ताजा अपडेट »

कहिल्यै हार नमान्ने सनम

सोमबार, १० असार २०८१, ११ : ३३
388 Shares
सोमबार, १० असार २०८१
388 Shares

आजको २१ औँ शताब्दिमा समेत नेपालमा महिला र पुरुषलाइ हेर्न समाजको दृष्टिकोण पृथक छ । शुरुवातदेखि नै पुरुष सहस र क्षमतावान कहलाउँदा महिलाहरु कमजोर र दयाको पात्रका रुपमा परिभाषित हुँदै आइरहेका छन् । नेपालको सन्दर्भमा समेत यहि भाष्य स्थापित छ । 

अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रमा समेत महिला सहभागिता असाध्यै न्युन रहेको देखिन्छ । अझै खेलहरु मध्ये सबैभन्दा कठिन मानिएको शारीरिक सुगठन खेलमा त झन् औँलामा गन्न सकिने खेलाडी भेटिन्छन् । तिनै बिरलै भेटिने शारीरिक सुगठन खेलाडी मध्ये की एक हुन् सनम मुलगुठी । सनमको जीवन यात्रा शारीरिक सुगठनको खेलमा लागेकाहरुलालाई मात्र नभएर, सबै खेलमा लागेर केही गर्छु भन्ने युवाहरुका लागि उत्तिकै प्रेरणादायी छ। उनको आजको सफलता श्रय उनको निरन्तरको साहस, संकल्प, र अदम्य इच्छाशक्ति नै हो । 

नेपालको सबैभन्दा सानो शहर भक्तपुरमा जन्मिएकी सनम, जहाँ समाजले महिलाहरूलाई परम्परागत भूमिकामा मात्र देख्न चाहन्थ्यो, उनले आफ्नो छुट्टै पहिचान बनाउन यात्रा शुरु मात्रै गरिनन् अपितु एशियाली शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक समेत हासिल गरिन।

image_123650291 (5)

बाल्यकालको कठिनाइहरू
भक्तपुरका किशान राजेन्द्र र पुन्यश्वरी मुलगुठीका सन्तानको रुपमा सनमको बाल्यकाल आर्थिक कठिनाइले भरिएको थियो। नेवारी परिवेशमा हुर्केकी सनमको बाल्यकाल परम्परागत पारिवारिक खेतीपाती रमाउँदै वित्यो । शिक्षाको महत्त्व बुझेका बाबु राजेन्द्रले आर्थिक अभावका वीचमा समेत आफ्ना एक छोरा र दुई छोरीलाई नाम कहलिएका विद्यालयमा अध्ययापन गराउने साहस गरे । तर, वीचमा आइपुगेको कठिन आर्थिक अवस्थाले उनले छोराछोरीको शिक्षा वीचमा रोक्नु पर्ने अबस्थामा समेत पुरायो । बच्चाहरुको उज्जवल भविष्यको सपना देखेका उनले जेनतेन शिक्षा दिलाउन निरन्तर प्रयास गरे । सनमको बुबाको संघर्ष र बलिदानले उनलाई कहिल्यै हार नमान्ने प्रेरणा दियो।

प्रशिक्षकसँग पहिलो भेट
सनमको व्यायामशाला प्रवेशको यात्रा उनको जीवनको महत्त्वपूर्ण मोड थियो। शायद बाल्यकालमा खेतीपाती गर्दा खेतका माटोहरुमा खसेको उनको पसिना स्वरुप श्रमले नै उनलाई कसरतसँग मोह जागृत गरायो। सनमले मोडिकल शिक्षा अध्ययन गर्ने क्रममा उनको हस्पिटलको ठ्याक्क अगाडि जिम थियो। आउनेजाने क्रममा उनको भेट प्रशिक्षक अमित आर्यासँग भयो । प्रथम भेटमा नै जसरी अर्जुन भित्र अन्तर निहित प्रतिभा द्रोणाचार्य थाहा पाएका ठिक त्यस्तै गरि सनम भित्रको जुझारुपन अमितले चाल पाए।

‘तिमीले यो खेल क्षेत्रमा अलिकति मेहनत गर्यो भने केही गर्न सक्छौ’ भनेर अमितले उनलाई प्रोत्साहित गरे । त्यसपछी सनमले जिममा घण्टौं बिताउन थालिन्। प्रारम्भिक दिनहरू अत्यन्त कठिन थिए। आफ्नो शारीरिक क्षमतामा विश्वास नलाग्ने, कहिलेकाहीं चोटपटक लाग्ने, र मानसिक तनावले उनी निराश हुन थालिन्। तर, हरेक चोट र हरेक बाधालाई पार गर्दै उनी अघि बढिरहिन्। पेशेवर प्रशिक्षकको मार्गदर्शन र आफ्नो अदम्य इच्छाशक्तिले उनलाई बलियो बनायो।

image_123650291 (4)

शारीरिक सुगठन खेल यात्रा
कठोर परिश्रमको फल आखिरमा उनलाई मिल्यो। शारीरिक सुगठन प्रतियोगितामा, पहिलो पटक, सनमले भाग लिइन्। उनको परिवार र साथीहरूको समर्थनले उनलाई हौसला दिएको थियो। यो प्रतियोगिता उनको लागि मात्र प्रतिस्पर्धा थिएन, यो त आफ्नो पहिचानको लागि संघर्ष थियो। सनमको पहिले शारीरिक सुगठन खेलको स्टेज मिस्टर एभरेस्ट राष्ट्रव्यापि शारीरिक सुगठन प्रतियोगिता थियो ।

खेलेको पहिलो प्रतियोगितामा नै उनी छनौट चरण पार गर्दै चौथो हुन सफल भइन् । पहिलो प्रयासमा प्राप्त गरेको उपलब्धि नै उनको खेल जीवनको टर्निङ प्वाइन्ट सावित भयो। भक्तपुरको पुरातन नेवारी समुदाय भित्र हुर्केकी सनमलाइ पारम्परागत सामाजिक मान्यताहरुका कठिन बारहरु नाँघ्दै महिला शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाउँनु कठीन नै थियो । प्रतियोगितामा सहभागी हुंदा लगाउनु पर्ने छोटा पहिरन बिकनी लगाएर स्टेजमा प्रस्तुती दिनु उनका लागि कम्ता चुनौतीपुर्ण रहेन । यस प्रतियोगिता पछि भने सनमले पछाडी फर्किएर हेर्नु परेन् ।

वि.स.२०७६ मा भक्तपुरमा सम्पन्न चौथो मिष्टर भक्तपुर जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा उपाधि जित्न उनि सफल भइन् । सोहि वर्षमा चौथो मिष्टर काठमाण्डौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिकमा रजत पदक हात पारिन । वि.स.२०७६ मा नै पोखरामा सम्पन्न महिला बिकनी तथा फिजिक्स् राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा महिला एथलेक्टिक फिजिकमा कास्य जित्न सफल भएकि थिइन् । 

image_123650291 (3)

राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता
राष्ट्रिय प्रतियोगिताहरुमा सफलता प्राप्त गर्दै अगाडी बढ्ने क्रममा सनमले अन्तराष्ट्रिय प्रतियोगिताहरु समेत भाग लिने अवसर पाइन। यस वर्ष नेपालमा सम्पन्न ५५ ‌औँ एशियाली शारीरिक सुगठन प्रतियोगितामा उनले ऐतिहासिक स्वर्ण पदक समेत हासिल गरिन् ।

पारीवारिक सहयोग
सुरुसुरुमा चाहिँ गेममा जाँदाखेरि घर परिवारले समाजले कस्तो प्रतिक्रिया देला भनेर सनमलाई सारै डर लाग्थ्यो। तर एक पछि अर्को प्रतियोगितामा प्राप्त हुँदै गएको सफलताले क्रमशः परिवारबाट हौसला र थप अगाडी बढ्ने प्रेरणा प्राप्त हुँद गयो । बुबा राजेन्द्रले पनि छोरीको खेल प्रतिको लगावलाइ देखेर उनलाइ आवश्यक सल्लाह सुझाव दिन थाले । 

सनमको भोगाइ, अनुभव, साहस, संकल्प, र अदम्य इच्छाशक्तिको जीवन्त उदाहरण हो। उनले परम्परागत मान्यताहरूलाई चुनौती दिँदै आफ्नै पहिचान बनाइन्। उनका संघर्ष र सफलता केवल शारीरिक सुगठनमा मात्र होइन, हरेक क्षेत्रमा महिलाहरूको सम्भावनाको प्रतीक हो। आज पनि, सनम आफ्ना सपनाहरूको यात्रा जारी राखिरहेकी छिन् र अन्य महिलाहरूलाई पनि यही मार्गमा अगाडि बढ्न प्रेरित गरिरहेकी छिन्। उनका आँखाहरूमा अझै पनि नयाँ सपनाहरू छन्, र उनको यात्रामा कुनै अन्त्य छैन।

image_123650291

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार