ताजा अपडेट »

टी-२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाको विजयी सुरुवात

आइतबार, २० जेठ २०८१, १० : ५६
242 Shares
आइतबार, २० जेठ २०८१
242 Shares

अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो ।

१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक/एक विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।

समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।