ताजा अपडेट »

मधेश प्रदेशमा सरकार गठनका लागि आज विहान दाबी पेस हुँदै

शुक्रबार, २५ जेठ २०८१, ०६ : ५४
68 Shares
शुक्रबार, २५ जेठ २०८१
68 Shares

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकारका लागि ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गर्ने भएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेको हो । मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बसेको ६ वटै दलको बैठकले आज विहान ७ बजे सरकारको दावी पेश गरिने निर्णय गरेको थियो ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष विहान ७ बजे दावी पेश गरिने जानकारी दिए । उनका अनुसार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम हुनेछ ।

प्रदेशका ६ दलीय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ । जनमतले सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । सिंह सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

स्रोतका अनुसार नेकपा एमालेले चार मन्त्रालय, जनमतले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, माओवादी र नेकपा एसले २/२ मन्त्रालय लिने सहमति भएको छ ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि बुधवार राति प्रदेश प्रमुख भण्डारीले शुक्रवार विहान १० बजेसम्मको समय दिँदै नयाँ सरकारको आह्वान गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।