ताजा अपडेट »

देवदह संचार डाइरेक्टरी विमोचन

आइतबार, ०६ जेठ २०८१, ०७ : ४७
50 Shares
आइतबार, ०६ जेठ २०८१
50 Shares

देवदह । देवदह प्रेस क्लबद्वारा प्रकाशित देवदह संचार डाइरेक्टरी विमोचन गरिएको छ । शनिबार एक कार्यक्रम बीच रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले डाइरेक्टरीको विमोचन गरे ।

बुद्ध पुर्णिमाको अवसरमा आयोजित चियापान तथा संचार डाइरेक्टरी विमोचन कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले सबै क्षेत्रमा अराजकता बढ्दै गएकोले संचार माध्यमले स्वस्थ आलोचनासहित सकारात्मक दृष्टिकोण निर्माणमा भूमिका खेल्नुपर्ने बताए । समाजलाई सहि दिशा देखाउने कार्यमा संचारमाध्यमले सधै सकारात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका सांसद विश्वकर्माले परिवर्तन, मानव अधिकार र स्वतन्त्रताको लागि नेपाली मिडियाले सधै पैरवी गर्दै आएको बताए ।

देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले राज्यले गरेका गल्ती औल्याइदिने र जानी÷नजानी भएका कमजोरी सच्याउन मिडियाले दिने दवाव महत्वपूर्ण हुने बताइन् । आफूहरू पनि सबै जानेर जनप्रतिनिधि नभएको उल्लेख गर्दै उनले सबैको सुझाब र सहयोगमा देवदह नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताइन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहेका देवदह प्रेस क्लबका सल्लाहकार सिद्धिचरण भट्टराईले धेरै संचारमाध्यम बनाउनुभन्दा भएका संचार माध्यमलाई व्यवस्थित तरिकाले संचालन गर्न आवश्यक रहेको बताए । हस्तलिखित भित्तेपत्रिका मार्फत देवदहमा पत्रकारिताको जग बसालेका अग्रज पत्रकार भट्टराईले मिडियाले आफ्नो कन्टेन्टलाई कसरी क्वालिटीयुक्त बनाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले स्थानीयस्तरबाट संचालित संचार माध्यमको विकासमा नगरपालिकाले ध्यानदिने विचार व्यक्त गरे ।

देवदह संचार डाइरेक्टरी प्रकाशन र यसको आवश्यकताबारे प्रष्ट पार्दै प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले पत्रकार आचारसंहिता सहितको संचार डाइरेक्टरीले आम नागरिकलाई संचार माध्यम, सरकारी कार्यालय र सामाजिक संघसंस्थासंग जोडिन सहयोग पुर्याउने बताए । उनले स्थानीय संचारमाध्यमको विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम अन्तरगत नै डाइरेक्टरी प्रकाशन गरिएको धारणा राखे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।