ताजा अपडेट »

सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन प्रधानमन्त्री तयार

शनिबार, ०५ जेठ २०८१, ११ : ५९
244 Shares
शनिबार, ०५ जेठ २०८१
244 Shares

बुटवल । ​​​सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् । शनिबार बिहान प्रमख पतिपक्षी दल नेपाली काँग्रेससँग बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री तयार भएका हुन् ।

छलफलपछि बाहिरिने क्रममा बोल्दै नेपाली कांग्रेस नेता रमेश लेखकले भने–‘छानबिन समिति बनाउन प्रधानमन्त्री तयार हुनुभएको छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । अब साँझसम्म केही होला ।’ बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र लेखक सहभागी थिए ।

कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका थिए। यसअघि हिजो तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ । सोही अनुसार कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।