ताजा अपडेट »
अटोमोबाईल

विश्व प्रसिद्ध ब्रान्ड रेन्ज रोभर अब भारतमा उत्पादन हुने, १८ देखि २२ प्रतिसत सम्म सस्तो हुन सक्ने

आइतबार, २० जेठ २०८१, २३ : ३७
96 Shares
आइतबार, २० जेठ २०८१
96 Shares

एजेन्सी । विश्वभर प्रसिद्ध ब्रान्ड रेन्ज रोभर अब भारतमा पनि उत्पादन हुने भएको छ । बेलायती कम्पनी जगुआर ल्यान्ड रोभरको स्वामित्वमा रहेको लग्जरी कार १९७० पछि बेलायतबाहिर पहिलो पटक उत्पादन हुन लागेको हो । भारतीय कम्पनी टाटाको पनि लगानी रहेको यो कम्पनीले हालसम्म बेलायतको सोलीहुलबाट उत्पादन गर्दै आएको छ।

अब भारत रेन्ज रोभरको ‘सीकेडी युनिट’ निर्माण गर्ने बेलायतवाहेक पहिलो विदेशी राष्ट्र बन्नेछ । यस अन्तर्गत कम्पनीले अन्य क्षेत्रबाट लज पार्टहरु आयात गरी मेनुफेक्चरिङ युनिटमा असेम्ब्लिङ र प्रडक्सन गर्न सक्छ । यसले गर्दा भारतमा अब यो कारको मूल्य पनि सस्तो पर्नसक्ने बताइन्छ ।

२२ प्रतिशतसम्म सस्तो हुनसक्नेछ

जगुआर ल्यान्ड रोभरका वरिष्ठ कार्यकारी अधिकारीहरुले यो कारको मूल्य अहिलेको तुलनामा १८ देखि २२ प्रतिशत सस्तो पर्नसक्ने बताएका छन् । २०११ देखि भारतको पुणेको चाकनस्थित जगुआर ल्यान्ड रोभर प्लान्टमा पहिलेदेखि नै रेन्ज रोभर भेलार, इभोक, जगुआर एफ पेस र डिस्कभरी स्पोर्टका केही भर्सनहरु एसेम्लिङ गर्दै आएको छ । जहाँ करिब १० वटा जगुआर ल्यान्ड रोभर कम्पनीका कारहरु एसेम्बलिङ भइसकेका छन् ।

आर्थिक वर्ष २०२३/२४ मा भारतमा कारहरुको बिक्री ८१ प्रतिशत बढेपछि जगुआर रेन्ज रोभर कम्पनीले अरु दुईवटा मोडेलका कारहरु उत्पादन गर्ने तयारी गरेको हो । यससँगै स्थानीय उत्पादनदेखि रेन्ज रोभरको भारतमा भइरहेको माग पूरा गर्न सजिलो हुने पनि कम्पनीले अपेक्षा गरेको छ ।

यसैबीच अब भारतमा उत्पादन हुने रेन्ज रोभर र रेन्ज रोभर स्पोर्टमा ३ लिटरको टर्बो पेट्रोल र डिजेल इन्जिनको अप्सनको सुविधा पनि हुने बताइएको छ । यसवाहेक रेन्ज रोभरका केही भर्सनहरुमा ४.४ लिटरको V-8 पेट्रोल इन्जिन पनि उपलब्ध छ । जुन भारतमा निर्माण हुँदैन । रेन्ज रोभरका सबै कारहरु अल ह्विल ड्राइभ अप्सनसँगै आउँछन् ।

हालसम्म ल्यान्ड रोभर कम्पनीले रेन्ज रोभर, रेन्ज रोभर स्पोर्ट, रेन्ज रोभर भेलार र रेन्ज रोभर इभोक उत्पादन गर्दै आएको छ । यसवाहेक रेन्ज रोभरले फूल इलेक्ट्रिक एसयूभी पनि तयार गरिरहेको छ । जसलाई २०२४ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी छ । यसपछि अल इलेक्ट्रिक रेन्ज रोभर स्पोर्ट २०२५ सम्ममा लन्च गर्ने बताइएको छ । तर यी कार बेलायतमै उत्पादन हुनेछन् ।

जगुआरका लागि ब्याट्री बनाउँदै टाटा

भारतको पुरानो र प्रतिष्ठित कम्पनी टाटा समूहले बेलायतमा ग्लोबल ब्याट्री सेल गिगाफ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको थियो । जहाँ टाटाले कम्पनी जगुआर ल्यान्ड रोभरसहित अन्य कम्पनीका लागि ब्याट्री उपलब्ध गराउने छ । यसका लागि टाटाले ४ बिलियन पाउन्ड स्टर्लिङ अर्थात् करिब ४२ हजार भारतीय रुपैयाँभन्दा पनि धेरै लगानी गर्ने बताएको थियो । यदि उक्त ब्याट्री उत्पादनको काम भएमा युरोपमा यस्तो कम्पनी खोल्ने टाटा नै पहिलो र ठूलो कम्पनी हुनेछ ।

२००८ मा टाटाले जगुआर ल्यन्ड रोभर खरिद गरेको थियो । जतिबेला फोर्ड कम्पनी फोर्ड घाटामा डुबेको थियो । टाटाले भने फोर्डको लग्जरी ब्रान्ड जगुआर ल्यान्ड रोभर खरिद गर्ने निर्णय गरेको थियो । यो बोलकबोल २.३ अर्ब डलर मा भएको थियो ।

त्यसपछि टाटा मोटर्सको जगुआर ल्यान्ड रोभर युनिटले निरन्तर आफ्नो सशक्त व्यापार गरेको छ । २०२३/२४ को जनवरीदेखि मार्चसम्म पहिलो चौमासिकमा ११ प्रतिशत व्यापार बढायो । यस अवधिमा ७ अर्ब ९० करोड पाउन्ड स्टर्लिङ अर्थात् ८३ हजार करोड रुपैयाँले व्यापार बढायो । साथै आर्थिक वर्ष २०२३ २४ को एक वर्षको अवधिमा यस कम्पनीले २९ अर्ब पाउन्ड अर्थात् ३ लाख करोड भारुको रेभेन्यु संकलन गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।