ताजा अपडेट »
पुस्तक समीक्षा

नदीमा ढल मिसाउनेहरुलाई सम्झेर...

शनिबार, ०५ जेठ २०८१, ०८ : ००
320 Shares
शनिबार, ०५ जेठ २०८१
320 Shares

तिम्रो निर्देशनमा चलेको
कुनैपनि नाटकको पात्र भएर
मलाई खेल्ने रहर छैन ।
    
मान्छे जव स्वाभिमानी भएर जिउने प्रयास गर्छ नि त्यसपछि अरुको कुनै भरोसा गर्दैन । लाचारी र व्यभिचारीहरु नै हुन् अरुका खलपात्र बनेर रङ्गमञ्चमा उत्रिने । अरुको गलत निर्देशनमा चल्नेहरुले नै स्वच्छ पृथ्वीलाई नालायक बनाएका हुन् । गलत पदचापमा हिँडेर पृथ्वीलाई धुजाधुजा बनाउन रुचाउनेहरु नै पर्यावरणका खास दुस्मन हुन् । पृथ्वीलाई विनाश गर्नका लागि अरुको नियोजित निर्देशन मानेर कुनैपनि नाटक  मञ्चन गर्नु आफैलाई आफैले सत्रु घोषित गर्नु हो ।

पर्यावरण संरक्षण, कुनै एकजनाको रहरले पूरा हुन सक्दैन तर एक एकजनाको प्रयासले भने यो सम्भव छ । पृथ्वी, पर्यावरणको चिन्ता गर्ने साहित्यकारहरु औंलामा गन्न सकिने छन् । देश, दुनियाँ आफ्नै गतिमा दौडिरहेको छ । सबैलाई पेटको चिन्ता छ तर चिन्तन छैन पर्यावरणको !
‘विश्वासको जहर’ शीर्षकको कवितामा कवि लेख्छन्–
त्यसै भएर
तिमीले खान खोजेको चुम्बाले पनि
सर्पदंशको पीडा दिँदैछ मलाई ।

स्नेहिल प्रेममा चुम्बा वा चुप्पा फलाम र चुम्बकसरि हुन् । यसमा घनिभूत सम्बन्ध जोडिएको समेत हुन्छ । तर पर्यावरणीय प्रेममा चुम्बा वा सम्बन्ध सर्पदंशजस्तै भनेर विषालु वा घातक बन्ने सम्भावना भारी हुँदोरहेछ । प्रकृतिलाई वा पर्यावरणलाई मुसारेर दुस्मनी हातहरुले विषको प्रयोग गर्दै स्वाहा बनाउन नसक्ने होइन । कथित पर्यावरणप्रेमीले प्रेमको विषालु चुम्बन प्रयोग गरेर हराभरा प्रकृतिमा खडेरी ल्याउने दुष्प्रयास गर्न सक्छ । दूवोभित्र हर्यौसर्प लुकेको हुन सक्छ ।

कि बाढीको मौका छोपेर
नदीमा ढल मिसाउनेहरुलाई सम्झेर
आँसु काढ्दै वातावरण दिवस मनाउँ म ?

कविले ब्यंग्यात्मक रुपमा कविता पस्केका छन् । बाढी आएको समय, पवित्र नदीमा  ढल मिसाएर अमृतलाई विष बनाउन पल्केकाहरु नै वातावरण दिवसमा ठालू पल्टेर भाषण गर्न आइपुग्छन् । उपदेश दिन आइसक्छन् । जसले पर्यावरणलाई ध्वस्त बनाउन उद्दत छ उही नै आज संरक्षणको तिहुन चखुवा भएको छ । पवित्र जलमा दिसापिसाव मिसाएर मुस्कुराउनेहरु नै वातावरण जोगाउन पर्छ भनेर अर्ति दिने महान वातावरणकर्मी हुन पुग्छन् घरिघरि । यो कविताले संरक्षणमा लाग्नेहरुलाई कम्ति पीडा दिदैन । मन भावुक बनाउँछ । मन रेटिन्छ ।

थाहा छैन मलाई
प्रेमी थिएँ कि पागल म
मात्र यति भन्न सक्छु
समयको गतिलाई अवरुद्ध गर्न चाहनेहरुले
सधैं नै प्रहार गरिरहेको  

समयको साक्षी थिएँ ।

 जीवनमा सबैभन्दा ठूलो कुरो समय रहेछ । समयको वेगलाई समाउन नसक्नेहरु नै पछिपछि पर्दा रहेछन् । समयको गतिमा कुद्नेहरुले नै गन्तव्य भेट्दा रहेछन् । पर्यावरण समयको एउटा गति हो । यसलाई अवरुद्ध गर्न खोज्नेहरुले प्रहार खेप्नुपर्ने बाध्यकारी अवस्था नआउला भन्न सकिन्न । त्यसैले जीवनमा समयको साक्षी बन्नुजति ठूलो दसी–प्रमाण अरु हुनै सक्दैन । समयले उडाउँदै लगेको समय नै आजको खोजी हो । कविले आफूलाई प्रकृति वा पर्यावरणको साक्षी सावित गर्दैछन् तर समयको गतिलाई नै अवरुद्ध गर्न खोज्ने पापीहरुका अघि प्रहार सहेर पनि साक्षी बनिरहेका छन् ।

‘पर्याप्रेमको गुञ्जन’ कवितासंग्रहमा समाहित कविताका केही अंशहरु माथि उल्लेख गरिएका छन् । कवितासंग्रहमा पर्यावरणलाई मूलधार बनाएर कविता उनेका छन् । उनका कविताहरुले वातावरणमा कर्म गर्नेहरुलाई नयाँनयाँ सन्देश दिएका छन् । दिशानिर्देश गरेका छन् । वातावरणका समस्याहरु र चुनौतीहरु पहिल्याइ दिएका छन् । कवि नै माटो बनेका छन् । पानी बनेका छन् । बोटबिरुवा बनेर हरियाली छाएका छन् । प्रकृतिसँग कविता साटेका छन् । बाटेका छन् । अक्षरका थुप्रोमात्र लगाएका छैनन् बरु चोटिला शब्दहरुको प्रयोग गरेर कवितासंग्रहलाई सुन्दर लालीगुराँस बनाएका छन् ।

उनको कवितासंग्रहलाई प्रा.डा.गोविन्दराज भट्टराई र पर्याकवि विजय हितानले कोरीबाटी गरिदिएका छन् । चिटिक्क रिवन बाटिदिएका छन् । गतिलो काइँयोले कोरिदिएका छन् । कवि कृष्ण बाउसेले आफ्नो अक्षरकर्ममा राम्रै छेउकुना गरेका छन् ।

पाका पुराना कवि कृष्ण बाउसेका कविता,गीत,मुक्तक लगायतका विधाहरुमा मन,मस्तिष्क र कलम दौडिरहेका छन् । पर्याकवितामार्फत नेपालकामात्र होइन उनी संसारकै कवि भएका छन् । वन,वातावरण र जैविक विविधता संरक्षणको चुनौती र अवसर कहाँ छैन र ? त्यीनै विषयमा खरी घोटेका बाउसेले नेपाली पर्यासाहित्यको क्षेत्रमा आफूलाई शंखेकीराको चालमा होइन खरायोको चालमा दौडाइ रहेका छन् ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार