ताजा अपडेट »

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारा दुर्घटना न्युनिकरणका लागि नियमित सचेतना

शनिबार, १९ जेठ २०८१, २० : ००
68 Shares
शनिबार, १९ जेठ २०८१
68 Shares

बुटवल । नियमित रुपमा संचालन गरिएको दुर्घटना न्यूनिकरण कार्यक्रमले सकारात्मक प्रभाव पारेको सरोकारवाला निकायका प्रतिनिधीले दाबी गरेका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले २०६६ सालदेखि नियमित रुपमा संचालन गरेको चालक र सहचालक प्रशिक्षणका कारण सवारी ब्यवस्थापन र दुर्घटना न्यूनिकरणमा टेवा पुगेको उनिहरुको भनाई छ ।

दुर्घटना न्युनिकरण र चालकको व्यवहार परिवर्तन गरी यात्रु मैत्री र जिम्मेवार नागरिक बनाउने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी प्रालिले यातायात मजदुरहरुलाई निरन्तर प्रशिक्षण दिँदै आएको छ । प्रशिक्षण दिँदै प्रमुख प्रशिक्षक एवं ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले लापरवाही कै कारण बढी दुर्घटना हुने गरेको कुरामा जोड दिईन् । तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, मोबाइलको प्रयोग, गलत दिशाबाट ओभरटेक गर्ने जस्ता कारणले दुर्घटना हुने गरेको निरिक्षक पाण्डेको भनाई छ । ठूलो संख्यामा यात्रुको जिम्मेबारी लिएर सवारी साधन चलाउने चालकहरुले जिम्मेबार र ईमान्दार भएर आफ्नो सवारी साधन चलाएमा दुर्घटना न्यूनिकरण हुने बताइन् ।

हालसम्म करिब ८ हजार जना चालक र सहचालकलाई पश्चिम नेपालले प्रशिक्षण दिएको जानकारी दिँदै प्रशिक्षण कार्यक्रमका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्मको प्रशिक्षणले १५ प्रतिशत दुर्घटना कमी आएको दाबी गरे । प्रशिक्षण लिईसकेपछि व्यवहारमा लागू गरेका छन् कि छैनन् भन्ने बुझन् प्रा.लि.ले चेकजांच गर्ने गरेको र लागु नगर्नेलाई आन्तरिक कारबाही गर्नुका साथै नियमित रुपमा सुरक्षित यात्रा गराउने चालकलाई नगद सहित सम्मान र पुरस्कार दिने गरिएको संयोजक घिमिरेले जानकारी गराए ।

बिगतका महिनामा जस्तै २ दिनसम्म संचालन भएको सो प्रशिक्षण कार्यक्रममा पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु मोहन पिएस, जितेन्द्र खत्री, नारायण भण्डारी लगाएतले सवारी दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका साथै प्रा.लि.लाई बस मालिक, चालक र सहचालक सबैको साझा संस्था बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनिकरण मात्र नभै चालक तथा सहचालकहरुको हकहित संरक्षणका लागि २२ लाखसम्मको बिमा लगाएतका सुबिधाहरु समेत ब्यबस्था गरिएको संचालकहरुको भनाई थियो ।

नेपालमा सवारी दुर्घटनाबाट वर्षेनी करिब २८ सय जनाको मृत्यु हुनुका साथै १२ हजार ५ सय जना घाइते हुने गरेका छन् । विश्वमा दैनिक ३ हजार बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाउँछन् भने वार्षिक २ करोड बढी घाइते हुने गरेको तथ्यांक छ । यसरी ठूलो जनधनको क्षति हुने सवारी दुर्घटनाका विभिन्न कारण मध्ये चालकको लापरवाही र हेलचेक्राई प्रमुख हुने गरेको आरोप छ । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ प्रा.लि.मा आवद्ध बसका चालक, सहचालकहरुलाई पालैपालो ट्राफिक प्रहरी र यातायात क्षेत्रका विज्ञहरुबाट नियमित प्रशिक्षण दिने गरेको हो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।