ताजा अपडेट »

गजवीर बोटेको अन्तिम इच्छा !

शुक्रबार, ०७ असार २०८१, ०७ : ४७
586 Shares
शुक्रबार, ०७ असार २०८१
586 Shares

गजवीर बोटे जन्मिदा जहानीयाँ राणा शासन थियो । यतिबेला गणतान्त्रिक नेपालमा बाँचिरहेका छन् उनी । सम्वत् १९९७ फागुन १० गते पाल्पाको बगनासकाली गाउँपालिका वडा नं.७ को दैलातुङ्गमा जन्मिएका रहेछन् उनी । सानैदेखि  कालीगण्डकीमा पौडी खेल्थे । जालले माछा मार्न सिपालु थिए । अलिपछि बाबासँगै लागेर दैलातुङ्गघाटमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने काममा लागे । परिवार पाले ।

उमेरले १८ टेक्दै गर्दा भारतको गोरखपुर, कुँडाघाटमा लाहुरे हुन छाती नाप्न पुगे । तर उनलाई गल्लाले भनेका रहेछन्–डुङ्गा तार्ने काम छाडेर लाहुरे हुन किन आइस् ? त्यसो भनेर उल्टै पो हप्काएछन् । गल्लाले उनलाई गोरखपुरबाट नौतनहवासम्मको रेलको टिकट काटेरमात्र होइन चार रुप्पे दिएर समेत पठाएछन् । सुनौलीबाट पैदल हिंडेर दैलातुङ्गसम्म आइपुगेको कुरा यतिबेला सम्झिदै थिए ।

गजवीर बोटेका दुईनालतिर गरी ६ छोरा र ४ छोरी रहेछन् । छोरीहरु पराइ घर गए । छोराहरुमध्ये कान्छो छोरा लालबहादुर गाउँमै भएरपनि छुट्टिएर कोखैको घरमा बस्दै रहेछन् । त्यही छोरोले गएको दुई वर्ष अघि बाबा गजवीरको चौरासी पूजा गरिदिए ।  चौरासी नगर्दासम्म त आँखा ठिकै थियो रे ! यतिबेला ग्यास्ट्राइटीसले सताएपनि भुसलडाँडाको ओखतीले निको पार्दै लगेको कुरा सुनाए । तर साँझ सुत्नेबेला झम्केपानी नखाइ निद्रा नलाग्ने कुरा समेत सुनाउँदै थिए । गजवीरले जेठी श्रीमती बितेपछि कान्छी श्रीमतीका रुपमा सुमित्रालाई २०३५ सालमा साथ लिएका रहेछन् । सँगै जीवन गुजारिरहेका छन् । दुःख,सुखमा साथ दिइरहेका छिन् ।  

यतिबेला दैलातुङ्गमा १७ घरधूरी बोटे समुदायको छ । जनसंख्या पुन नपुग सवा सय हुनुपर्छ । यहाँ उनीहरु मिर्मी, छेर्लुङ्ग, दर्पुक, बिर्घाबाट आइपुगेका रहेछन् । खडक सम्शेरले रानीघाट दरवार बनाएपछि त्यहाँको रानीघाट र दैलातुङ्गको घाटमा डुङ्गा चलाउनु परेको रहेछ । सोही कारण अन्य ठाउँका बोटेहरु समेत यतै बसाइ आएका रहेछन् । सुरुमा उनीहरुले वारिपारि गाउँका मानिसहरुलाई वर्षको एक पाथी अन्नमा डुङ्गा तार्ने कुरा गजवीरले सुनाए । त्यतिमात्र होइन अन्य गाउँका मानिसहरुलाई ज्यानमात्र भए एक पैसा र ज्यानसँगै भारी भए दुई पैसामा कालीगण्डकी वारपार गर्दिने इतिहास सुनाए ।

