ताजा अपडेट »

म किन लेखिरहेछु ?

शुक्रबार, ०७ असार २०८१, ११ : १५
350 Shares
शुक्रबार, ०७ असार २०८१
350 Shares

मानव जातिको जैविकीय उद्विकासको ऐेहासिक तथ्यका आधारमा ढुङ्गे युगदेखि वर्तमान डिजिटल युगसम्म आईपुग्दा मानिसले व्यतिगत र सामुदायिक जीवनका लागि विभिन्न  प्रकारका ओैपचारिक, अनौपचारिक, नियमित एवम् अनियमित कर्म गरिरहेको छ । यसरी गरिरहेका कर्महरु कुनै मनका लागि, कुनै वचनका लागि र कुनै धन आर्जनका लागि गरिन्छ । व्यक्तिको आवश्यकता, चाहना तथा रुचिका आधारमा विश्व हरेक कर्ममा सन्तुष्टि, आय आर्जन, सामाजिक, आर्थिक लाभ प्राप्त गरिरहेको हामीले देख्न, सुन्न र महशुस गर्न पाईरहेका छौं । मानिसले दैनिक गर्ने कर्महरु आफ्ना लागि मात्रै बहुमूल्य, महत्वपूर्ण र सान्दर्भिक हुने छानेर गर्याे भने मानव जातिलाई सामाजिक र विवेकशील प्राणीको जुन दर्जा दिईएको छ । त्यसको अपमान, अपहेलना र तिस्कार गरेको ठहरिनेछ ।

मानिसले आफ्नो स्वभाव, रुची, भावना, मनोविज्ञान, सङ्गत, परिवेश आदिका आधारमा वर्तमान बदलिँदो विश्व परिवेशमा मुख्य र सहायक गरि दुई फरक फरक कार्यहरु गरिरहेको पाईन्छ । विश्व चरम पूँजीवादमा रुमलिएको अवस्थामा यस्ता कर्ममा मानिसहरु विवशताका साथ सहभागी भईरहेछन् । विवेकशील प्राणीले ज्ञान प्राप्तिका निरन्तर अध्ययन, अध्यापन वा ज्ञान निष्पक्ष वितरण, लेखाइ र सुनाईलाई उच्च प्राथमिकताका साथ अगाडि बढाईरहेको हुन्छ ।

कुनै विषयमा आफूले प्राप्त गरेको ज्ञान अनुभव र जानकारी समग्र समाजका ज्ञान प्राप्तिका लागि निरन्तरता, सङ्घर्ष, सरलता अपनाई रहेका व्यक्तिका लागि केही जानकारी प्राप्ति होस् । सम्बन्धित विषयमा शोध गरिरहेका व्यक्ति वा सस्थालाई केही मुद्दाहरुको जानकारी होस् । प्रत्यक्ष रुपमा समाजसेवा गर्न नसिकिरहेको अवस्थामा अप्रत्यक्ष ढङ्गबाट सहयोग पुर्याउन सकियोस् । निरास र उदासीनताबाट माथि उठेर राष्ट्रको चौतर्फि विकासका लागि युवा समुदायलाई सचेत, जागरुक, उत्साहित बनाउन सकियोस् । समाजमा ओैसत परिचय निमार्ण नगरी केही अतिरिक्त परिचयबाट आफू र आफ्ना सन्ततिलाई चिनिने अवसरको सिर्जना होस् । युवा पुस्तालाई पढ्न, सिर्जनात्मक कर्ममा सहभागी हुन, मानवता, मानवियताका साझा सबालमा हामी सबैको एकमत निमार्ण गरि सामाजिक न्यायमा आधारित समतामूलक नेपाली समाज निमार्णमा लाग्नको लागि प्रेरित गर्न सकियोस् भन्ने अपेक्षाका साथमा लेख्ने मेरो मान्यता हो ।

