उनी सामाजिक कार्यकर्ता थिए । लामो समयसम्म गाउँमा रहेका विभिन्न सामाजिक एवम् गैरसरकारी संस्थाहरुमा आफ्नो जीवनको आधा उमेर समर्पण गरे । गाउँको विकासविना देशको विकास सम्भव नहुने उनको ठहर थियो । गाउँमै उनीहरु मिलेर खोलेको समाज उत्थान सहयोग केन्द्र नामक सामाजिक संस्था, उनको कामलाई सबैका माझ पुराउने गतिलो माध्यम बन्यो ।
बालअधिकार एवम् संरक्षण र सम्वर्द्धन अनि कृषि, पशुपालन, मानवीय क्षमता अभिवृद्धिका क्षेत्रमा उनले काम गरिरहे । संस्थालाई आफ्नै नेतृत्वमा हिँडाले । गाउँका हरक्षेत्रमा उनको संस्था सहयोगी बन्यो । स्थानीय युवाहरुलाई रोजगार दियो । गाउँलेहरुलाई चेतनाको ज्वाला फुक्न लगायो र ज्ञानको ज्योति बालिरह्यो ।
स्थानीय निकाय नरहँदा समेत उनको संस्थाले सरकारी काममा सघायो । गाउँको आवश्यकता पूर्ति गर्ने काममा पछि परेन । जनताका घरदैलामा कामको दौरानमा पुग्यो । पूर्वीपाल्पामा रहेका विभिन्न संघसंस्थाहरुसँग हातेमालो गरेर अघि बढिरह्यो । देश, विदेशका सरकारी एवम् गैरसरकारी संस्थाहरुसँग मिलेर काम गरेको उनको संस्थाले पाल्पाका विभिन्न गाउँहरुमा पुगेर शिक्षा, स्वास्थ्य, बालअधिकार, स्थानीय विकास र मानवीय क्षमता अभिवृद्धि गर्ने काममा विशेष सघाएको थियो । उनले आफ्ना सामाजिक परिचालक र आफूसँगै रहेर सहयोग गरेको पनि उनको मन, मस्तिष्कमा ताजै छ ।
पूर्वीपाल्पाको देवीनगर यतिबेला पूर्वखोला गाउँपालिकाको वडा नं.४ मा पर्छ । सोही वडाको वडाध्यक्ष एवम् पालिकाको प्रवक्ता छन् मेहरसिं थापा । उनी यतिबेला राजनीतिक कर्ममा व्यस्त छन् । आफ्नो पालिकालाई नमूना पालिका बनाउने अभियानमा निरन्तर गतिशील उनी सामाजिक जीवनमा सिकेका कुराहरुलाई राजनीतिक भूगोलमा प्रयोग गर्दैछन् । सामाजिक क्षेत्रमा सरलता छ भने राजनीतिमा बक्ररेखा भेट्छन् । तैपनि राजनीतिले नै समाज डोराउने कुरामा विचलित छैनन् उनी ।
उमेरले भरखरै आधाशताब्दी कटेका उनले जीवनमा सामाजिक संघसंस्थामा रहेर शताब्दीभरमा सिक्न नसकिने काम सिकिसकेका छन् । अनुभवका श्रृङ्खलामा समाजलाई उनेका उनले समाजबाटै सिक्न सकिने प्रशस्त विषयवस्तु रहेको बताउँछन् । २०५८ मा चुनिसरासँग विहे गरेका उनले गाउँमै विभिन्न खालका आम्दानी बढाउने खालका कार्यक्रम थालेका छन् । बंगुरपालन, कृषि, शिक्षामा लगानी गरेका उनले श्रीमतीको साथ र सहयोगले अघि बढ्ने हौशला मिलेको बताउँदै थिए ।
यतिबेला मेहरसिं थापा आफ्नो वडाको बजेटलाई सतप्रतिशत् कार्यान्वयन गर्ने अभियानमा छन् । त्यतिमात्र होइन, पालिका बाहेक प्रदेश, संघीय र सहयोगी दातृ संघसंस्थाले दिएका सहयोग राशीलाई समेत समयमै सम्पन्न गर्ने कार्यमा एकनाशले जुटेका छन् । उनका वडाका जनप्रतिनिधि साथीहरु रेवती घर्तिमगर, भुवन सिंजाली मगर, रवीनकुमार श्रेष्ठ र लक्ष्मी विकसमेत कटिवद्ध भएर वडाका विकासमा कर्मशील छन् । उनीहरुको साथ र सहयोगले नै आफ्नो वडाले भौतिक, शैक्षिक, मानवीय विकास, कृषि स्वास्थ्य, पर्यटन विकासमा उन्नति र प्रगति गर्न सम्भव रहेको मेहरसिंले बताए ।
जीवनमा धेरै कामका थालनी गरेपनि टुंगोमा पुराउन नसक्दाको पीडा मेहरसिंले भोगेका छन् । उनी भन्छन्–सोचेजस्तो जीवन रैन्छ । अनेक हण्डर आइपर्दा रहेछन् । चाहे त्यो भित्री वा बाहिरी किन नहोस् ।
यतिबेला उनी कार्यालय समयवाहेक विहान साँझ र छुट्टीको समयमा गाउँ परिक्रममा गर्छन् । उनी कहिले पैदल यात्रा र कहिले भटभटेमा घरदैलोमा पुग्छन् । गाउँमा मतदाताहरुसँग दुःख, सुखका कुरा गर्दारहेछन् । गाउँलेहरुका साझा समस्याहरु बुझ्दा रहेछन् । समाधानका लागि आफ्ना साथीहरुसँग सरसल्लाह गर्दारहेछन् ।
उनीसँगै मपनि उनकै गाउँ घुमें । उनले मलाई भेजा चढाउने ठाउँ पुराए । वडाले डाँडोमा सम्माएर भेजा चढाउने मन्दिर बनाउने, पूजाआजा गर्ने र ढोलीमारा होमस्टे पुग्ने पर्यटकहरुलाई ल्याउने योजना रहेको सुनाए । आफूले कल्पना गरेको उक्त डाँडोलाई पर्यटकीय गन्तव्य बनाउने सपना सुनाए । उनको कुरा सुनेपछि मलाई मज्जा लाग्यो । सपना सत्य लाग्यो । सोही ठाउँबाट पारिपट्टि बेसर्घा र ढोलीमारा गाउँ राम्रा देखिने रहेछन् । बहादुरपुर जाने बाटो सहजै देख्न सकिने रहेछ ।
उनले खुर्सानी खेती र सुन्तला खेती भएको ठाउँमा पुराए । गाउँलेहरुले सोही खेतीबाट आम्दानी गरेका र गर्दै आएका मिठा कुरा बताए । आफ्नो गाउँमा कृषि, पशुपालन र पर्यटनबाट विकास सम्भव रहेको समेत उल्लेख गरे । किसानका कुरा सुन्दैथिए कतै । कतै पशुपालकहरुसँग पशु विक्रीवितरणका कुरा सोध्दैथिए । असली जनप्रतिनिधि रहेछन्भन्ने कुरा उनीसँगै घुमेपछि अनुभव गरें ।
गाउँकै सीमसार क्षेत्र घुमाएर पोखरी बनाइ माछा पाल्ने कुरा गरे । आफ्नो गाउँको कृषि अन्नभण्डार पुराए । खेतको बीचमा बाटो लगेर साधनको पहुँच पुराएको देखियो । भुरेटाकुरे राजाको दरबार रहेको डाँडो देखाए टाढैबाट । तीनतरिबाट आएको पानीको मुहानलाई थुनेर ड्यामसाइड बनाई पौडी पोखरी र डुंगा चलाउने उनको वृहत् योजनामा उनका साथी हरिबहादुर सारुसमेत सहमत रहेछन् ।
मेहरसिं थापाले स्नातकसम्म पढे । कामको दौरान र घरव्यवहारको कारण स्नातकोत्तर पूरा गर्न भ्याएका छैनन् । शालीन राजनीति गर्न रुचाउने मेहरसिं, आफ्नो पार्टीमा जिल्लास्तरीय नेता छन् । आफ्नो वडाको सर्वाङ्गीर्ण विकासमा दिनरात कटिवद्ध उनी समयले दिएको जस्तोसुकै जिम्मेवारी सहजै बोक्न सक्ने खुवी राख्छन् । यी सबै उनको क्षमता, योग्यता र प्रतिभा हुन् ।
ग्रामीण परिवेशमा जन्मि हुर्किएका उनले गाउँकै माटोलाई माया गर्दै आएका छन् । दुई सन्तानका पिता उनकी छोरी श्रृष्टिले हेल्थ असिस्टेण्ट उत्तीर्ण गरेर गाउँकै स्वास्थ्य चौकीमा सेवा दिएकी छन् । छोरोले भेटेनरी विषयमा डिप्लोमा पढ्दैछन् । उनकी जीवनसँगीनी चुनिसरा गाउँमै बंगुर, बाख्रा पालेकी छन् । स्टेशस्नरी पसल देवीनगर बजारमा राखेकी छन् र स्थानीय महिला सहकारीको अध्यक्ष भएर नेतृत्व दिइरहेकी छन् ।
सर्लक्क परेको जीउडाल, हँसिलो अनुहार, फरासिलो बोली, मैत्रीपूर्ण व्यवहार मेहरसिंका पहिचान हुन् । मेहरसिं भनेपछि गाउँलेहरु पनि हुरुक्कै हुँदा रहेछन् । सबैलाई समान व्यहार गर्न रुचाउने मेहरसिं सबैका आँखाका नानी रहेछन् । मिहिनेती मेहरसिंको कथा सबैका लागि उत्प्रेरक लाग्नेछन् ।
प्रतिक्रिया