भुवन अर्याल/ म कुनै व्यावसायिक पत्रकार वा कुनै मिसन पूरा गर्न लेख्ने स्तम्भकार होइन न त कुनै मिडियाको तलवी रिपोर्टर नै हुँ । समाजमा भए गरेका नागरिक हित विरुद्ध हुने अन्याय अत्याचार तथा उद्यमी तथा कर्मशीलहरुका आशा लाग्दा श्रृजनाहरु देख्दा मनमा फूरेका शब्दहरु कोर्न मन लाग्छ । आज झ्णडै दुई घण्टाको यात्रामा घुमाउरो पाराले नेपाली उद्यमीहरु माथि पुलिसले गरेको ज्यादती बारे केही शब्दहरु कोर्दै छु ।
गुल्मी रिडीबाट कालिगण्डकी कोरिडोरको बाटो रानीमहल हुँदै पाल्पा तानसेन नगरपालिका चिलाङ्दी भन्ने ठाउँमा हामी चढेको जिप सिद्धार्थ राजकार्गमा मिसियो । दिल्ली , हरियाणा , बिहार र उत्तर प्रदेशका भारतीयि नम्बर प्लेट भएका गाडीहरु अधिकांश पाल्पा बर्तुङबाट पोखरातिर जाँदै थिए । फाट्ट–फुट्ट उताबाट फर्कदै पनि थिए । बाटोमा पर्ने प्रतेक सानातिना खाजा पसल , रेष्टुँराहरुमा ती गाडिहरु रोकिएका थिए । गर्मी छल्न सपरिवार नेपाल आएका भारतीय पर्टकका केटाकेटीले आफ्ना अविभावकलाई सेलरोटी , बुटक रोटी अंगुठाले बताएर भन्दै थिए । ‘पापा मुझे ओ चिज दिलादो’ । मलाई मनमनै खुसि लाग्यो । भारतीय पर्टकहरु बाक्लै आए केही न केही रकम देशमा भित्रिरहेको छ भनेर आफ्नै खल्तिमा पैसा आए जसरि म
रोमान्चित भएँ । तर मेरो खुसी तुरुन्तै भरङ्ग भयो । मलाई अत्यन्त्तै पीडा तब महसुश भयो जब ट्राफिक पुलिसले भारतीय नम्बरका कारहरुलाई हप्किदप्कि गर्दै रोकेर कागपत्र माग्ने काम प्रत्येक दुई किलोमिटरमा भैरेहको थियो । बर्तुङदेखि दोभानसम्म आउँदा दशौं ठाउँमा ट्राफिक पुलिस थिए । यस्तो लाग्थ्यो जिल्लाभरिका ट्राफिक पुलिसहरु आज यो रुटमा खटिएका छन् । जसले सम्मपूर्ण सवारी चालकहरुलाई सुरक्षित सवारी चलाउँने सीप विकासको कक्षा सञ्चालन गरेका होउन् ।
ट्राफिक पुलिसको गलत व्यवहार
पाल्पा ब्रिन्दावन भन्दा वर बाटोमा एउटा च्याँउ र तरकारी बेच्ने छाप्रो भए निर अलि ठूलै जथ्था ट्राफिक पुलिस थियो । चौध वटा सिट पास भएको जीपमा हामी नौ जना थियौं । जीपको छतमा पहाडबाट यात्रुहरुले लिएर आएका ब्यागहरु , फलफूल तरकारीका बोराहरु थिए । चालक युवा मुन्द्रो लगाएका चुल्ठो बानेका थिए ।
ट्राफिकले सिठ्ठि फुकेको उनले सुनेनन् । एक जना तम्सिदै हातले इसारा गर्यो सुनिनस् ? मैले भने ‘यो कस्तो व्यवहार हो?’
पुलिसले भन्यो ूतपाईं को किन जान्ने हुने ? मैले भने ’भाइले तपाईं भनेर सम्बोधन गरेका छन् तपाँईले किन तँ भन्नु भो?’ यत्तिकैमा चालक भाइले भने भो सर छोड्नुस हामी सधै हिंडिरहनु पर्छ । हामीले तीन तीन महिनामा ठाउँ ठाउँमा पैसा बुझाउँछौं र दशैमा एक एक वटा बोका यति नगरे एउटा एउटा बखेडा झिकेर दुख दिन्छन् । ्
उनले आफ्नो नाम र गाडिको नम्बर उल्लेख नगर्नु है भनेर भनेकोले मैले त्यो उल्लेख गरिन् । ट्राफिक पुलिसले बिलबुकमा म्याद कति छ भनेर हर्ने हो र ? बरु यातायात कार्यालयले सिस्टम बिकास गरेर सवारी धनिको मुवाईलमा कर तिर्न र सवारी साधन रिन्यु गर्न म्यासेज पठाए हुन्न ?, छिमेकी देशका पर्यटकको हार्दिक स्वागतले नै हाम्रो पर्यटन विकासले फड्को मार्न सक्छ । गोरो छाला हुनेहरुलाई मात्र पर्यटक मान्ने मानसिकता बदलौं ।
हामी गरिब हुनुको मूल कारण नकारात्मकता
हामी विश्वमै दुई ठूला जनसंख्या र सम्पन्नता तर्फ लम्किरहेका देशहरुको बिचमा छौं । तुच्छ राजनीतिक स्वार्थको निमित्त तथाकथित राष्ट्रवादको नाममा छिमेकीलाई गालि गरेर भुक्ने र शत्ताको निमित्त उनीहरुसंगै लम्पसार परेर झुक्नेहरुका कारण दुवै छिमेकीले हामीलाई (नेपाललाई) भाउ दिदैनन् । हामी घृणित पहाडे राष्ट्रवादको मानसिकता बोकेर बाँचि रहेका छौं । हामीलाई हेक्का छैन ईतिहासमा तराई मधेषको झा , यादब , अहिर , कुर्मी थारु , पहाडको गुरङ मगर , लिम्बु न त हिमालका शेर्पा , लामा अनि भोटेहरुले विभिन्न समयमा भएका गण्डक , कोशी , महाकाली वा एमसिसि सम्झौता गरेका हौँ ।
