ताजा अपडेट »

इस्माका अग्नी पीडितलाई चेक रिपब्लिकमा बस्दै आएका नेपालीहरुको सहयोग

शुक्रबार, ०४ जेठ २०८१, १० : ५६
120 Shares
शुक्रबार, ०४ जेठ २०८१
120 Shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अग्नी पीडितहरुलाई चेक रिपब्लिकमा रहेका नेपालीहरुको संस्थाले बिहिबार जस्तापाता सहयोग हस्तान्तरण गरेको छ । चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघ एनआरएनएले इस्मा गाउँपालिका-२ सिदुङ्खाका अग्नी पीडितहरुलाई दश बण्डल (९० थान) जस्तापाता वडा नम्बर ४ कोटकोटेरीका अग्नीपीडितलाई १४ बण्डल (१२६ थान) जस्तापाता सहयोग हस्तान्तरण गरेको हो ।

चेक रिपब्लिक स्थित गैर आवासीय नेपाली संघका अध्यक्ष गुल्मी मुसिकोट नगरपालिका ७ का बासिन्दा बैकुण्ठ रायमाझी र इस्मा गाउँपालिका ४ ढोकामुख घर भएका संघका उपाध्यक्ष दुर्गा अर्यालको अगुवाईमा त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरी उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो । संघका नेपाल स्थित प्रतिनिधि मुसिकोट नगरपालिका ७ का पूर्व वडाअध्यक्ष प्रकाश काफ्ले, नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा इस्मा गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण विष्ट र एमालेकै जिल्ला कमिटी सदस्य राजेन्द्रविक्रम कुँवरको सयोजनमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोगी संस्था र त्यहाँ स्थित नेपालीहरुलाई वडा नँबर २ का वडाअध्यक्ष लोकनाथ आचार्य, ४ का वडाअध्यक्ष मान बहादुर बस्नेतले धन्यवाद दिएका थिए । उनीहरुले भने ‘हालसम्म खाद्यान्न लत्ताकपडा राहत प्राप्त भएको थियो । सबै भन्दा ठूलो अभाव अग्नी पीडितहरुका पशुचौपायहरु खुला आकाशमुनी बस्न परिरहेको बेला चेक रिपल्बिकमा रहेको उक्त संस्था र नेपालीहरुले पशु चौपायको पशुबाक्य बुझेझैं गरी गोठ निर्माणका लागि जस्तापाता उपलब्ध गराएकोप्रति हामी आभार प्रकट गर्दछौं ।’

चेक रिपब्लिक स्थित एनआरएनएका अध्यक्ष रायमाझी र उपाध्यक्ष अर्यालले पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् र विपद् पर्दा एक नेपालीले अर्को नेपालीप्रति देखाउँदै आएको सहानुभूतिलाई निरन्तरता दिने प्रयास गरेको बताएका छन । यतिबेला इस्मा गाउँपालिकाले प्रत्येक अग्नी पीडितहरुको घर बनाउन सुरु गरेको छ । बर्खा भित्रिए पनि मौसमले साथ दिएसम्म छिटै घर निर्माण गरिसक्ने आफूहरुको लक्ष्य रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।