ताजा अपडेट »
महिला जनप्रतिनिधिका कुरा

गाउँकै मुहार फेर्न तल्लीन हेमकुमारी

शनिबार, १९ जेठ २०८१, ०७ : ३५
326 Shares
शनिबार, १९ जेठ २०८१
326 Shares


दलबहादुर गुरुङ
२०७४ र २०७९ को स्थानीय निर्वाचनमा उनी वडा सदस्यका रुपमा विजयी भइन् । दुबैपटक कार्यपालिका सदस्य बनिन् । गाउँको नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने तहमा पुगिन् । गाउँको सर्वाङ्गीर्ण विकासमा आफ्नो ज्ञान, सीप, क्षमता प्रयोग गर्दै आइरहेकी छन् । घरमा एकसरो उनी घरव्यवहार भ्याएर गाउँका हरेक कार्यक्रममा पुग्छिन् । आफ्नो समय समर्पण गर्छिन् । विकास निर्माणमा हातेमालो गर्छिन् । हेमकुमारी सुनारी मगरले समयलाई बुझेकी छन् । समयकै गतिमा बगेकी छन् । गाउँघरका समस्याहरुलाई नजिकबाट नियालेकी छन् । समाधानका बाटाहरु पहिल्याइएकी छन् ।

आन्तरिक राजस्व परामर्श तथा शिक्षा समितिमा रहेर यतिबेला काम गरिहेकी छन् । आफ्नो गाउँको आन्तरिक राजस्व अभिवृद्धि गर्नेमा उनको ध्यान  तन्किरहन्छ । अर्थविना गाउँ विकास सम्भव नभएको उनको ठहर छ । गाउँमा उद्यमशीलता र औद्योगिकीकरण हुन सकेमा आन्तरिक राजस्व बढ्न सक्ने उनको तर्क छ । शिक्षाविना गाउँको विकास अधुरो र अपुरो हुने भएकोले शैक्षिक उन्ननयनका लागि आफ्नो समितिले निःशुल्क र अनिवार्य शिक्षामा जोड दिएकी बताइन् । गाउँमा कुनैपनि ब्यक्ति निरक्षर नहोउन् उनको सपना छ । निरक्षरहरुलाई साक्षर बनाउनका लागि सबैले पहल गर्नुपर्नेमा उनको अत्यधिक जोड छ ।

पाल्पा निस्दीको काउलेडाँडामा अम्रिसो क्रान्तिले ल्याएको समृद्धि देशकै उदाहरण हो । कबुलीयती वनको इतिहासमा उक्त स्थानले नयाँ आयाम थपेको भेटिन्छ । यतिबेला यो गाउँका लागि अम्रिसो अमृत सावित भएको छ । पर्यटकीय गन्तव्यका रुपमा प्रचारमात्र होइन प्रशिद्धि कमाएको निस्दीले देश, दुनियाँलाई चकित तुल्याएको छ । हेमकुमारी थप्छिन्–आर्थिक समृद्धिको आधार, पर्यटन विकास नै हुने भएकोले निस्दीका डाँडाकाँडालाई हीलस्टेशनका रुपमा विकास गर्न सकिएमा आन्तरिक एवम् बाह्य पर्यटकको घुँइचो लाग्न सक्थ्यो र गाउँको मुहार नै फेर्न सकिन्थ्यो ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनबाट विकटमा पर्ने निस्दी गाउँपालिकाको भूगोलले विकासलाई चुनौती दिइरहेको अवस्थामा सडकसञ्जाल, विद्युतीकरण, कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर गर्ने कार्यक्रमले प्राथमिकता पाउँदैछ । त्यतिमात्र होइन पर्यटन प्रवद्र्धनको सहयोगमा निस्दीलाई देशकै नमूना पालिका बनाउन दीर्घकालीन योजना बनाउने सोचमा आफ्नो पालिका रहेको उनले सुनाइन् ।

गाउँका दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउने क्रियाकलापमा सहभागी गराउन कम्मर कसेर लागेकी छिन् । कहिले अचार बनाउने तालिममा अग्रसर बनाएकी छिन् । कहिले दिदीबहिनीहरुलाई सिलाइकटाइ र बुनाइमा सहभागी गराएकी छिन् । कहिले खादा बुनेर सादा जीवनलाई आर्थिक रुपमा रङ्गिन गराउने अभियानमा जुटेकी छिन् । गाउँले जनप्रतिनिधिका रुपमा निरन्तर खटिएकी हेमकुमारीले जनताको मन बुझाउन कठिन रहेको कुरा सुनाइरहँदा जनता खुसी कहिले र केले होलान् ? सोध्न मन लागिरहेको छ ।

समाज,ब्यक्ति केन्द्रीत हुन थालेपछि प्रगतिले नथेग्ने उनको तर्क राम्रै लाग्यो । विकास,सबैका लागि र सधैंका लागि हुन नसक्दा देशले फड्को मार्न नसक्ने सबैले जानेकै कुरा हुन् । भौतिक निर्माणलाईमात्र विकासको मेरुदण्ड मान्ने हाम्रो समाजले मानवीय विकास र उद्यमशीलतामार्फत समाज परिवर्तन गरी उन्नति र प्रगति दीगो बनाउन सकिन्छ भन्ने कहिले नसोचेको उनको प्रश्नमाथि गहिरो समाजशास्त्रीय चिन्तन रहेको सबैले अनुमान गर्न सकिन्छ ।

सबैसँग मिल्न सक्ने खुवी, समस्यालाई नजिकबाट नियाल्न सक्ने क्षमता र गतिशीलताले नै उन्नति गर्न सकिन्छ भन्ने सकारात्मक सोचकी धनी हेमकुमारीले गाउँघरमा रहेर महिला सशक्तिकरण, महिला उद्यममा समेत जोड दिँदै आएकी छन् । गाउँघरमा हुने बालविवाहलाई न्यूनीकरण गर्न पहल गरेकी छिन् । अभिभावक शिक्षामा जोड दिएकी छिन् । महिला हक, अधिकार र कर्तव्यमा आफ्नो पूरै जीवन समर्पण गरेकी छन् ।

थोरै साधन, स्रोतमा असीमित विकास गर्न कठिन हुने भएकोले सबै कुरा स्थानीय जनताहरुलाई बुझाउनु पर्ने उनको तर्क छ । समाजसेवाका लागि राजनीतिमा होमिएकी उनको माइतीघर नै उनका लागि राजनीतिक पाठशाला रह्यो । सबै नीतिको जरो राजनीति भएको उनले सजिलै बुझेकी छिन् । बाँचुञ्जेल समाजसेवा गर्ने चाहना राखेकी हेमकुमारीले समाजलाई राम्रोसँग बुझ्न नसकेमा सामाजिक विकास सम्भव नहुने बताइन् । उनले भनेकी थिइन्–समाज मेरो राजनीतिक विश्वविद्यालय हो ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार