ताजा अपडेट »

बुटवलको इन्द्रेणी सहकारीले विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याउँदै

शनिबार, १९ जेठ २०८१, १२ : ५५
510 Shares
शनिबार, १९ जेठ २०८१
510 Shares

बुटवल । विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । यही जेष्ठको मसान्तभित्र सञ्चालनमा ल्याउनेगरी आवश्यक पूर्वाधार निर्माण तथा मेशिन जडानको काम भैरहेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।

बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा कार्यालय रहेको सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’सहितको स्टेशन सञ्चालनमा ल्याउन लागेको हो । पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेशनबाट दैनिक ८०/९० बढी सवारीका साधानलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्ने छन् ।

‘आधुनिक सफ्टवयर मार्फत संचालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुबिधा सहित ६० किलोवाट क्षमताको सीसीएस-२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका २ वटा मेशिन जडान गर्नेछौं ।’–अध्यक्ष अर्यालले भने, ‘एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्नेगरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुनेछ ।’ आवश्यकता अनुसार चार्जिङ्ग मेशिन सङ्ख्या थप गर्दै लैजाने योजनामा रहेको उनले बताए । स्टेशनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेका छन् भने बुटवलका अन्य सवारीधनीहरुसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीका उपाध्यक्ष माया गौतमले जानकारी दिइन् । स्टेशन सञ्चालनका लागि विद्युत प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आरामकक्ष तथा चमेन गृहलगायतका संरचनाहरु निर्माण गर्न करिब १ करोड लगानी गरिएको उल्लेख गरिन् ।

पछिल्लो समय सहकारी संस्थाहरुले आर्थिक अपचलन गरेर बदनामी कमाइरहेका बेला आफूहरुले गरेको फरक प्रयासले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको गौतमले बताइन् । बहुउद्देश्यीय सहकारी भएका कारण विभिन्न ५ क्षेत्रमा लगानी गर्न मिल्नेगरी संस्थाले विनियम तयार पारखेको जानकारी गराउँदै उनले भविष्यमा अन्य क्षेत्रहरुमा समेत लगानी गरेर सदस्यहरुलाई उद्यमी बनाउने योजनामा रहेको उल्लेख गरिन् ।

सहकारीमा हाल २०४८ सदस्य आवद्ध रहेका छन् भने १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ सेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको छ । संस्थाको साढे ३ कट्ठा जग्गासहित सुविधासम्पन्न आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।