हाम्रो जस्तो आदर्श, सिद्धान्त, विचार, कार्यक्रम, गतिहिन, अराजक, भ्रष्टाचार, अनियमितता, गुन्डागर्दी, गुटबन्दी, चाकरी, चाप्सुलीले आक्रान्त बनेको राजनीति त्यसबाट प्रशिक्षित कार्यकर्ता भएको मुलुकमा विचार, सिद्धान्तका कुराहरु लेखेर आम पाठकहरु समक्ष पुर्याउँदा अनेकौं प्रकारका चुनौति, चेतावनी, मानसिक हिंसाका घटनाहरुको सामना गर्नुपर्ने हुन्छ । एक दशकको लेखन यात्रामा यस्ता दुर्घटना कैयौंपटक व्यहोर्नुपरिरहेको छ । कहिलेकाहीँ अरुले प्रकाशित गरेका लेख रचनाहरु तेरै काम हो भनेर स्पष्टीकरण सोधिए, कहिलेकाहीँ पाटिका हितमा हुनेगरि लेख भनियो, कहिलेकाहीँ सम्पादकले आफ्नो राजनैतिक मान्यता छिराएर  लेखले उठान गरेका विषयवस्तुहरु समेत मोडिए, कहिलेकाहीँ आफ्नो पक्षमा लेखिदिनका लागि देशी विदेशी दलालहरुले अनेकौं अफर पनि ल्याए । आजको मितिसम्म कुनै पनि प्रकारको अफर, आरोप र निर्देशनबाट नभई आफ्नो मान्यता र प्राप्त गरेको ज्ञानका आधारमा लेखन कर्मलाई अगाडि बढाईरहेकोछु ।

लेख्ने विचार व्यक्त गर्ने शिलशिलामा मेरो एउटा अलि सधैंभरि मन छुने एउटा घटना छ त्यो २०७६ सालको हो । म पहिलोपटक रुपन्देहीको बुटवलमा विशिष्ट पहिचान बनाएर बसेको एक पुस्तक पसलमा केही पुस्तक किन्न पुगेको थिए । त्यहाँ एकजना आफुलाई ठूलो विद्वान ठान्ने व्यक्ति हुनुहुन्थ्यो मैले अङ्ग्रेजी र नेपाली भाषाका गरि ४ वटा पुस्तक किन्ने निधो गरि काउन्टरमा बिल भुक्तानी गर्दै थिए । ती विद्वान फ्याट बोले अङ्ग्रेजी भाषाका किताब हजुरलाई पढ्न कठिन छ सक्नु हुन्न भन्नुभयो । मैले केही प्रतिक्रिया दिईन त्यसको केही समयपछि देशका दुई ठूला कलेजहरुबाट अङ्ग्रेजी भाषामा अनुसन्धानमुलक लेख छापेर जवाफ दिएको घटना मेरालागि अविस्मरणीय छ । भाषा भन्दा ठूलो कुरा ज्ञान हो, ज्ञान भन्दा ठूलो कुरा प्रस्तुतिबाट लक्षित समुहलाई सन्तुष्ट बनाउनु हो ।

समाजमा रहेका विकृति, विसङ्गति, अनियमितता, अराजकता, गैरमानवीय क्रियाकलापहरुका बारेमा लेख्ने मात्रै नभई सुधारका लागि सम्बन्धित पक्षलाई सन्देश पुर्याउनका निम्ति समेत लेखिरहेको छु र लेख्ने छु । समाजलाई निष्पक्ष, विवेकशील तरिकाबाट सधैंभरि ज्ञानका विषयमा समयसापेक्ष शैलिमा सुचनाहरुबाट सुसूचित गर्न पाऊ भन्ने दृढ सङ्कल्पका साथ निरन्तर लेखन यात्रामा लागिरहनुका पछाडि घरपरिवार, प्रीय पाठकहरु नै प्रेरणाका स्रोत हुनुहुन्छ ।

निरन्तर लेखिरहेको  छ कति  पैसा कमाई हुन्छ भन्ने जिज्ञासा पनि हजुरहरुलाई लाग्न सक्छ । सबै सञ्चार सस्थाले लेखकलाई सम्मानित पारिश्रमिक दिएकै छन् । राजधानीका मुलधारे मिडिया हाउसदेखि मोफसलका सबैले आफ्ना नियमित लेखकहरुलाई खर्च पुग्ने गरि भन्दा नि सन्तोष हुनेगरि पारिश्रमिक दिएका छन् । दैनिक फिल्ममा खटिने पत्रकारले समेत खर्च चलाउन गोजि र खाम पत्रकारिता गरिरहेको अवस्थामा घरमै बसेर लेख लेख्नेहरुको पारिश्रमिक तपाईं आफै अनुमान लगाउनुहोस् ।

एक जिम्मेवारी नागरिकको हिसाबले आफूले आर्जन गरिरहेको ज्ञान अरुलाई वितरण गरेमा आफुमा सन्तुष्टि र सामाजिक सम्बन्ध अझधेरै बिस्तार हुने अपेक्षामा आधारित भई मुख्य रुपमा अर्थतन्त्रसँग सम्बन्धित र सहायक रुपमा शिक्षा र राजनैतिक विषयमा कलम चलाई रहेछु । अन्त्यमा आफ्नो अनुभव, ज्ञान र सिपको सङ्गालो निकट भविष्यमा ल्याउने प्रतिबद्धता सहित नमस्कार ।

 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल