ताजा अपडेट »

अभिभावक उत्प्रेरणा तथा अभिमुखीकरण

शुक्रबार, १८ जेठ २०८१, १९ : ३३
112 Shares
शुक्रबार, १८ जेठ २०८१
112 Shares

तिलोत्तमा । साविकको टिकुलीगढ गा.वि.स. अन्तर्गतका सामुदायिक विद्यालयका लागि तीन दिनसम्म रूपन्देहीको तिलोत्तमा १३ र १४ मा सञ्चालित “अभिभावक उत्प्रेरणा तथा अभिमुखीकरण” कार्यक्रम आज (शुक्रबार) समापन भएको छ ।

तिलोत्तमा नगरमा क्रियाशील टिकुलीगढ सिकाई केन्द्रको आयोजना र टिकुलीगढ शैक्षिक मञ्चको संयोजनमा सञ्चालित कार्यक्रम आज (शुक्रबार) जनता माध्यमिक विद्यालय तीनधुरामा पछिल्लो प्रशिक्षण सहित समापन गरिएको हो ।

टिकुलीगढ सिकाई केन्द्रका अध्यक्ष श्यामलाल खरेलको अध्यक्षतामा सञ्चालित पछिल्लो दिनको प्रशिक्षण उद्घाटन् गर्दै तिलोत्तमा – १३ का वडाध्यक्ष नारायण ढकालले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि अभिभावक लक्षित कार्यक्रम अत्यन्त प्रसंशनीय भएको बताए ।

कार्यक्रममा, उत्प्रेरणा प्रशिक्षक एवम् राममणि बहुमुखी क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेले संस्कारयुक्त शिक्षित सन्ततिका लागि पारिवारिक परिवेशको महत्वबारे उदाहरण र अन्तक्र्रियासहित सहजीकरण गरे।

जनता मा.वि.का प्रधानाध्यापक प्रचण्ड जि.सी.को सञ्चालन र विद्यालय व्यस्थापन समितिका अध्यक्ष शोभाखर चापागाईँको स्वागतमा भएको कार्यक्रमका शिक्षक अभिभावक संघका अध्यक्ष चोपलाल बस्याल लगायतले बोल्दै जनता मा.वि.ले उत्पादन गरेका प्राविधिक र साधारणतर्फका विद्यार्थी रोजगारीका क्षेत्रमा समेत प्रतिस्पर्धी एवम् अब्बल भएका जानकारी दिइएको थियो ।

प्रशिक्षण समापनका क्रममा टिकुलीगढ सिकाई केन्द्रका अध्यक्ष श्यामलाल खरेलले २०८५ देखि स्थानीय तहका सबैखाले प्रतिनिधित्वका लागि न्यूनतम आधारभूत शिक्षा (८ कक्षा) अध्ययन गरेको हुनैपर्ने प्रावधान लागू हुने भन्दै स्थानीय बासी सबैको प्रतिनिधित्वको योग्यताका लागि सिकाई केन्द्रले आधारभूत तह सरहको शिक्षा सञ्चालन गर्ने समेत जानकारी दिए ।  

अस्ति (बुधबार) टिकुलीगढ मा.वि.मा, हिजो (बिहीबार) दुर्गा मा.वि.मा र आज (शुक्रबार) जनता मा.वि. मा गरी तिलोत्तमा १३ र १४ का करीब ३५० जना अभिभावकलाई प्रत्यक्ष प्रशिक्षण दिइएको आयोजकले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।