ताजा अपडेट »

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सोमबार, ०७ जेठ २०८१, १५ : २८
228 Shares
सोमबार, ०७ जेठ २०८१
228 Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् । उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्- राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।

गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कार्वाई होस् । राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।