ताजा अपडेट »

जिल्ला अधिवेशनले एमालेमा नयाँ जीवन र जोशको सञ्चार गरेको छ : उपाध्यक्ष पौडेल

शुक्रबार, ३२ जेठ २०८१, १६ : १४
150 Shares
शुक्रबार, ३२ जेठ २०८१
150 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अधिवेशनले पार्टी जीवनमा नयाँ जोश सञ्चार गरेको बताएका छन् । एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार तिलोत्तमामा सपथग्रहण गराउँदै उनले पार्टीमा अन्तरविरोध र अलमलको अवस्था हटेर अग्रगमनतर्फ लागेको दाबी गरे ।

अधवेशनले पार्टी पङ्तिलाई उत्साहित र प्रतिस्पर्धीलाई निराश बनाएको उल्लेख गर्दै पौडेलले अझ एकताबद्ध र सशक्त पार्टी निर्माण भएको दाबी गरे । नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले आपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसाथ गरेर कमिटीलाई चलायमान निर्देशन दिए । ‘रुपन्देहीको पार्टी पंक्तिको प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी तपाईहरुलाई छ ।’–नयाँ नेतृत्वलाई निर्देशनसहित पौडेलले भने ।

नयाँ नेतृत्वलाई फराकिलो जनाधार बनाउने जिम्मेवारी आएको बताउँदै उनले एमालेको नेतृत्वमा भएका कामहरुलाई जनतासमू पुर्याउन आग्रह गरे । पौडेलले विकास र राजनीतिलाई सँगै जोडेर लैजानुपर्ने बताए ।
यसैगरी एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । उत्पादनसँग जोडिँदै राजनितिमा क्रियशिल हुन उनको सुझाव थियो । अर्को पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसंग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिंदै अबको नेतृत्वले थप कुशलता पूर्वक काम गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन सचिव चित्रबहादुर कार्कीले गरेका थिए । पार्टीको अधिवेसनले यज्ञ गैरेको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।