काठमाडौं । चाबहिलमा एकजना पुरुषले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिंहले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्याएको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् छन् ।
चञ्चलले यसअघि पनि रक्सी खाएर श्रीमीसँग झगडा गर्ने र पटकपटक मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमान्ले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् । प्रहरी पुगेर चञ्चललाई सम्झाएर फर्किएको थियो ।
प्रतिक्रिया