ताजा अपडेट »
प्रहरी कार्यवाही

लागुऔषध कारोबारी प्रति प्रहरी आक्रामक: सुनसरीमा एक कारोबारी माथि प्रहरीले चलायो गोली

विहीबार, ०३ जेठ २०८१, २३ : १७
188 Shares
विहीबार, ०३ जेठ २०८१
188 Shares

इटहरी : सुनसरीमा गोली हानेर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) का दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरिएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँको कोटेस्वरबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। मण्डलको दायाँ खुट्टामा १ राउन्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । मण्डलसँगै रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। निरौला इटहरी उपमहानगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा खान मण्डलको उपचार भइरहेको छ । निरौला प्रहरी नियन्त्रणमै छन् ।

घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउने क्रममा रहेको जानकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाले जानकारी दिए । उनीहरूसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

आरोपीहरूको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। पछिल्लो समय लागुऔषध कारोबारी विरुद्ध प्रहरीले आक्रामक नीति बनाएको छ । पछिल्लो दुई सातामा प्रहरीले  तीन जनालाई गोली हानी नियन्त्रणमा लिइसकेको छ । लागुऔषध नियन्त्रण ब्युरोले कारोबारका मुख्य डिलरहरूविरुद्धको अप्रेसनलाई आक्रामक बनाएको हो । जसअन्तर्गत मङ्गलवार मोरङमा एक कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

ब्युरोबाट खटिएको टोलीले भारतको बिहार, किसनगन्ज घर भएका ४८ वर्षीय भगीरथ हरिजनमाथि मोरङको रतुमाई नगरपालिका– ६ कादुपाडामा गोली प्रहार गरेको हो ।यस्तै गत १७ वैशाखमा पनि ब्युरोको टोलीले झापामा गोली प्रहार गरेर सरिफुल आलमलाई पक्राउ गरेको थियो । झापा गाउँपालिका– ३ बाट उनलाई नियन्त्रणमा लिइएको थियो ।

घरभित्रबाट पक्राउ गर्न खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि प्रहरीले उनको खुट्टामा गोली हानेको थियो । त्यस्तै ब्युरोको टोलीले बाँकेमा एक कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । कोहलपुर नगरपालिका– १२ चप्परगौडी घर भएका २६ वर्षीय सुशील परियारलाई जानकी गाउँपालिका– ६ गनापुरमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।