ताजा अपडेट »

रोहिणीलाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा

सोमबार, १० असार २०८१, ११ : ३१
106 Shares
सोमबार, १० असार २०८१
106 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनीका सम्पूर्ण बालबालिकाहरुलाई पूर्ण खोप लगाएको सुनिश्चितता दिगोपना घोषणा गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीले बताए ।  

पालिकामा आयोजित कार्यक्रमकाबीच घोषणा गरिएको उनले बताए । उनले भने, ‘शून्यदेखि १५ महिनासम्म र १६ देखि ५९ महिनामुनीका सबै बालबालिकाहरूले खोप लगाइसकेको सुनिश्चित गरिएपछि रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हो ।’ पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सुक्षम योजना, दिगोपनाको योजना बनाउने र पूर्ण खोप सुनिश्तिताको लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्यहरु रहेको उनले जानकारी दिए ।

कार्यक्रममा रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाका जायज माग पूरा गर्न प्रतिवद्ध रहेको बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘मैले स्वास्थ्यकर्मीको समस्या बुझेको छु । स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन तपाईहरु सबैको अमूल्य योगदान छ । विभिन्न समस्याका बाबजुद राम्रोसँग काम गर्नुभएको छ । तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले रोहिणीलाई स्वास्थ्य क्षेत्रमा अघि बढाउन सबैको भूमिका आवश्यक रहेकोमा जोड दिए ।

रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले स्वास्थ्य नै धन भएको बताए । उनले बालबालिकालाई खोप लगाउने कार्यमा खट्ने सबैलाई धन्यवाद दिए । उनले वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य चौकीको आवश्यकता रहेकोमा जोड दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले स्वास्थ्यकर्मीका जायज माग पालिकाले सम्बोधन गर्ने अपेक्षा गरे । उनले पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नु मात्र ठूलो कुरा नभएकोले पूर्ण खोपको अवस्था कायम राख्नु महत्वपूर्ण रहेको बताए ।

बगहा स्वास्थ्य चौकी इञ्चार्ज बुद्धि प्रसाद पन्तले स्वास्थ्यकर्मी रात दिन नभनी खटिएको बताए । उनले भने, ‘हामी सबैको प्रयासले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा भएको छ ।’ स्वास्थ्य प्राविधिक रेनुका पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा सिनियर अहेव रमेश चौबे, पुर्ण बहादुर कंवरलगायतले भनाइ राखेका थिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि रोहिणीलाई पूर्ण खोपको अवस्था कायम राख्ने प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।