ताजा अपडेट »
स्कूल डायरी

छत खसेर पुरिने त्रासमै पढ्छन् कमलादेवी प्राविका विद्यार्थी

शनिबार, ०१ असार २०८१, १३ : ३७
868 Shares
शनिबार, ०१ असार २०८१
868 Shares

धनुमाया घर्ती

पूर्वखोला गाउँपालिका वडा नं. ४, देवीनगर, बेसर्घामा अवस्थित कमलादेवी प्राथमिक विद्यालय बाल कक्षादेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको छ । २०१८ सालमा कक्षा ५ सम्म नै सञ्चालन हुने गरी अनुमति पाएर स्थापना भएको यस विद्यालयमा बालकक्षा भने २०६५ देखि सुरुवात् भएको हो । छात्र र छात्रा गरी जम्मा ३१ जना विद्यार्थी यस विद्यालयमा अध्यनरत छन् । कक्षा ५ उत्तीर्ण विद्यार्थी उपल्लो  शिक्षाका लागि मातृभूमि मावि, देवीनगरमा जाने विद्यार्थी र  बालकक्षामा नयाँ भर्ना हुन आउने विद्यार्थी संख्या बराबर देखिन्छन् ।

विद्यार्थी पढ्ने अवसरबाट वञ्चित नहोस् भनेर वर्षेनी भर्ना अभियानका लागि घरदैलो कार्यक्रम गरिन्छ । नयाँ विद्यार्थी स्वागत, अतिरिक्त क्रियाकलापमा जोड, खोप अभियान, जुकाको औषधि खुवाउनेजस्ता कार्यक्रमहरु यस विद्यालयमा हुने गर्दछन् । नियमित रुपमा पठनपाठन र शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावक र विद्यालय ब्यवस्थापन समिति उत्तिकै मात्रामा सक्रिय देखिन्छन् । नियमित रुपमा सञ्चालन हुने परीक्षाको नतिजा हेर्न र सुन्न अभिभावकहरु विद्यालयसम्म आइपुग्ने गर्दछन् । विद्यार्थीप्रति चासो र चिन्तन कतिपयको राम्रै छ भने कतिपय अभिभावक आफू अशिक्षित भएको कारण छोराछोरीका पढाइमा सहयोग गर्न असक्षम भएको बताउँछन् । यस विद्यालय धनुमाया घर्तिको नेतृत्वमा शैक्षिक प्रशासन र पठनपाठन सञ्चालनमा रहेको छ । ४ जना शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगीले विद्यालय नियमित शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेका छन् । पिमबहादुर कवँर, रीता सारु, विद्यालय अनुदान कमला सुनारी, बालविकास सहजकर्ता लक्ष्मीदेवी थापा र कार्यालय सहयोगी खुमीसरा थापा छिन् । देवबहादुर सारुको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति र नरेन्द्र सिं गाहाको अध्यक्षतामा शिक्षक अभिभावक संघ क्रियाशील रहेको छ ।

kamdevi school12

यस विद्यालय स्थानीयहरुको सहयोगमा यहाँसम्म आइपुगेको छ । अभिभावकहरु वैठकमा बोलाएको बेला समयमै विद्यालयमा आएर सहयोग गर्दछन् । विद्यालयको सर्वाङ्गीर्ण विकासको लागि विद्यालय ब्यवस्थापन समिति कर्मशील छ । विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम रहेको छ ।  विद्यालय सेवा क्षेत्रमा करिब ८३ घरधुरी रहेतापनि पछिल्लो समय विद्यालय पढ्ने विद्यार्थी संख्या भने अति कम देखिन्छ । जन्म दर कम छ भने यस ठाउँको बसाइसराइ सामान्य रहेको छ । यस हिसाबले विद्यालय पछिसम्म टिकाउन सकिन्छ भन्ने सम्भावना अति कम रहेको छ । यस विद्यालयको शैक्षिक उन्नतिका लागि जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजे), स्व.धर्मराज भुषाल, रीमप्रसाद श्रेष्ठ, तीलकुमारी बरालले अक्षयकोष खडा गरी यस विद्यालयमा ठूलो योगदान दिएका छन्  ।  सोही अक्षयकोषको रकम लगानीबाट आएको ब्याज जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई प्रदान गर्ने तथा विद्यालय स्रोत अनुदान शिक्षकलाई तलब खुवाउनेसम्म गरिन्छन् ।

यस विद्यालयमा २०६०/६५ तिर एउटा कक्षामा ४५/५० जना हुने विद्यार्थी अहिलेभने १–५ कक्षासम्म पनि अति न्यून छ । बाहिरी वातावरण हेर्दा अहा  ! भएतापनि यस विद्यालयको भवनका भित्ताहरु चर्किएर बालुवा माटो खसिरहने हुँदा कतिबेला भवनको छत खसेर मानवीय क्षति नहोला भन्न सकिन्न । यो एक चिन्ताको विषय हो ।  भवन निर्माणको लागि वडापालिकातिर पहल भैरहेको तर सानोतिनो बजेटले निर्माण गर्न कठिन हुने र भावी दिनमा विद्यार्थी नहुने सम्भावना बढी भएर हो कि यसप्रति चासो कम देखिन्छ । यो समुदायमा खानेपानीको समस्या भएको हुँदा यसले विद्यालयलाई  असर पारेको छ । यस विद्यालयको मुख्य समस्या भनेको स्थानीय शिक्षकको अभावमा स्थायी नियुक्ति लिइ बाहिरबाट आउने शिक्षकहरु केही समय बस्ने र पायक पर्ने ठाउँ पाउनासाथ सरुवा भई जाने गर्दा विद्यार्थीको पढाइले त्यति गति नपाएको गुनासो अभिभावकको छ । मगर समुदायमात्र रहेको यो गाउँमा कृषि र पशुपालन यहाँको मुख्य पेसा हो । रोजगारका लागि विदेशिने संख्या दिनप्रतिदिन बढ्दो छ ।

kamaladevi school staff

शैक्षिक उपलब्धि सामान्य नै रहेको छ । शिक्षक अभिभावक बीच अन्तरक्रिया कार्यक्रम हुने र दिवा खाजाको ब्यवस्था भएको हुँदा विद्यालयमा विद्यार्थीको उपस्थितिभने नियमित रहेको छ । विद्यालयमा योग्यता पुगेका तालिम प्राप्त क्षमतावान शिक्षकहरु भएतापनि आफ्ना ज्ञान, सीप धेरै विद्यार्थीका माझ प्रवाह गर्न सम्भव भएको छैन ।

kamaladevi school1

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।