ताजा अपडेट »

सिद्धार्थनगर–४ मा अचार तथा अगरबत्ती बनाउने तालिम

शुक्रबार, ०७ असार २०८१, १० : ४३
134 Shares
शुक्रबार, ०७ असार २०८१
134 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा सातदिने अचार र अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल ट्रेनिङको प्राविधिक सहयोगमा सिद्धार्थ बौद्ध गुम्बामा सञ्चालित तालिम बिहीबार समापन भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उद्यमी बन्ने सोच राख्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले भने, ‘वडा कार्यालय तपाईहरुको साथमा छ । समूह बनाएर उत्पादन गर्नुहोस् । तपाईहरुले उत्पादन गरेका सामग्री वडा कार्यालयले नै खरिद गरिदिनेछ ।’

उनले आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले महिलाहरुसँग सल्लाह–सुझाव लिएर महिलाहरुका लागि सीपमूलक तालिम सञ्चालन गरिने बताए । त्यस्तै विश्वास कलेज अफ टेक्निकल एजुकेशनल एण्ड मोटिभेसनल ट्रेनिङका सचिव श्याम सुन्दर यादवले तालिममा सिकेका कुराहरु दैनिक जीवनमा प्रयोग गर्न र व्यवसायिक बन्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले आगामी दिनमा पनि यस्ता तालिममा संस्थाको प्राविधिक सहयोग रहने बताए ।

talim

तालिमको प्रशिक्षक जुना पुरीले अनुशासन सबैभन्दा ठूलो कुरा भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सफल उद्यमी बनेर देखाउनुहोस् । तपाईहरु सक्षम हुनुहुन्छ । म साथ दिन तयार छु।’ फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले आमा समूहको पहलमा तालिम सञ्चालन भएको र यो तालिम आवश्यक र उपयोगी भएको बताए ।

आमा समूहकी अध्यक्ष शुभद्रा पौडेलले आगामी दिनमा पनि तालिमले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । उनले वडाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । सहभागीहरुको तर्फबाट बबिता गुरुङ र रमा श्रेष्ठले तालिमबाट धेरै कुरा सिकेको भन्दै आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्न आग्रह गरे । विष्णु आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा जुना पुरी, राज्यलक्ष्मी अग्रहरी, सीमा कुमारी गौड र नितु अग्रहरीले प्रशिक्षण दिएका थिए । तालिममा ९४ जनाको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।