ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः तामाङ

शनिबार, २६ जेठ २०८१, १७ : ५०
196 Shares
शनिबार, २६ जेठ २०८१
196 Shares

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन् ।

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन् । “हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उनले भने ।

यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए । यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उनले विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरुलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले अब यसमा सरकारले काम गरिरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।