ताजा अपडेट »
पुस्तक समीक्षा

मायाको कोसेली

विहीबार, ०६ असार २०८१, ०९ : २६
432 Shares
विहीबार, ०६ असार २०८१
432 Shares

ऋषि आजाद

सामाजिक, साँस्कृतिक तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील माया रानाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट प्रवीणता प्रमाण पत्र तह पास गर्नु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सामुदायिक स्वास्थ्य सहायक तह उत्तीर्ण गर्नु भएको छ । सामाजिक परिचालकका रुपमा क्रियाशील उहाँले समाज रुपान्तरणमा निकै ठूलो योगदान दिनु भएको रहेछ । यही योगदान फलस्वरुप उहाँलाई कैयौँ पुरस्कारहरु प्राप्त भएका छन् ।

आज म ‘चिनारी ढोलीमाराको’ कृतिको विषयमा पारख गरिरहेको छु । साथै उहाँ र उहाँका साथीहरुको सामाजिक, सांस्कृतिक योगदान मूल्याङ्कन गरिरहेको छु । लेखहरु आत्मपरक, वस्तुपरक र सँस्मरणात्मक खालका हुन्छन् । चिनारी ढोलीमाराको हिजो, आज र भोलि अनुभव, अनुभूति, सँस्मरण र कल्पनासहितको अभिव्यक्ति भएकोले यो सँस्मरणात्मक आलेखहरुको सङ्ग्रहजस्तो भएको छ । यसमा आत्मपरकताभन्दा वस्तुपरकता ज्यादा छ । यसमा वस्तु, कल्पना, अनुभव र सँस्मरणसँगसँगै आएको छ । यसर्थ पनि यो संस्मरणात्मक निबन्धहरुको सँगालो हो । यो विवरणात्मक शैलीमा लेखिएको छ ।

यसमा आफ्नै अनुभूति, विचार, सुख-दुःख आदि संवेगहरूलाई वस्तुमा टेकेर सिलसिला मिलाएर राखिएको छ। स्वानुभूतिको आधिक्य छ । आत्मप्रकाशन वा स्वप्रकाशन सँस्मरणात्मक निबन्धको विशेषता पनि हो। यो किताब मायाको निजात्मक कोसेली हो । यो साठी पृष्ठमा विस्तार भएको पुस्तिका हो । यसमा १५ वटा लेखहरु सङ्ग्रहित छन् । यसमा ढोलीमारा गाउँको परिचय, ढोलीमारा नामको सन्दर्भ, यसको ऐतिहासिक पृष्ठभूमि, जनसाँख्यिक अवस्था, सामाजिक, साँस्कृतिक अवस्था, शैक्षिक अवस्था, रोजगारीको अवस्था, क्रियाशील सङ्घ सँस्थाहरु, चुलीडाँडाको परिचय, अम्रिसो खेती, किबी खेती, ढोलीमारामा ओके बाजे, भावी योजना, गीत कविता, धन्यवाद सबैलाई गरी पन्ध्रवटा शीर्षकमा लेखहरु छन् । यसमा डि.बी गुरुङका दुई लेखहरु छन् ।

डि.बी. गुरुङ समाज रुपान्तरणका गज्जवलाग्दा पात्र हुनुहुन्छ । उहाँले समाज रुपान्तरणमा योगदान दिएका असल पात्रहरुलाई परिचय र इज्जत दिनुहुन्छ । मायाको यो अति उपयोगी कृतिलाई चर्चामा ल्याएर समृद्धिमा मायाको योगदानको चर्चा चलाउनु भएको छ । डिबिको प्रेरणामा थुप्रै लेखकहरु, सामाजिक अभियान्ताहरु बनेका छन् ।

यो किताब हातमा पाउँदा बित्तिकै ढोली मारा शब्द किन राखिएको होला ? भन्ने कुतकुती लाग्छ । हाम्रो समाजमा जोगीमारा, घोरमारा, माघमारा, चोरमारा, बालकाटे लगायतका गाउँका नामहरु छन् । हामीले झट्ट सुन्दा दमाई जातिको मानिसलाई मारेको होकि भन्नेजस्तो लाग्छ । तर फरक रहेछ । मगरभाषाको अर्थमा ढोली भनेको दमाईँ हो । माराहा भनेको आएन हो । तीजको समयमा कपडा सिलाउन नआउँदा सबै गाउँले केटाकेटीले ढोली माराहा भन्दाभन्दै पछि अपभ्रंश भएर ढोलीमारा भएको हो भन्ने सुन्दा आनन्द लाग्यो ।

ढोलीमारा मगर बस्ती हो । यहाँ नेपालकै एक सफल होमस्टे सन्चालनमा छ । बाहिरबाट यो गाउँमा मानिसहरु आउँछन् । होमस्टेले जनताको जीवनमा परिवर्तन ल्याएको छ । यहाँ रैथानी सँस्कृतिको विकास भएको छ । तत् स्थानीय सँस्कृतिलाई रैथाने सँस्कृति भनिन्छ । यहाँको सँस्कृति मगर सँस्कृति हो । यसबाट मगर जातिको पहिचानको रक्षा भएको छ । यहाँ केही ब्राम्हण, कामी, दमाई पनि छन् । उहाँहरुप्रति पनि सम्मान छ । किताब पढ्दा मायाले सबैलाई मायाको सूत्रमा उनेर सँगसँगै अभियानमा हिँडालेकी छन् जस्तो लाग्छ । समाजमा एकता छ, सहिष्णुता छ । छुवाछुत छैन ।

वास्तवमा पहिचान सबको चाहना हो ।
पहिचान व्यक्ति, समुदाय र वर्गको हुन्छ । यो भूगोलबाट, जातिबाट, भाषाबाट, अनुहारबाट भेषभूषाबाट, धर्मबाट, सँस्कृतिबाट चालचलन, रीतिरिवाज र रहनसहनबाट, नृत्य नाँचबाट झल्कन्छ । यसको सँरक्षण स्वयँ जातिले आफै गर्नुपर्छ । सरकारले नीति बनाउनु पर्छ । ढोलीमाराले सँस्कृति सँरक्षणमा देखाएको तत्परता र त्यसले निर्माण गरेको मगर पहिचान हेर्न लायकको छ । यहाँ शयारी देवी पूजा, रम्भादेवी, जाल्पादेवी, हरेलो, सिद्ध पूजा, खाँडदेवी, दुर्गा पूजा, कालीपारे, बराजु, बुद्ध जयन्ती आदि मनाइन्छ । सोरठी, घाँटु,सालैजो, झ्याउरेजस्ता नृत्य तथा गीतका भाकाहरुको विकास भएको छ । यो गाउँ समृद्ध मात्र हैन रमाइलो पनि छ । त्यसले त पर्यटकहरु होमस्टेमा जान्छन् । गीत सङ्गीतमा झुम्छन् । खान्छन् रमाउँछन् । आहा ! ढोलीमारा भन्दै फर्कन्छन् ।

खुसीको कुरा ढोलीमारामा ९८.८८% मानिसहरु साक्षर छन् । कैयौ युवायुवतीहरु विदेशतिर पनि छन् । स्वदेशमा नोकरी तथा व्यवसाय गर्नेहरु पनि छन् । सेना, प्रहरी, कर्मचारीमा पनि छन् । यहाँको समृद्धिमा युवा क्लब, जालपादेवी महिला समूह, जालपादेवी कृषक समूह, बाल विकास केन्द्र, वनउपभोक्ता समूह, देउसी भौलो समूह, प्रवासी युवा सन्जाल, होमस्टे आदिको योगदान छ । किबी खेती र अम्रिसो खेती यहाँको आम्दानीको स्रोत हो । सामुदायक वन यहाँको लागि वरदान सावित भएको छ । यहाँका गहना ओके बाजे हुन् । दुख सुख र जनचेतनामा ओके बाजेको योगदान महत्वपूर्ण छ । ओकेबाजे ज्यूँदा र जाग्रत चेतनापुञ्ज हुन् ।

यहाँको समृद्धि र जागरणमा पहल  सिंह सर, चित्र सर, तिलक सर र स्वयँ यो पुस्तकको लेखिका मायाको योगदान छ । यही योगदानमा डि.बी गुरुङ्ग पनि जोडिन पुग्नु भएको छ । यो किताब पढ्दा गाउँको विकासमा के कस्तो गर्नुपर्छ भन्ने जानकारी पाइन्छ । यो समृद्धिको फर्मुला सिकाउने डायरी पनि हो । यो मायाको मायालु समाज बनाउने उपाय सिकाउने दस्ताबेज हो ।

अन्त्यमा डि.बी. सरलाई धन्यवाद १ मायाको कोसेली पाएँ, पढें । खुसी लाग्यो । माया लगन र निष्ठाकी अब्बल पात्र हुन् । तिनाउ नदी अविरल बगेजस्तो मायाको जीवन निरन्तर गतिशील बनिरहोस् । मङगलमय शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।