ताजा अपडेट »

गैडहवाको नीति कार्यक्रम सार्वजनिक : ६३ करोड बढी बजेट विनियोजन

शनिबार, ०८ असार २०८१, ०९ : २६
160 Shares
शनिबार, ०८ असार २०८१
160 Shares

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ करोड ३८ लाख १८ हजारको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । १४ औं गाउँसभा पालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष पौड्यालले गैडहवा गाउँपलिका समाजवाद उन्मुख, आर्थिक सामाजिक विकास र सामाजिक न्यायसहितको समतामूलक ‘समृद्ध गैडहवा सुखी गैडहवाबासी’ को आकांक्षा पूरा गर्न दृढ संकल्पित भएको बताए । उनले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्द्रित भएको बताए । चुनावको बेला घोषणापत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र मागअनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिइएको प्रस्तुत नीति तथा कार्यक्रममार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् ।

नीति तथा कार्यक्रममा पर्यटन तथा आर्थिक विकासतर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालन, शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने, कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गर्ने तथा सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ३६ करोड ६४ लाख ६८ हजार र पूँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार विनियोजन गरिएको जानकारी गराइन् । विनियोजित बजेटमा गाउँपालिकाबाट ३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि २ करोड ६० लाख व्यवस्था गरिएको छ ।

वित्तीय समानिकरण अनुदान १३ करोड ७० लाख, संघ सरकारबाट सशर्त अनुदान २३ करोड ६९ लाख ७३ हजार, राजस्व बाँडफाँडबाट १२ करोड २० लाख रहने गरी बजेट सार्वजनिक गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानिकरण अन्तरगत ९५ लाख ६३ हजार, सशर्त अनुदान ९० लाख, समपुरक अनुदान ७० लाख र राजस्व बाँडफाँडवापत प्रदेश सरकारबाट प्राप्त हुने आय ५० लाख ९४ हजार रहने भएको छ । नवप्रवर्द्धनका लागि ९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १ करोड ५० लाख, पालिकाभित्र छाडा चौपाया व्यवस्थापनका लागि २५ लाख बिनियोजन गरेको छ । मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्चवापत मासिक रु।५ हजार उपलब्ध गराउने भएको छ ।

त्यस्तै चैते धान प्रवर्द्धन र खाद्यान्न बालीको उन्नतका लागि १२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि १ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि १ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नम्बर ६ मा शवदाह निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालसहित विभिन्न शिर्षकमा बजेट व्यवस्थापन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।