गजवीरका हजुरबा २२ घाटभित्रको माझगाउँको मुखिया रहेछन् । सम्पन्न परिवारमा नै गनिन्थे रे तर आज गजवीरले करीव ३ रोपनी जग्गामा संसार सजाएका छन् । डुङ्गा चलाउँदा ऋण लागेर भएका सबै जग्गाजमीन अरुलाई बेच्नु परेको दुःखको कहानी बेलीविस्तार लगाउँदै थिए । डुङ्गा, काली उर्लिएर आउँदा बगाइ दिन्थ्यो । कहिले बिठ्याइँ गर्नेहरुले नदीमा हेल्दिन्थे । अनेक कारणले डुङ्गा हराउँथ्यो अनि नयाँ बनाउनु पर्ने बाध्यता हुन्थ्यो अनि ऋण काढ्नु पथ्र्यो । ऋण तिर्न जग्गा बेच्नुको विकल्प नरहेपछि आज दैलातुङ्का बोटेहरु भूमिहीनजस्तै भएका छन् । त्यतिबेला एउटा डुङ्गा बनाउँदा पाँचदेखि छ हजार रुपैयाँसम्म पर्दोरहेछ ।

bote

कखरा सिक्न छिमेकी ब्राह्मण गुरुहरुका जाँदा गोबरसोत्तर गर्दिनुपर्ने बाध्यकारी अवस्थाका बारेमा सहजै बताएका गजवीरले अक्षर चिन्न धेरै प्रयास, प्रयत्न गरे तर भनेजस्तो भएन । उनका गुरुहरुले भनेका थिए रे–माछा छोप्ने जातले अक्षर छोप्न नसक्दो रहेछ ! बुद्धिजति माछाले खाइदियो । चित्त बुझाएर अक्षरसँग कहिले निहुँ नखोज्ने सर्तमा जीवनलाई अँध्यारोतिर धकले । उतिबेला गाउँमा गोरु जोतेवापत एक सुका मिल्थ्यो रे ! त्यसैले पनि जनतन जीवन गुज्रिएकै थियो । तर आज महिनाको चार हजार वृद्धभत्ता थाप्दा पनि नपुग्ने ? उनले प्रश्न गर्दै थिए ।

गोठमा एउटो थारो गाई थियो टिक्लिकै । बाख्राहरु रोगले मरेको कुरा सुनाउँदै थिए । गजवीर भन्दैथिए–कसैले सहयोग वा अनुदानमा दिए,बाख्रा पालिन्थ्यो । आम्दानीले जीवन गुजारिन्थ्यो । सोही प्रसङ्गमा बगनासकाली वडा नं.७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले भने–दुई वर्ष अघि बाख्रा दिएका थियौं । यस वर्ष पनि आयआर्जन हुने खालको आर्थिक प्याकेज दिने योजना छ । उनीहरुको जातीय उत्थानका लागि सक्दो सहयोग गर्ने सोच छ ।

पाल्पा, दैलातुङ्गदेखि स्याङ्जाको वइघा जोड्ने झोलुङ्गे पुल बनेको चार, पाँच वर्ष भईसक्यो । यतिबेला डुङ्गाको काम छैन । त्यसैले उनीहरु बेरोजगार भए । हातमा जाल खेल्ने सीप छ तर खोलामा करेन्ट लगाएर माछा मार्छन् अनि जालमा माछा पर्ने कुरै भएन । फेरि सोही कारण बोटेहरु कामविहीन भए । रैथाने बोटेहरुको रोजगार खोसियो । सीपमा खिया लाग्यो । त्यसैले गरीखाने बाटो बन्द भयो । मुखमा माँड लगाउने बाटो हरायो । मागी खाने अवस्थामा बोटेहरु पुगे ।

भारतको पञ्जाब, राजस्थान, जगलपुरसम्म लाहुरे भाइसँग पुगेका गजवीरको अन्तिम इच्छा तीर्थव्रत गर्ने छ तर कसले पुराउला उनलाई काशीगया, कसले लगिदेला पशुपतिनाथको दर्शन गर्न । कहिले पुग्लान् उनी मुक्तिनाथमा शीर झुकाउन । लुम्बिनीमा मन शान्त गराउन उनी कहिले पुग्लान् ? वृद्ध भत्ता थाप्छन् । मुख जोर्न ठिकै छ ।

gajbir bote

उनका गाउँका बोटेहरु भारततिर छन् केही । धेरैजसो यतै कनिकुथी गरी बाँचेका छन् । माइली छोरी दुबई, कतार र वोमन पुगेपनि रोगले थलिएर काठमाडौंमा उपचारार्थ छिन् यतिबेला । १२ छोरा १३ नाती, बुढाको धोक्रा काँधैमाथि उखान उनकै लागि रचिएजस्तो भान भइरहेको छ यतिबेला उनलाई । बहुविवाह र बालविवाह बोटे समुदायमा आज पनि कायमै रहेछ ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार