ताजा अपडेट »

बद्री पंगेनीसहित १० जनाले गाएको गीत ‘बसे है पालेदाइ’ लाई प्रतिबन्ध लगाउन माग

आइतबार, ०९ असार २०८१, ०७ : ३९
150 Shares
आइतबार, ०९ असार २०८१
150 Shares

काठमाणडाैं । गाएक बद्री पंगेनीसहित १० जना गायकगायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादमा तानिएको छ। गीतमा विद्यालयलाई माया गर्ने थलोको रुपमा चित्रण गरिएको भन्दै गीतको आलोचना भइरहेको हाे।

कास्कीको अन्नपूर्ण गाउँपालिका शिक्षक संघ/संगठनहरूले सामूहिक रुपमा विज्ञप्ति निकाल्दै गीतलाई प्रतिबन्ध लगाउन माग गरेका छन्। साथै गीतलाई युट्युव लगायतका प्लेटफर्मबाट हटाउन पनि माग गरिएको छ।

‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन्,’ जारी विज्ञप्तिमा उल्लेख छ, । ‘शिक्षकहरूलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छाया‌ङ्कन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ।’

Press-release-1718949139

गीतको व्यापारलाई मात्र केन्द्रमा राखी शिक्षा, समाज र साहित्यको कुनै गरिमाको ख्याल नगरी बनाइएको आरोप छ। प्रतिबन्ध नलगाएको खण्डमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिष्कारसमेत गरिने चेतावनी छ।

चारदिनअघि सार्वजनिक भएको ‘बसे है पालेदाइ’ को बद्री पंगेनीसहित चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ। बालकृष्ण श्रेष्ठको शब्द रहेको गीतमा स्वर्गीय जयनन्द लामाको म्युजिक छ। विष्णु शर्मा निर्देशित गीतको भिडिओमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।