ताजा अपडेट »

जीवन निर्वाहको साथी टिमुर खेती

आइतबार, ०६ जेठ २०८१, १५ : २८
246 Shares
आइतबार, ०६ जेठ २०८१
246 Shares

गाउँघरतिर टिमुरलाई टिम्बूर पनि भन्ने गरेको पाइन्छ । यसको अंग्रेजी नाउँ टुथेक ट्री हो । फायर बेरी बुश पनि भनिन्छ यसलाई । यो बहुगुणी जडीबुटी हो । यो समुद्रीसतहको  नौं सय मीटरदेखि दुई हजार पाँच सय मीटरसम्मको उचाइमा पाइन्छ । टिमुरको झाँडी वा बोट छ मीटरसम्म अग्लो हुने गर्छ । यो वासनादार जडीबुटी हो ।

यसको फल तथा बोक्राले जीवाणुहरुलाई नष्ट गर्छ । हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, कब्जियत, अपच लगायतका समस्या हुँदा टिमुरको प्रयोग गर्ने चलन छ । साथै यसलाई शक्तिबद्र्धकको रुपमा समेत लिने गरिन्छ । ज्वरो घटाउन, कफ निकाल्न, पसिना निकाल्न मात्र होइन कलेजोको कवचको रुपमा, रगतलाई शुद्धीकरण गर्न, दाँत दुखेमा, रुघाखोकी लागेमा र टाउको दुखेमा टिमुरलाई प्रयोग गरिन्छ ।

अचारमा टिमुर मिसाउनाले स्वादै बेग्लै हुने गर्छ । खानामा रुची बढाउँछ ।  मसलाको रुपमा मात्र होइन च्याउमा सर्पको विष हुन सक्ने शंकाले यसको प्रयोग गरेको पाइन्छ । टिमुर हुने ठाउँमा सर्प नपाइने विश्वास छ । नून र टिमुर शरीरमा दलेमा जुकाले आक्रमण गर्दैन । टिमुरको तेल, सावुन बनाउन सकिन्छ । यसको फल, हाँगा तथा काँडा माछा मार्न विषको रुपमा समेत प्रयोग गर्न सकिन्छ । मञ्जन बनाउनका लागि यसको खास प्रयोग भएको पाइन्छ । गाउँघरतिर टिमुरलाई कपडामा पोका पारेर कीटाणु मार्न प्रयोग गरिन्छ ।

यति धेरै फलदायी एवम् गुणी टिमुरको उत्पादन र विक्रीमा त्यति धेरै ध्यान नदिएको पाइन्छ । यसकोे व्यावसायिक खेती गर्न सकिएमा गाउँलेहरुको जीवनमा आम्दानीले फड्को मार्ने देखिन्छ तर त्यसो गर्न र हुन सकेको छैन । कारण अनेक होलान् । वन, वातावरणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरु र कृषि कार्यालयले समेत यसलाई बढी ध्यान दिनुपर्छ । टिमुर खेतीका बारेमा ब्यापक प्रचार प्रसार र खेती प्रणालीका बारेमा पहाडी क्षेत्रका बासिन्दाहरुलाई जानकारी दिनु पहिलो सर्त हुन आउँछ । यसको खेती गर्ने तरिका, संकलन र भण्डारण र प्रयोगका बारेमा जानकारी गराउन सकिएमा पक्कै पनि यो खेती व्यावसायिकतातर्फ उन्मुख हुने थियो । आजसम्म हामीले यस खेतीका बारेमा गाउँले किसानहरुलाई बुझाउन नसक्दा आम्दानी बढाउन सकेका छैनौं । उनीहरुको जीवनमा नयाँ आयाम ल्याइ दिन सकेका छैनौं ।

बीउ र कलमीबाट यसको खेती गर्न सकिन्छ । चैत्र,बैसाखमा फूल खेल्छ भने असारदेखि असोजसम्म फल लागि सकेको हुन्छ । असोज कार्तिकमा यसको फल पाक्ने गर्छ । पाकेर खस्नु अगि नै यसको फललाई स्याहार्नु पर्छ । पाकेको फललाई घाममा सुकाउनु पर्छ । केलाएर र सफा गरेर यसको उचित भण्डारण गर्न सकिन्छ । पीरपाखा, कान्ला, पथ्थरिलो माटो,अन्नबाली नहुने ठाउँमा टिमुर खेती प्रभावकारी हुने गरेको पाइन्छ । टिमुर खेतीका बारेमा अभियान चलाउन सकेमा किसानका कान्ला, भीर, पाखो जग्गामा यसले प्रश्रय पाउने थियो र उनीहरुका खल्तीमा हरिया नोटले बास बस्ने थिए । उनीहरुकै जीवन निर्वाहका साथी बन्ने थिए ।

पाल्पा जिल्लाकाे साविक दाेभान, हालकाे तिनाउ वडा नं.६ पाटन गाउँमा स्थानीय गाउँलेहरुले टिम्बूर खेती गरेर जीविकोपार्जन गरि रहेका छन् । उनीहरुले टिम्बूर खेती गरेर बजारमा बेच्दै आएका छन् । स्थानीय केरेनी लालीगुराँस सावउसका पूर्वअध्यक्ष पूर्णबहादुर सोमैका अनुसार गाउँलेहरुले नूनतेल खाने बाटो नै टिम्बूर बनेको छ । तिनाउ वडा नं. ६ पाटनका धनबहादुर लम्तरीले भने –पाटन गाउँमा वाह्ै महिना जाडो हुन्छ । यहाँ लालीगुराँसदेखि टिम्बूर समेत फल्छ । हामीहरुको बाँच्ने आधार समेत टिम्बूरले दिएको छ । गाउँमा जौं, गहुँ, तोरी, केराउ, अदुवा खेतीका अलवा चुत्रोको समेत खेती हुने गर्छ । यस गाउँमा सामुदायिक वन समन्वय समिति, पाल्पाले मौरी पालन र अदुवा खेतीका लागि समेत सहयोग पुराएको थियो ।

गाउँलेहरु यस्तै आयआर्जनमुखी कार्यक्रमहरुको आशा गरेको स्थानीय युवा सूर्य बहादुर सोमैले बताए । गाउँमै बाँस र बाँसबाट बनेका घरेलु सामग्रीहरु बनाउने तालिम प्राप्त गरिएता पनि यसको बजारीकरण गर्न नसकिएकोमा उनले सोको ब्यवस्थापनका लागि समेत अनुरोध गरे ।

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार