ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप भव्यरुपमा सफल बनाउँछौं : अध्यक्ष के.सी.

शुक्रबार, ०३ फागुन २०७५, १६ : ४३
30 Shares
शुक्रबार, ०३ फागुन २०७५
30 Shares


वि.सं.२०३१ सालमा बुटवल नगरपालिकाको संरक्षकत्वमा सुरु भएको तिलोत्तमा गोल्ड कप फुटवबल प्रतियोगिता २१ औं संस्करणमा प्रवेश गरेको छ । भोली शनिबारदेखि २१औं संस्करणको प्रतियोगिता एन्फा एकेडेमी,बुटवलमा सुरु हुँदैछ । वि.सं. २०४३, २०५८ र २०६७मा रोकिएको प्रतियोगिता वि.सं.२०७१ सालबाट पुनः निरन्तरता पाएको हो । आयोजक रुपन्देही जिल्ला फुटबल संघ,रुपन्देहीमा दिर्घ बहादुर के.सीको नेतृत्वसँगै पुनः निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगिताको २१औं संस्करण लाली तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता –२०७५ को तयारी पूरा भएको छ । यसै सन्दर्भमा रहेर आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)सँग ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी :

२१औं संस्करणको तयारी कस्तो भएको छ ?
–हाम्रोतर्फबाट विगतका वर्षहरुमा भन्दा सक्रिय तथा विशेष तयारी भएको छ । टिम संयोजनदेखि टाइसिट,स्टेडियम मर्मतदेखि निर्माण लगाएत भोली उद्घाटन सत्रका लागि पनि करिब पूरा तयारी भइसकेको छ ।


तपाइँले नेतृत्व गरेपछिको चौथो प्रतियोगिता हो । विगतका प्रतियोगिता बारे भन्नुपर्दा ?
–केही कारणले रोकिएको थियो । पुनः सुरु गर्न चुनौती नै थियो । तर, संघको प्रयास सदस्यको सक्रियता र रुपन्देहीवासीको उत्साह र सहकार्यले तिन वटा प्रतियोगिता गर्न सफल भयौं । यि प्रतियोगिताबाट अनुभव सम्हालेका छौं । मेरो नेतृत्वमा चोथौं वा २१ औं संस्करणका लागि हामीले राम्रो तयारी गरेकाछौं ।

ऐतिहासिक पुरानो र चर्चित मानिने प्रतियोगिता सञ्चालनमा विभिन्न अवरोधहरु आएका छन् । मुख्यतया कारणहरु के–के हुन ?
– कारणहरु धेरै छन् तर, पहिलो आर्थिक र दोस्रो व्यवस्थापन निकै चुनौतीपूर्ण समस्या छन् । ठूलो ऐतिहासिक प्रतियोगिता राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा पनि चर्चित प्रतियोगिता सञ्चालन गर्न धेरै बजेट र जनशक्तिसँगै सबल व्यवस्थापन आवश्यक पर्दछ ।

रुपन्देही धेरै विषयमा सबल छ । खेलकूदमापनि अग्रसरनै छ । यहाँ धेरै उद्योगी–व्यवसायी छन् । विशेषगरी उपमहानगरकै संरक्षकत्व छ । तर, किन आर्थिक तथा व्यवस्थापनमा कमी ?
–हो तर, अधिकांश उद्योगी–व्यवसायीहरुले यसतर्फ रुचि नै दिनुभएको छैन । उपमहानगरले केही बजेट मात्र प्रदान गर्दछ । यदि यहाँका उद्योगी र व्यवसायी संघसंस्था अनुसार सामाजिक कार्य र खेलकूदप्रति सहयोग र साथ हुने भने अझै भव्य, ठूलो र चर्चित प्रतियोगिताको रुपमा सञ्चालन गर्न सकिन्छ ।

२१ औं संस्करणका लागि अनुमानित बजेट कति छ र स्रोत के–के हुन् ?
–यस प्रतियोगिताका लागि करिब एक करोड अनुमानित खर्च छ । बुटवल उपमहानगरको अािर्थक सहयोग ,प्रायोजक,टिकट,स्थानीय तह, विभिन्न संसंस्थाहरुको अनुदान नै प्रतियोगिताका आय स्रोत हुन् ।

अहिले त धेरै स्थानीय तहहरु छन् , प्रायोजन मुल्यपनि धेरै राख्नु भएको छ । समस्या नहोला नि ?
– (दुःखी हुँदै) मैले पहिलेपनि भने यहाँका उद्योग,व्यवसाय स्थानीय तह अनुसार र प्रतिनिधि अनुसार साथ र सहयोग हुने भने कुनै समस्या नै हुँदैन । तर, हामीलाई आवश्यक बजेट जुटाउन, अन्य स्रोत जुटाउन हम्मे–हम्मे छ ।

अहिलेको प्रतियोगितामा कुन–कुन टिम सहभागी छन् ?
–यस संस्करणमा एपिएफ क्लब,झापा–११,दाफिन्स एफसी क्यामरुन,सनसरी–११,लाली रुपन्देही–११, च्यासल यूथ क्लब,सिएमजी संकटा क्लब,सिग्नेचर मनाङ मर्यास्याङ्गदी ,ब्रोदर युनाइटेड भारत र नेपाल पुलिस कलब रहेका छन् ।

प्रतियोगितामा विजेता,उपविजेता लगाएत विभिन्न विधामा उतकृष्ट हुनेहरुको लागि के कस्तो पुरस्कार रहेका छन् ?
–प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल/स्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्नेछन् ।

खेलप्रेमीहरुलाई प्रतियोगिताको अवलोकनका लागि कस्तो व्यवस्था रहेको छ ।
–प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागिसँगै दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । आउनजानका लागि सार्वजनिक यातायातको पनि व्यवस्थापन गरेका छौं । त्यसैगरी करिब ५ हजार दर्शक अट्ने प्याराफिट पनि निर्माण गरेका छौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।