ताजा अपडेट »

बुटवल-नारायणगढ सडक बिस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विहीबार, ३१ जेठ २०८१, १९ : ३७
172 Shares
विहीबार, ३१ जेठ २०८१
172 Shares

भैरहवा । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समयमै सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) को नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ध्यानाकर्षण पत्र बुझाउँदै गुप्ताले अब सरकारले सडक निर्माण कार्य सम्पन्न गर्न तदारुकता देखाउनुपर्ने माग गरे । पटक–पटक म्याद थपेर मात्र समस्याको समाधान हुन सक्दैन भन्ने कुरा आफूहरुले बुझिसकेको उनले बताए ।

बुटवल–नारायणगढ सडकको अवस्थाका कारण यात्रुहरु जोखिम नै मोलेर हिँडिरहेको उनको भनाइ छ । सडकको दुरवस्थाका कारण बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा समेत कमी आएको गुप्ताले बताए । ‘सडक विभाग र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनबीच २०७५ माघ २४ गते सम्झौता हुँदा २०७९ साउन २२ सम्म सडक निर्माण कार्यसम्पन्न गर्ने शर्त थियो । विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पुनः म्याद थप गराएको छ । निर्माण कम्पनीको यही व्यवहार रहे ठेक्का तोडेर सडक निर्माणको जिम्मा अरु कम्पनीलाई दिनुपर्छ, ’ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

निर्माण कम्पनीले सुस्त गतिमा काम अघि बढाउँदा थपिएको अवधिमा पनि काम पूरा नहुने पक्का भएको र ठेक्का सम्झौताअनुसार करिब २१ महिनाअघि नै सकिनुपर्नेमा दुईपटक गरेर करिब दुई वर्ष म्याद थप हुँदा पनि आधा काम बाँकी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विभिन्न कामले संघीय राजधानी काठमाडौं जाने र त्यहाँबाट फर्कने यात्रुहरु र बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत बसोबास गर्ने नागरिक बढी मारमा परेको उनले बताए ।

सडक निर्माण कार्य सम्पन्न गराउनतर्फ सरकारले ध्यान नदिए आन्दोलनका कार्यक्रममा जान समेत बाध्य हुने गुप्ताले चेतावनी दिए । ध्यानाकर्षण पत्र बुझाउन लोसपा केन्द्रीय सदस्य गुप्ताको नेतृत्वमा पार्टीका नेताहरु सुरेन्द्र हरिजन, विश्वनाथ राय, पंकज दुवे, टिल्लु चौधरी बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेको थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएकोबारे आफूले चासो लिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।