ताजा अपडेट »
बाढी/पहिरो

मोरङमा बुढिखोलाको बाढीले बज्रपात - एकै परिवारका चार जना बगायो

बुधबार, १२ असार २०८१, ०६ : १६
376 Shares
बुधबार, १२ असार २०८१
376 Shares

मोरङ। पूर्व–पश्चिम लोकमार्गबाट उत्तरतर्फ जाने पक्की सडक छ । सुविधा सम्पन्न र हराभरा लाग्ने त्यही सडकको दुवैतर्फ ठुल्ठूला घरहरू छन् ।लोकमार्गबाट उक्त सडक हुँदै उत्तरतर्फ जाँदा करिब १ किलोमिटर जतिको दूरीमा कर्कटपाताको छानो भएको १ तले घर छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ खोक्साकी रामसरिया चौधरीको त्यही घरमा मङ्गलवार दिउँसोबाट छरछिमेककीको बाक्लो उपस्थिति र आउजाउ चलिरहेको थियो ।

घटना सुनेर चौधरीको घरमा पुगेकाहरू विक्षिप्त बनेका थिए । आँखाभरि आँसु टिलपिल पार्दै रामसरियालाई सम्झाई बुझाइ गर्थे । तर, रामसरिया सम्झन र बुझ्न सक्ने अवस्थामै थिइनन् । परिवारमा परेको बज्रपातले उनी आफैँलाई सम्हाल्न सक्दिन थिइन् । छिनछिनमा मुर्छा पर्थिन । होसहवास सबै उडेको थियो । बेहोसका कुरासँगै आँखाबाट एकोहोरो खसिरहने बलिन्द्र धारा देखेर छिमेकी र आफन्त पनि भक्कानिन्थे । उनको दयनीय अवस्थाका कारण घरमा पुग्ने जोकोहीले मन थाम्न सक्ने अवस्था नै थिएन ।

रामसरियाका लागि मङ्गलवार अर्थात् २०८१ साल असार ११ गते जीवनमा कहालीलाग्दो र कहिल्यै बिर्सन नसक्ने कालो दिन बनेर आएको छ । आजको दिन उनका लागि सधैँ पोलिरहने घाउ बनेर आइदियो ।  एक जना बुहारी जसोतसो बाँच्न सफल भइन् । कान्छी बुहारीको शव फेला परेको छ भने जेठी बुहारी र देउरानी समेतलाई खोलाले बगाएको छ ।

rasifalaa

मजदुरी गरेर र विदेश गएर छोराहरूले कमाएको पैसाले परिवारको जीविका चलेकै थियो । दुःख जिलो गरेर भए पनि चलेको परिवारमा खुसी नै थियो । तर, मङ्गलवार बिहान अविरल वर्षासँगै बूढी खोलामा आएको बाढीले परिवारमा एकाएक बज्रपात पारिदियो । उनको खुसी क्षणभरमै खोस्यो । रामसरियाको आँखाबाट बगेको आँसुको भेल अहिलेसम्म रोकिएको छैन ।

सोमबार रातिदेखि नै पहाडी क्षेत्रमा भीषण वर्षा भइरहेको थियो । वर्षका कारण मोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढी खोलामा बाढी आयो । बिहान करिब ९ बजेतिर रामसरियाका बुहारीहरू जेठी २४ वर्षीया फूला, माहिली फुदनी भनिने २२ वर्षीया प्रेमकला, कान्छी २२ वर्षीया स्वस्तिका र देउरानी ६० वर्षीया असरादेवी चौधरी खोलामा माछा मार्न र दाउरा टिप्न भनेर निस्किए । तर, बूढी खोलाको बाढीले ४ जनालाई बगाएको भनेर केहीबेरमै गाउँमा हल्ला चल्यो । ‘बूढी खोलाको बाढीले मान्छे बगायो । माछा मार्न गएकाहरूलाई एकै पटक लग्यो’ भनेर चलेको हल्ला रामसरियाले पनि सुनिन् ।

केहीबेरमै आफ्ना ३ जना बुहारी र देउरानीलाई बाढीले बगाएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । घटना सुनेपछि भाव विह्वल बनेकी उनलाई सम्हाल्न छिमेकी र आफन्तलाई हम्मे परिरहेको छ । ‘यो पानी पनि यिनीहरूकै ज्यान लिन आएको रहेछ । हे दैव १ के सुन्नु पर्यो रु कस्तो दिन आइलाग्यो नि,’ कारुणिक आवाज निकालेर उनी बेहोसीमै बरबराउँछिन् ।

रामसरियाकी कान्छी बुहारी प्रेमकलाको सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित गैरी गाउँमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो । माइली बुहारी स्वस्तिका भने पौडी खेलेर बाँचेकी छन् । प्रहरीले भने सकुशल उद्धार गरिएको जनाएको छ । जे जसो भएपनि स्वस्तिका सकुशल छिन् । बाढीले बगाएर पनि उनी बाँच्न सफल भइन् ।

रामसरियाकी जेठी बुहारी फूला र देउरानी असरादेवी भने बाढीको भेलसँगै बेपत्ता छन् । बेपत्ता भएकाको सुरक्षाकर्मी र स्थानीयले खोजी गरिरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । यद्यपि, रात परेका कारण मङ्गलवार लाई खोजी कार्य स्थगित गरिएको छ । बुधवार बिहानैदेखि पुनः खोजी सुरु गर्ने तयारी रहेको बस्नेतले बताए ।