हामी कालो छाला हुनासाथ भारतीय देख्छौं अनि प्रतेक भारतीयलाई नेहरु र राकेस सुदको रुपमा हेर्छौं । हामीले त करोडौं भारतीय पर्यटकलाई नाका नाकामा फूल मालाले स्वागत गर्नु पर्ने होइन ? एउटा नेपाली उखान छ ‘ठेकले जितिदैन , खेपले जितिन्छ।’ युरोप अमेरिकाबाट आउँने केही सय पर्यटकले भन्दा भारतबाट आउँने लाखौं पर्टकले हामीलाई फाइदा हुन्छ । दुई देशका बिच भएका विवादहरु शत्ताधारीहरुका असमझदारी हुन् । सत्ता टिकाउँन र हाँसिल गर्ने उच्च नेत्रृत्वका प्रोपोगण्डाहरु हुन् । हामीले जनस्तरबाट भारतीय नागरिकहरुलाई मान सम्मान र हार्दिकताले मन जितौं । यसो गर्दा आर्थिक उन्नती पनि हुन्छ र छिमेकी सम्बन्ध पनि सुध्रिन्छ । भारतीय पर्यटकहरु फरक फरक स्तरका भएका हुनाले सबै प्रकारका उद्यमीहरुलाई सेवा गर्ने अवसर प्राप्त हुन्छ ।
बरु भारतीय नं प्लेटको गाडी देख्ना साथ हात उठाएर मुस्कुराए मात्र पनि हुन्छ । ठाउँ ठाउँमा हिन्दी भाषामा स्वागत तुलहरु राख्न पनि सकिन्छ । सत्ताधारीहरुको स्वार्थको लडाई भन्दा हामी उद्यमी माथि उठे हुंदैन ? म भन्छु हामी सबैभन्दा बढि भारतीय पाहुनाहरुलाई स्वागत गर्न उत्सनही बनौं । कति व्यक्तिहरुलाई स्तरीय शब्द प्रयोग गर्न आउँदैन । जापानी अंग्रेजी भाषाका क्लासहरु लिइरहँदा नेपालीहरुले शुद्ध र आदरार्थी हिन्दी भाषा सिकेर प्रयोग गरे सुनमा सुगन्तञध थपिन्छ । हाम्रो व्यवहारले छिमेकको ठूलो बजार प्रयोग गर्न सक्छौं । आज भारतमा १ अर्ब ४२ करोड जनसंख्या छ । यसो बिचार गरौं त्यसको १५ मात्रलाई नेपालमा स्वागत गर्न पायौं भने ।
भ्युटावर हेर्न आउँदैनन् पर्यटक
गणतन्त्रले सामन्ती भनिएको शासन अन्त भएको भनिएपनि नेपालका राजनीतिक पार्टी र तिनका दासहरुमा सामन्तिशैलीको कु संस्कार भरिएको छ । आफ्नो चुनाव क्षेत्रमा भ्युटावर , ट्रि हाउस , स्वगतद्वार जस्ता सिमेण्ट र फलामका संरचना मूर्ति तथा मन्दिर मस्जित गुम्बा र चर्च बनाएर फलानाको पालामा निर्माण गरेको भन्ने नव सामन्तवादी चिन्तन वडासम्मै विस्तार भएको छ । यसलाई तत्काल रोकिनु पर्छ । नारायणहिटी दरबार अगाडीको मस्जित , पुराना मन्दिर चैत्य गुम्बा र चर्चहरुको संरक्षण गरिनु पर्छ । हरेक धर्मको मूल लक्ष्य मानव कल्याण हो भने पवित्र कनाले सबै मिलेर मानव कल्याणमा लाग्ने प्रेरणा सबै धर्म , जाति , संस्कृति र भूगोलको लक्ष बन्नु पर्छ ।
विदेशी पर्टकहरु हाम्रो बहुसाँस्कृतिक , बहुभासिक , भौगोलिक विविधता , वातावरणीय विविधतालाई हेर्न आउँने हुन् भन्ने कुरा केन्द्र देखि वडा सम्मका नीति निर्मनताले बुझ्नु पर्छ । अब नीतिगत रुपमै कुनै पनि प्रकारका भ्युटावरहरु बनाउँन तत्काल रोक लगाइनु पर्दछ ।
अन्तमा हाम्रो गणतन्त्र १६ वर्ष पुगिरहँदा प्रधानमन्त्रीले दिनमा दर्जन बढि पटक समाजिक न्यायको कुरा गरिरहन्छन् । नागरिकमा फरक र विकल्पको राजनीतिको आस देखाएर भोक्रो फुलिने गरि चिच्याउँने गृहमन्त्रीले सुशासनको भाषणले मात्र समृद्धि नहुने रहेछ । नागरिकको थाप्लोमा ऋण र नेताहरुको खातामा धन थपिने बाहेक गणतन्त्रले कुनै खास उपलब्धि हासिल भएको छैन । संसद बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएझैं नागरिकका दृष्टिमा चुना घोलेको सेतो पानीलाई गाईभैँसीको शुद्ध दूध भन्नु र नेपालको गणतन्त्र उस्तै भयो भन्नु एउटै कुरा भएको छैन र ?
प्रतिक्रिया