पाल्पाको बर्तुङ्ग पुगेपछि बगनासकाली गाउँपालिका वडा नं.७ खानीछापका वडाध्यक्ष गणबहादुर बुढाथोकीलाई फोन गरें । उनले खाना खान वडा नंं ९ को सामुदायिक सिकाई केन्द्र,चापपानी नजिकैको बुल्ठाके गाउँमा रहेको होटलमा आइपुग्नु भन्ने उर्दी जारी गरे । उनले भनेको होटलमा पुग्दा दालभात र तरकारीले कुरिरहेका रहेछन् । साहुनीले फटाफट खाना दिइन् । पुदिनाको चटनीसँग खाना ग्वाम्म खाइयो बेनु थापा र मैले । भोक मिठो कि भोजन भन्थे बुढापाकाहरुले । भोकै रहेछ ।
हतारमा हात चुठेर कार्यक्रमस्थल चापपानी सामुदायिक सिकाई केन्द्रतिर गइयो । आयोजकहरु आएपनि सहभागीहरु भनेजति नआइसकेको कारण केहीबेर कुर्ने काम भयो । कार्यक्रमको नाम थियो क्षमता अभिवृद्धि तालिम । आयोजक थियो बगनासकाली गाउँपालिका स्तरीय आदिवासी जनजाति समन्वय समिति । कार्यक्रममा पालिकाभित्रका पायक पर्ने वडा नं. ५ देखि ९ सम्मका आदिवासी जनजाति समुदायका साथीहरु नै थिए । प्रमुख अतिथि थिए वडा नं. ९ ,चापपानीका वडाध्यक्ष थानेश्वर तिमिल्सेना ।
सहभागीहरु भेला हुँदा करिव १२ बज्यो मध्यान्हको । दिलीप सारु जो समितिका सचिव रहेछन् उनले कार्यक्रम सञ्चालन गरे । समितिका सहसंयोजक सोभबहादुर टाङलामीले उपस्थित सबैलाई हार्दिकतापूर्ण स्वागत गरे । प्रमुख अतिथि वडाध्यक्ष थानेश्वरले आदिवासी जनजातिहरु लजालु स्वभावका हुने गरेका,जिम्मेवारी र नेतृत्व पाउँदा समेत आफूले नलिइ अरुलाई दिन रुचाउने जातिका रुपमा बयान गरे । त्यतिमात्र होइन उनले आफूलाई दुई दुईपटक आदिवासी साथीहरुले नै भोट दिएकै कारण चुनावमा श्रेष्ठता हासिल गरेको सुनाए । अर्को जुनी हुने रहेछ र जन्मिन पाउने भए जनजातिको कोखमा जन्मिने उद्घोष समेत गरे । अध्यक्षता ग्रहण गरेका वडा नं ७ का खानीछापका वडाध्यक्ष गणबहादुर बुढाथोकीले सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद् र दुई दिनसम्म सक्रिय रुपमा सहभागी हुन विशेष अनुरोध गरे ।
मैले तालिमको सहजीकरण गर्न सुरु गर्ने बेला बिजुली फुत्त निस्किएर हिडेको रहेछ । प्रोजेक्टरले रातो बत्ती नबालेपछि मैले थाहा पाएको थिएँ । त्यतिञ्जेल मौखिक रुपमै भएपनि आफ्नो विषयवस्तु सुरु गरें । साथीहरुलाई आफ्नो परिचय दिएँ तर उनीहरुको परिचय सहजीकरणको दौरानमा लिने सहमति भयो । करिव आधाघण्टापछि बिजुली झ्याप्प आयो । खुसी लाग्यो । ल्यापटप र प्रोजेक्टरको सहायतामा तालिम निरन्तर अघि बढ्यो । दोहोरो सम्वाद । छलफल र अन्तक्र्रियात्मक तालिमले कसैलाई नि आँखा झिमिक्क गर्नै दिएन ।
पहिलो दिनमा बैठक सञ्चालन, यसका पद्दति र प्रक्रिया,यसका प्रकार र माइन्यूट लेखनका बारेमा सैद्धान्तिक कक्षासँगै बैठक बस्ने र माइन्यूट लेखनसम्बन्धी प्रयोगात्मक अभ्यास भयो । सहभागीहरुलाई ६ वटा समूहमा विभाजन गरी अभ्यास गराइयो । साथीहरुको सार्थक सहभागिताले अभ्यास प्रभावकारी भयो । आफ्नो जिम्मेवारी अनुसारका कामहरु सबैले गरे । तालिममा जान्न खोजेका, सिक्न खोजेका विषयवस्तुहरु अभ्यासमार्फत प्राप्त गरेकोमा उनीहरु खुसी भए ।
पहिलो दिनको तालिम सकिएपछि सहभागीहरु बाटो लागे । टूरगाईड बनेर खिमबहादुर चुहान मगरले बराङदी नजिकै रहेको देउराली पुराए हामीलाई । त्यहाँ रहेको भट्टराई बाजेको होटलमा झोला बिसाइयो । गासको प्रवन्ध वडाध्यक्षले गर्दिका रहेछन् । हामीभने चुहान दाइको पछि लागेर कालीकिनार दैलातुङ्ग पुगियो । त्यतिबेला घडीले ६ बजाउन आँटेको थियो । करिव एकघण्टा बोटे समुदायका साथीहरुसँग बातचित गरेर फर्किन थाल्दा साँझको सात बज्नै लागेको थियो । ८४ वर्षीय गजवीर बोटेसँग खुबै बात मारियो । उनका इतिहास, वर्तमान र भविष्यका सपनाका बारेमा चेष्टापूर्वक प्रश्न गरेको थिएँ । आनन्दले मेरा उत्तरहरु फर्काएका दिए । देशभरि यतिबेला ११ हजार दुई सय ५८ जना बोटेहरु रहेको २०७८ को जनगणनाले देखाउँछ तर बोटेजातिको केन्द्रीय महासंघका अध्यक्ष राजकुमार बोटेले यो तथ्याङ्क नभएर मिथ्याङ्क भएको दावी गरे । बोटेहरुका थर माझी लेखाइएका छन् कतै । कतै अन्य थर । राजकुमारको गुनासो छ ।
देउरालीडाँडाको होटलमा आएपछि वडाध्यक्षसँग चिया खाइयो । कुरा लडाइयो । दिनभरको तालिमका बारेमा वडाध्यक्षले जिज्ञासा राखे । मैले र बेनुले तालिममा भए गरेका कुराहरुका बारेमा बेलिबिस्तार लगाइयो । खानीछाप गाउँका विकास निर्माणका बारेमा जान्ने अवसर मिल्यो । वडाध्यक्षले विकास निर्माणमा आफ्नो लगाव र सहभागिताका बारेमा फेहरिस्त सुनाए । राजनीतिका कुरा समेत गरियो ।
भोलिपख विहानै प्रभातकालीन पैदल यात्रा गर्ने सहमतिका साथ वडाध्यक्षसँग बिदा भइयो । उनी आफ्नै घरतिर लागे । हामी खाना खाएर आँटीतिर लागियो । बटौलीको प्रचण्ड गर्मी खेप्न मुस्किल भएर आत्तिएको बेला त्यहाँ भने ब्ल्याङ्केट ओढेर सुत्न परेको कुरा सुनाउँदा दहकस हुने हो कि ? सुत्नुअघि बेनु थापाले आफ्नो काम गरे । मैले गजवीरका बारेमा लेख लेख्न थालें । रातको १२ बज्नै आँटेको थियो,लुपुक्कै सुतियो । विहान उठ्दा पौने पाँच बज्नै थालेको थियो । कोठामा ठूलोखाले कमिला आएको रहेछ । बेनुले बारुलाले आक्रमण गर्न थालेको कुरा सुनाइरहँदा म भने लुगा ओढेर गुम्लुङ्गै सुते ।
विहानै हामी कमेरेतिर उक्लियौं । नाँच्नेडाँडामा रहेको मानवनिर्मित पोखरी हे¥यौं । भ्यूटावर रहेछ । बस्ने सेडहरु रहेछन् । पानीका ठूल्ठूला घैंटाहरु थिए । जो पानी संकलन केन्द्रका रुपमा देख्यौं । भ्यूटावरबाट रानीघाट दरबारसम्म देखिने रहेछ, तुँवालो नलाग्दा । हिमालहरु लहरै देखिन्छन् रे ! वडाध्यक्ष गणबहादुर बुढाथोकीले भनेको । तर हामीले ती सबै दृश्यहरु देख्न सकेनौं । केही सुझावहरु वडाध्यक्षलाई दियौं । उनले सहर्ष स्वीकार गरे । पर्यटकीय गन्तव्य बन्ने सक्ने नाँच्नेडाँडामा बनेका केही संरचनाहरु डिभिजन वन कार्यालय,पाल्पा र लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको सहयोगमा बनेका रहेछन् ।
वाकबाट फर्केर होटलमा आएर नुहाइधुवाइँ भयो । चिया खाइयो बेगरचिनीको । बेनुले भट्भटे उदाए । रफ्तारमा हामी दर्लाम भगवती कालिका पुग्यौं । त्यहाँ जुना बहिनी भेटिइन् । मूल पण्डित खोइ कता गएका हुन् थाहा भएन । पण्डित चिन्तामणि गैरे भेटिए । उनी आठ दाजु–भाइमध्येका साहिँला रहेछन् । संयोगले म र बेनु पनि साहिँला परिएछ । तीनै जनाको एक स्नेप फोेटो खिचियो र फेसबुकमा लोपोन्मुख हामी साहिँलाहरु भनेर पोष्ट्याइयो ।
दोस्रो दिन तालिम सुरु भयो पौने १० बजे नै । सहभागीहरु आइसकेका थिए । तालिममा सहभागीहरुकातर्फबाट भिमिसरा खाम्चा, पेमी आले र रीता सारुले अघिल्लो दिनको प्रतिवेदन सुनाए । प्रतिवेदनमा सिकेका कुराहरु र सिक्न इच्छा भएका विषयमा समेत प्रष्ट पारेका थिए । निर्णय प्रक्रियाका बारेमा जानकारी गराएँ । यसका पद्धतिका बारेमा छलफल भयो । क्षमता भनेको के हो,यसका आधारहरु र अभिवृद्धि गर्ने विषयमा बूँदागत छलफल र अन्तत्र्रिmया भए । सहभागीहरुले धक नमानेर सोधे । हामी दुबैजना सहजकर्ताहरुले सक्दो उत्तर दियौं । जिज्ञासा मेटायौं । वार्षिक कार्ययोजनाको नमूना समेत पेश गरियो । मोबाइलले फोटो खिचे नमूना कार्ययोजनाको ।
बेनुले दर्लाम भगवतीको मन्दिर ढुंगामा कोरे । समापनमा आयोजकलाई उपहार दिए । प्रमुख अतिथिका रुपमा गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि पाठक र प्रवक्ता टीका थापा आउने हल्ला थियो तर वजेट अधिवेशनका लागि तयारी नपुगेर आउन भ्याएनन् । वडाध्यक्ष गणबहादुर समेत आएनन् तर हामीलाई गुल्मीसम्म पुग्नुपरेको कारण समापन लगत्तै गणित बुझेर बाटो ततायौं । समापन कार्यक्रममा चेतबहादुर राना, बीरबहादुर कँवर मगर, टोपबहादुर खाम्चा, रुद्रबहादुर गाहा, खिमबहादुर चुहानको सार्थक सहभागिता थियो ।
कार्यक्रममा बेनु र रीताको सालैजो नाँचले मार्केट लिएको थियो । आदिवासी जनजातिहरु प्रकृति र संस्कृतिबाट बढी प्रभावित छन् भन्ने कुरा तालिम अवधि भरको बसाइले थाहा दियो । प्रकृतिपूजकका रुपमा रहेका आदिवासी जनजातिहरु संस्कृति संरक्षण र प्रवर्द्धनमा अब्बल छन् ।
प्रतिक्रिया