ताजा अपडेट »

बाढी पहिरो : कास्कीमा ३ बालबालिकाको मृत्यु, लमजुङमा ४ वेपत्ता

बुधबार, १२ असार २०८१, ०८ : ०९
2.32K Shares
बुधबार, १२ असार २०८१
2.32K Shares

बुटवल । मनसुन सुरु भएसँगै वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा विपद सुरु भएको छ । यसैबीच मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

यसैगरी लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ ।

त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए । -(फाइल तस्विर)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।