ताजा अपडेट »

पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने

शुक्रबार, ११ जेठ २०८१, १२ : ००
50 Shares
शुक्रबार, ११ जेठ २०८१
50 Shares

काठमाडौं । वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ । बिहीबार पाक्वेटालाई इङल्याण्ड फुटबल संघले आधिकारिक रूपमा सट्टेबाजी नियमहरूको कथित उल्लंघनको आरोप लगाएको मिडिया रिपोर्टमा बताइएको छ ।

पाक्वेटाले २०२२ र २०२३ मा लेस्टर, एस्टन भिल्ला, लीड्स र बोर्नेमाउथविरुद्ध वेस्ट ह्यामको खेलमा जानाजानी पहेँलो कार्ड पाएको आरोप छ । पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन् । डेली मेलका अनुसार पाक्वेटा यस आरोपमा दोषी प्रमाणित भएमा १० वर्ष सम्मको प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ । यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ ।

यसअघि रिडिङका पूर्व डिफेन्डर किनान आइज्याकलाई यस्तै प्रकरणमा एक दशकसम्म फुटबलबाट प्रतिबन्ध लगाइएको थियो । फुटबल संघले पाक्वेटालाई यस विषयमा गत वर्षको सेप्टेम्बरमा सोधपुछ गरेको थियो । ब्राजिलियनले आफूमाथि लगाइएको आरोपलाई औपचारिक रूपमा सम्बोधन गर्न जुन ३ सम्मको समय दिएको छ । त्यसपछि एक अनुशासनात्मक समितिले यस प्रकरणको सुनुवाई गर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।