिटिक्क परेकी, गोरी अनि थाइकट कपाल काटेकी जीतकुमारी घले नेपालको सीमाना दार्चुला कटेर भारततिरको धार्चुला सामान खरीद गर्न एक्लै पुगिन् अनि भारतीय प्रहरीले पक्रियो । कारण जीउडाल, बोलीचाली चाइनीजजस्तै लागेछ । उनलाई हिन्दी नआउने । घले भाषामा श्रीमानलाई खबर गर्दा भारतीय प्रहरीहरुले झन चाइनीज हो भन्ने ठोकुवा गरे छन् । पछि घरबेटी र आफ्ना श्रीमानले नेपाली नै हुन् भनेर प्रहरीहरुलाई विश्वस्त पारेपछि छुटकारा पाइन् । यो कुरा सुनाइरहँदा जीतकुमारी खुबै हाँसिन् ।

जीतकुमारीले २०६८ मा छोरी जन्माइन् । २०६७ सालमा लोकसेवा आयोग दिपायलबाट निजामती सेवाबाट खरिददारमा नाम निकालेर दुई वर्षजति अछाम जिल्ला हुलाकमा काम गरिन् । सरुवा भएर डिभिजन सहकारी कार्यालय, डोटी पुगिन् । न उनको भाषा मिल्ने न भूगोल । तरपनि नेपाली हुँ भन्ने भावनाले काम गरिरहन्थ्यो मनमा । गर्व लाग्थ्यो रे ! उनका श्रीमान् दार्चुलाको रेडक्रस सोसाइटीमा लेखासम्बन्धि काम गर्थे । पछि उनी पनि लोकसेवा आयोगमार्फत लेखातर्फ जागिरे भए ।

२०७५ तिर जीतकुमारी आफ्नै जिल्ला गोरखाको बारपाक गाउँ फर्किन् । बारपाक सुलीकोट गाउँपालिकाको वडा नं १ र २ वडाको सचिव छिन् यतिबेला । घरबाट कार्यालय पुग्न पाँच मिनेट लाग्छ । जन्मि हुर्किएको आफ्नै गाउँमा स्थानीयहरुको सेवा गर्न पाउँदा खुसी छिन् उनी । अफिस समयभन्दा पनि कहिलेकाँही धेरै काम गर्नुपर्ने बाध्यता नआउने पनि होइन । तरपनि उनी खुसीकासाथ आफ्नो गाउँको विकास, निर्माण र सामाजिक सेवामा तल्लीन छिन् ।

आफू र श्रीमानले सँगसँगै व्यवस्थापनतर्फ स्नातक (विविएस) गरे । दुवैजना बढुवा भएर यतिबेला सहायक प्रशासन अधिृकत(छैटौं) र सहायक लेखाअधिकृत (छैटांै) तहका स्थानीय सेवा कर्मचारी छन् । श्रीमान, बारपाक सुलीकोट गाउँपालिकामै लेखाकर्मचारीका रुपमा कार्यरत् छन् । जीतकुमारी आफू मृत्युको मुखबाट फर्केपछि औपचारिक पढाइलाई अघि बढाउन सकिरहेकी छैनन् । यतिबेला घरव्यवहार र छोराछोरीको पढाइलाई बढी ध्यान दिइरहेकी छन् । सेवाग्राहीको सेवालाई पहिलो प्राथमिकतामा राख्छिन् सधैं ।

आफूभन्दा चार वर्ष जेठा गंगाबहादुर घलेसँग मागीविहे गरेकी जीतकुमारीका ब्राञ्जल र ब्रिस्टिना छोराछोरी छन् । छोराले एक र छोरीले आठ कक्षा पढ्दैछन् । जीतकुमारीका बाबाआमा मजदूरी गरेर खाने श्रमिक थिए । आफ्ना छोरीहरुलाई पाँच र छोराहरुलाई आठ कक्षासम्ममात्र पढाउने मौखिक सम्झौता गरेका बाबाआमाले कतै आफ्नो पढाई अधुरो बनाइदिने त होइनन् भन्ने त्रासको मानसिकतामा डुबेकी रहेछिन् जीतकुमारी । तीन दिदीहरुले आठ कक्षा समेत पूरा गरेनन् । संयोगले भाइलाई पढाउन लैजानुपर्ने बाध्यकारी अवस्था र घरकी कान्छी छोरी भएको कारण उनले पढ्ने अवसर पाइन् ।

नौ कक्षामा पुग्दा ज्याला, मजदूरी गरेर उनले सेकेण्डह्याण्ड पुस्तक किनिन् भने स्कूलले दिएको छात्रवृत्तिले भर्ना गरिन् । बाबाआमाले नपढ् छोरी भनेनन् । कारण जीतकुमारीले पढाईमा धेरैलाई जितेकी थिइन् । उनको पढाई अब्बल भएकै कारण बाबाआमाले चुँ गर्न समेत सकेनन् ।

काठमाडौंमा सेवाकालीन तालिम लिन पुगेको बेला जीतकुमारीकी सँगै काम गर्ने साथीले छोरा छ कि छोरी गर्भ परीक्षण गर्न जाऔं भनेर बानेश्वरको एउटा नीजि क्लिनिक पुराएपछि थाहा भयो कि जीतकुमारीको पाठेघरमा गर्भ हैन कर्कलाको पातलाई कीराले खाएजस्तै पाठेघरलाई खाइसकेको भिडियो एक्सरे डाक्टरले देखाएपछि उनको हंश ठाउँमा रहेन । डाक्टरका अनुसार चौंथो चरणको क्यान्सर र पाठेघर वरिपरि फैलिरहेको कुराले जीतकुमारीको मनमा पीडाको तरङ्ग एक्कासी फैलियो । यो कुरा कसलाई सुनाउँ वा नसुनाउँ भयो उनलाई । आकाश मडारिएजस्तै लाग्यो । धर्ती हल्लिएजस्तै भान भो ।

डाक्टरको सल्लाहले उनी भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्न जाने भइन् । श्रीमान् सुदूरपश्चिमतिरै थिए । यो कुरा २०७२ को हो । उनको काजसरुवा डिभिजन सहकारी कार्यालय, चितवनमा गरियो । यता केमो दिने उता जागिर गर्नुपर्ने बाध्यताले उनलाई गाल्दै गयो । चितवन मावलीमा बसेर माइतीआमालाई बोलाई ब्रिस्टिनालाई हेरचाह गराउन थालिन् । क्यान्सरले कपाल झर्यो । आँखी भौंहरु केही रहेनन् । केमोकै कारण शरीर सुन्निएर भद्दा देखियो । ओठमुखमा घाउ आएर सकस बनायो ।   खोकी उस्तै कडा । बाँचौला  भन्ने उनमा कुनै आश रहेन । हिम्मत पनि टुटेजस्तै भो । डाक्टरको भरोसा र विश्वासमा आफूलाई जिम्मा दिइन् ।

१२ पटक (६ साइकल) केमो चढाउनु पर्ने डाक्टरको सल्लाह थियो तर नपुगेर १८ पटक (९ साइकल) दिनुपर्ने बाध्यता आइ लाग्यो । चौथोपटक केमो चढाएपछि उनलाई बाँच्ने आशै हराएछ कारण जीर्ण खोकी र ओठमुखमा घाउले सताएपछि । अझ केमो दिंदाको पीडा खप्नै नसकेर । विचरी सानी छोरीलाई जीतकुमारीले जीवनदेखि विरक्त लागेर सोधेकी रहेछिन्–नानी मान्छे मर्नु भनेको के हो ? निर्दोष छोरीले भनेकी रहेछिन्–सास फेर्न भुल्नू । अनि फेरि छोरीलाई भनेकी रहेछन्–म मरें भने तिमी के गर्छ्यौ नि ? विचरी छोरीले भनेकी थिइन् रे–काउकुती लगाएर उठाउँछु नि मामु !

यतिबेला प्रत्येक एक वर्षमा उनले आफ्नो स्वास्थ्य परीक्षण गराइ रहनुपर्छ तर कार्यालय र घरको कामले कहिलेकाँही फुर्सदै पाउँदिनन् । दुई वडा कार्यालयको सचिव भएर एक्लै काम गर्नुपर्ने बाध्यता छ । आफ्नै नयाँ घर बनाउँदैछिन् गाउँमै । रेखदेख र ज्यामीलाई सघाउनु छ । कार्यालयमा कर्मचारीको अभावले सबै काम आफैले गर्नुपर्ने बाध्यकारी अवस्था कायमै छ ।

आफ्नो वडाबाट गाउँपालिका जान कठिन छ । पहाडको बाटो अप्ठ्यारो छ । उनले दुबै वडामा गरी करिव पाँच हजार जनसंख्यालाई सेवा दिनु छ । गाउँको सेवा गर्न पाउँदा जीतकुमारी प्रशन्न छिन् । आमाबाबाहरुप्रति कृतज्ञ छिन् । उनका दुई भाइहरुमध्ये एक भाइ विदेशतिर र अर्को भाइ नेपाली सेनामा कार्यरत् छन् । दिदीहरु सबैको विहे भएर नेपालमै छन् । बाबाआमा गाउँमै छन् । जीतकुमारी, मृत्युलाई  जितेर दङ्ग छिन् ।

उनी भन्दैथिइन्–आशाले नै मृत्युबाट जोगाउँदो रहेछ । भविष्यमा स्नातकोत्तरसम्म पढ्ने रहर छ । निजामती कर्मचारी भएर देशको अझ् आफ्नै गाउँको सेवा गर्न पाउँदा प्रफुल्लित छु । निःस्वार्थ भावले काम गर्न पाउँदा हर्ष लाग्छ ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार