ताजा अपडेट »

नेजाको १७औं साधारण सभाको तयारी पूरा

बुधबार, ०९ जेठ २०८१, ११ : ००
98 Shares
बुधबार, ०९ जेठ २०८१
98 Shares

बोस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १७औं साधारण सभाको तयारी पूरा भएको छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्थाको साधारण सभामा अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरू सहभागी हुने साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले बताए ।

बस्नेतले साधारण सभामा स्थानीय समुदायको उल्लेख्य सहयोग रहेको पनि बताए । सो साधारण सभा यही मे २५ र २६, २०२४ मा अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन रहेको 594 Washington Street, Braintree, MA- 0218 स्थित नेपाली समुदायको संस्था ‘पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (PABFONE) को सामुदायिक भवनमा हुँदै छ ।

साधारण सभाको उद्घाटन सत्रमा नेजाका सदस्यका साथै गैरआवासीय नेपाली अभियन्ता, अमेरिकाका विभिन्न सहरबाट निर्वाचित सिटी काउन्सिलका सदस्य र प्रबुद्ध व्यक्तिहरूको पनि सहभागिता रहनेछ । साधारण सभामा सहभागी हुनेहरूका लागि नेजाले आवासको प्रबन्ध गरेको कोषाध्यक्ष जानु पङ्गेनीले जानकारी दिए । साधारण सभाको अवसरमा नेजाको वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका यस पटक पनि प्रकाशन हुने महासचिव बाबुराम दाहालले जानकारी दिए । साथै, साधारण सभामार्फत आउँदो वर्षका लागि नेजाका कार्यक्रम तय गर्नुका साथै संकलित सुझावका आधारमा विधानमा समेत केही संशोधन एवम् परिमार्जन गरिने महासचिव दाहालले बताए।

१७ वर्षअघि स्थापित नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै नेपाल र अमेरिकामा रहेका पत्रकारहरूबीच अन्तरक्रिया, अनुभव आदान(प्रदान, समस्यामा परेका पत्रकारहरूलाई आर्थिक सहयोग र गैरआवासीय नेपालीहरूका समस्यामाथि बहसलगायतका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुरज भण्डारीले बताए।  उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरू नेजामार्फत सन् २००७ देखि संगठित हुन थालेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।