ताजा अपडेट »

एमाले रुपन्देहीको १० औं अधिवेशन भैरहवामा सुरु

बुधबार, २३ जेठ २०८१, १४ : ३१
146 Shares
बुधबार, २३ जेठ २०८१
146 Shares

भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको १० औं अधिवेशन भैरहवामा आजदेखि सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि अस्वस्थताका कारण उनी आउन नसकेको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए । उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ ।'

Messenger_creation_cb1a45d0-5f83-4b6e-872c-54c16ce1d6b6

अधिवेशन व्यवस्थित गर्नको लागि पार्टीको जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए । जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ जना संगठित पार्टी सदस्य र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् । 

अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी दावेदारको रूपमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।