प्रहरीका अनुसार बाढीले बेपत्ता बनाएकाहरूलाई जीवितै भेट्ने सम्भावना लगभग सकिएको छ । सोही घटनाका कारण पीडाले छटपटाइरहेकी रामसरियालाई सम्झाउने प्रयास भने छिमेकी र आफन्तले जारी राखेका छन् । उनीहरूले शोकलाई शक्तिमा बदल्न भनेर ढाडस दिने गरेपनि त्यो सम्भव हुनसक्ने अवस्था छैन । ‘परिवारमा यो भन्दा ठुलो बज्रपात अरू के नै हुन्छ र ? ,’ वडाध्यक्ष गणेश चौधरीले भने, ‘घटनाका कारण परिवार मात्रै हैन, गाउँ नै शोकमा डुबेको छ ।’

rasifalaa

बाढीमा परेर बाँचेकी स्वस्तिकाका अनुसार पानी परेसँगै माछा मार्न र दाउरा टिप्न जाँदा खोलामा अचानक बाढी आएको थियो । ‘सुन्दरहरैँचातर्फ पट्टी बग्ने खोलामा बाढी आएको थिएन । अलिअलि मात्रै पानी थियो,’ रोदन मिश्रित भावमा उनले सुनाइन्, ‘इटहरी पट्टी बग्ने खोलामा बाढी थियो । त्यहाँ बिचको भागमा गएर हामी दाउरा टिप्ने र माछा मार्ने गरिरहेका थियौँ । एक्कासि माथि तिरबाट बाढी आयो र बगायो ।’

उनले बाढी आएको कसैले पनि पत्तो नपाएको सुनाइन् । अचानक आएको बाढीले सुन्दरहरैँचा क्षेत्रलाई समेत प्रभावित बनाएको र खोलाको बिचमा रहेका चारै जनालाई बगाएको स्वस्तिका सुनाउँछिन् । आफूले पौडी खेलेर ज्यान जोगाए पनि एक जना जेठानीको मृत्यु भएको, अर्की जेठानी र काकी सासूलाई भने बाढीले बगाएको उनले बताइन् । 

मृतक प्रेमकलाकी फुपू सासू राजकुमारी चौधरीका अनुसार प्रेमकला र सन्दीप चौधरीबिच ५ वर्षअघि विवाह भएको थियो । सन्दीप वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । उनीहरूका ४ वर्षका एक छोरा छन् । ‘छोरालाई भर्खरै स्कुल लगाएको थियो । घर खर्च चलाउनका निम्ति भदो विदेश गएको अस्ति वैशाखमा १ वर्ष मात्रै भयो,’ घटनापछि विक्षिप्त बनेकी राजकुमारीले भनिन्, ‘प्रेमकलाको माइती घर हरैँचा हो । परिवार राम्ररी चलेकै थियो ।’ चौधरी परिवारमा ठुलो दशा आइलागेको उनले बताइन् ।

रामसरियाका ३ छोरा र १ छोरी थिए । सबै जनाको बिहे भइसकेको छ । केही समय अघिसम्म ३ जना नै छोराहरू विदेशमा थिए । जेठा छोरा राजन केही वर्षअघि वैदेशिक रोजगारीबाट आएर मजदुरी गरिरहेका छन् । माइला छोरा दिपेन मलेसिया र कान्छा सन्दीप साउदीमा छन् ।

‘जेठो राज मिस्त्री हो । उसले आफैँ घर बनाएर बसेको छ । माइला र कान्छाका परिवार एकाघरमै थिए । मिलेको परिवार थियो,’ राजकुमारीले थपिन्, ‘मेरा दाजु (रामसरियाका पति) अघिल्लो फागुनमा जन्डिसका कारण खस्नु भयो । अहिले एकै पटक घरका सबै बुहारीलाई बाढीले बगायो । मुसलधारे पानी यिनीहरूलाई नै लिन आएको रहेछ ।’

morangggg

राजकुमारीका अनुसार राजन र दिपेनको एकै लगनमा विवाह भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीका अनुसार मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । बेपत्ता दुवै जनाको खोजीलाई तीव्रता दिइएको उनले बताए ।

‘माछा मार्दै गर्दा एकैपटकमा चारै जनालाई बगाएको रहेछ । जसमध्ये दुई जना अझैसम्म बेपत्ता छन्,’ डिएसपी कार्कीले भने, ‘असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा उनीहरूलाई बाढीले बगाएको हो । बाढी आएका समयमा कोही कसैले पनि हेलचेक्र्याइँ गर्न हुँदैन ।’ भेल बाढी र बर्खाका समयमा सबैले सावधानी अपनाउन जरुरी रहेको उनले बताए ।

घटनास्थलमै भेटिएका वडाध्यक्ष गणेश चौधरीले पीडित परिवारलाई राहत दिलाउनका निम्ति पहल गर्ने बताए । पालिका स्तरीय बैठक बस्ने र राहतका सम्बन्धमा निर्णय गरिने उनको भनाइ छ । चौधरीले पीडित परिवारको उद्धार र राहतका लागि सबै प्रयास जारी राखिने बताए । उद्धार र राहतका लागि मेयर केदार गुरागाईँसँग पनि समन्वय भइरहेको जानकारी उनले दिए ।

पि.अधिकारी
लेखकको बारेमा
पि.अधिकारी