ताजा अपडेट »

सुरुभयो टी२० विश्वकप : पहिलो खेलमा आयोजक अमेरिका र क्यानडा प्रतिस्पर्धा गर्दै

आइतबार, २० जेठ २०८१, ०७ : २२
148 Shares
आइतबार, २० जेठ २०८१
148 Shares

अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ आजदेखि अमेरिकामा सुरु भएको छ ।  उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो । क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।

अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् । जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ । उता कोरी एन्डरसन न्युजिल्यान्डका पूर्व चर्चित अलराउण्डर हुन् । आक्रामक ब्याटिङ अलराउण्डर कोरीको आगमनले अमेरिका झनै मजबुत बनेको छ । स्टिभ टेलर, आरोन जोन्स र कोरी प्रमुख ब्याटर हुन् । अमेरिकाले घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउनेछ ।

क्यानडाका आरोन जोनसन, निकोलस किर्टोन र रविन्द्रपाल सिंह प्रमुख तीन ब्याटर हुन् । स्पिनर साद बिन जाफर, तीव्र गतिका बलर कलिम साना डिलोन हेलिगर प्रमुख बलर हुन् । पछिल्लो समयको प्रदर्शनले क्यानडाको मनोबल उच्च छ ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।